परीक्षा नियन्त्रक भन्छन् : प्राविधिक त्रुटि भएको हो

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले परीक्षा सञ्चालनमा अर्को चरम लापरबाही गरेको पाइएको छ। सोमबार स्नातक तह चार वर्षे ‘'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्ट’ विषयको परीक्षामा भारतीय पाठ्यक्रमको प्रश्न सोधेपछि यतिखेर यसको चर्को आलोचना भइरहेको छ। 

बीए तेस्रो वर्षअन्तर्गत हिजो ‘'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्ट’ विषयको परीक्षामा त्रिविले अर्कै विषयको प्रश्नपत्र बाँडेपछि विद्यार्थीहरू अलमलमा परेका थिए। त्यसपछि विद्यार्थीहरूले आवाज उठाए। करिब एक घण्टा लगाएर सम्बन्धित विषयको प्रश्नपत्र दिइएको थियो।

त्रिविले परीक्षा सञ्चालनमा चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका छन्। एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले भनेका छन्, ‘त्रिविद्वारा संचालित बि.ए तेश्रो वर्षको परीक्षामा त्रि.वि.ले 'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्ट विषयको प्रश्नपत्रमा पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिविको परीक्षा प्रणालीको लापरबाही उदाङ्गो भएको छ।’

उनले परीक्षार्थीलाई परीक्षाको करिब १ घण्टा पछि अर्को प्रश्नपत्र वितरण भएको घटनाले त्रिविको परीक्षा प्रणाली र विश्वसनियतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको बताए। उनले त्रिवि सेवा आयोगको नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट नगर्दा यस्ता घटना दोहोरिदैँ आएको बताए।

‘त्रि.वि. नेतृत्व चयन खुला प्रतिस्पर्धाबाट बोर्ड अफ ट्रष्टको गठन मार्फत  गर्न अनेरास्ववियु जोडदार माग गर्दछ, अन्त्यमा यस घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रशासनसँग जोडदार माग गर्दछौ,’उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘प्रश्नपत्रका विचौलियाहरूलाई पुरस्कृत गर्ने कार्य गरियो’

उक्त लापरबाहीप्रति नेपाल विद्यार्थी संघ(नेविसंघ)ले पनि आपत्ति जनाएको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,‘त्रिविले ८ गतेका दिन लिएको बिए चार वर्षे तेस्रो वर्षको हिष्टोरी ४१०, इलेक्टिभ २, 'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्ट’ विषयको प्रश्नपत्र भारतको अमुक प्रश्नपत्रको प्रतिलिपि गरेर जस्ताको त्यस्तै सोधेको र एक घण्टामा प्रश्नपत्र पुनः निर्माण गरी परीक्षा सञ्चालन गरेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

उनका अनुसार महिना भन्दा बढी आन्दोलन गरेपश्चात् प्रश्नपत्र निर्माण सम्बन्धी नयाँ कार्यविधि बनेको छ तर पदाधिकारीहरूले लागू नगरिरहेको तथा दोषी र प्रश्नपत्रका विचौलियाहरूलाई पुरस्कृत गर्ने जस्ता घृणित कार्य गरेका कारण प्रश्नपत्र निर्माणमा लापरबाही बढिरहेको भन्ने कुरा प्रमाणित भएको उनले बताए।

उनले विश्वविद्यालयका उपकुलपति तथा अन्य पदाधिकारीहरूले आफू निरीह भएको अभिव्यक्ति मिडियामा दिँदै हिँड्नु तर परीक्षा सञ्चालन जस्तो संवेदनशील विषयमा पनि लापरबाही गरिरहनुले आम जनमानस माझ विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्रको विश्वसनियतामा माथि प्रश्न उठ्न थालेको बताए।

‘यस्ता गैरजिम्मेवार हर्कतहरूको घोर निन्दा गर्दै प्रश्नपत्र निर्माणमा भएको लापरबाहीको उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ,’उनले भनेका छन्।

पटक-पटक दोहरिरह्यो लापरबाही

त्रिविको परीक्षामा लापरबाही भएको घटना यो मात्र होइन्। यसअघि पनि पटक पटक गम्भीर लापरबाही भएका घटना छन्। २०७९ जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र अन्तर्गतको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै विवाद उत्पन्न भयो।

६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेपछि त्रिविले छानबिन समिति गठनसमेत गर्‍याे। तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

यस्तै,०७९ असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशनल विएवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो। यसविरूद्ध परीक्षार्थीहरू सडकमा उत्रिँदै चर्को विरोध गरे।

त्यसपछि त्रिविले प्रश्नपत्रको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्‍याे। तर त्यो प्रतिवेदन पनि हालसम्म सार्वजनिक भएको छैन। यतिमा मात्र त्रिविको गल्ती सीमित छैन। वर्ष दिन बितिसक्दा पनि नतिजा सार्वजनिक हुँदैन। नतिजा सार्वजनिक गर्ने बेला उल्टो उत्तरपुस्तिका हराई पुनः परीक्षा लिन्छ।

२०७९ पुस २४ गते माघ (०७८) महिनामा सञ्चालन भएको व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको रिसर्ज म्याथोलोजी विषयको २ सय ७ जना विद्यार्थीको पुनः परीक्षा लिएको थियो। 

परीक्षा नियन्त्रक भन्छन् : प्राविधिक त्रुटि भएको हो

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले पनि हिजो(सोमबार) भएको 'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्ट’ विषयको परीक्षामा अर्को प्रश्नपत्र परेको स्वीकारेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले थाहाखबरसँग भने,‘भुल बस प्राविधिक त्रुटी भएको हो,हामीले पाँच मिनेटमै सोही विषयको प्रश्नपत्रको व्यवस्था गरौँ,परीक्षा रोकिएन,अरू केही समस्या भएको छैन।’

उनका अनुसार गत असार २८ गते भारतीय इतिहास विषयको परीक्षा सकिएको थियो। त्यही प्रश्नपत्र भुल बस 'इन्ट्रोडक्सन टु टुरिजम' डेभलपमेन्टको विषय परीक्षामा परेको उनले जानकारी दिए। अब देखि यस्ता गल्ती नदोहरिने उनको भनाइ छ।
(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.