काठमाडौंमा पनि बढ्दै डेंगु‚ सुनसरीमा एक सातामै हजार जना विरामी

|

काठमाडौं : यो साता पनि देशमा डेंगुका विरामीको संख्या बढेको छ। आज (मंगलबार) डेंगुका विरामीको संख्या ४ हजार नाघेको छ भने यो सातासम्म ३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांङ्कअनुसार अघिल्लो सातासम्म २ हजार ९३० रहेको डेंगुका विरामीको संख्या मंगलबार( आज) सम्ममा ४ हजार २८९ जना पुगेको छ। 

यही समयमा डेंगुबाट ३ जनाको मृत्यु भएको र तीनै जना सुनसरीका भएको ईडीसीडीका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।

ईडीसीडीको विवरणअनुसार हालसम्म यो वर्ष कोशी प्रदेशमा डेंगुका बिरामी धेरै भेटिएका छन्। कोशी प्रदेशमा हालसम्म डेंगुका विरामीको संख्या २ हजार ७५४ जना पुगेको छ।

अघिल्लो सातासम्म कोशी प्रदेशमा १ हजार ७४६ जना डेंगुका विरामी थिए। एक सातामा कोशी प्रदेशमा मात्रै हजार जनाभन्दा बढी विरामी थपिएको महाशाखाको विवरणमा उल्लेख गरिएको छ। 

गण्डकी प्रदेशमा ३४४ जना विरामी रहेका छन्। अघिल्लो साता गण्डकी प्रदेशमा २६९ जना विरामी थिए। अघिल्लो सातासम्म ४६८ जना विरामी रहेको बाग्मती प्रदेशमा हाल विरामीको संख्या ६६७ पुगेको छ।

हाल सुदूरपश्चिम प्रदेशमा ३१६ जना डेंगुका विरामी रहेका छन् जबकि अघिल्लो साता विरामीको संख्या २७९ थियो। यो साता लुम्बिनी प्रदेशमा डेंगुका विरामीको संख्या १६६ जना छ। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २० जना विरामी र मधेश प्रदेशमा २२ जना विरामी रहेका छन्। 

जिल्लागत रुपमा हेर्दा असारयता कोशी प्रदेशको सुनसरीमा सबैभन्दा धेरै विरामीको संख्या २ हजार ५४२ जना रहेको छ। अघिल्लो साता सुनसरीमा १ हजार ५७१ जना विरामी थिए। 

ईडीसीडीको तथ्यांकअनुसार पछिल्लो समय सुनसरीमा डेंगुले प्रकोपको रुप लिएको छ। महाशाखाका निर्देशक डा मरासिनीका अनुसार यस वर्ष देखिएको डेंगुको प्रकोपमध्ये ८५ प्रतिशत विरामीको संख्या १० वटा जिल्लामा रहेको छ।

ईडीसीडीको विवरणअनुसार सुनसरीपछि हाल धादिङमा सबैभन्दा धेरै ४०१ जना डेंगुको शंकास्पद विरामीको रिपोर्ट भएको छ। अघिल्लो सातासम्म धादिङमा २५८ जना संक्रमित रहेका थिए। विरामीको संख्या दार्चुलामा १९० जना र कास्कीमा २०५ जना पुगेको छ।

काठमाडौंमा पनि यो साता डेंगुका विरामीको संख्या बढेको छ। अघिल्लो सातासम्म ४६ जना मात्र रहेको विरामीको संख्या काठमाडौंमा हाल ८० जना पुगेको छ। 

संक्रमितको संख्या बढिरहेको तर विरामीको संख्या १०० जना ननाघेका जिल्लाहरुमा रुपन्देही ४५, मोरङ ३८, संखुवासभामा ६४, भक्तपुरमा ३५, कन्चनपुरमा ५२, म्याग्दीमा ५४ जना रहेका छन्।

गत वर्ष महामारीकै रुप लिएर डेंगु फैलिएको ललितपुर जिल्लामा भने यो वर्ष जम्मा २९ केस रिपोर्ट भएको महाशाखाले जनाएको छ।

नयाँ विरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। 

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ‚ ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिन्छ। 

महाशाखाले पनि असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिएको छ। अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो।

त्यसबेला ५४ हजार ७८४ जना डेंगुबाट विरामी भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

अघिल्लो वर्ष काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जना डेंगुबाट विरामी पुष्टि भएका थिए। नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो।

नेपालमा हाल डेंगुका ४ वटा ‘सेरोटाइप्स’ पुष्टि भएको छ। जसमध्ये हालसम्म १ र २ बाट धेरै जना विरामी भएको महाशाखाले जनाएको छ। चिकित्सकका अनुसार एउटै व्यक्तिलाई डेंगुको फरकफरक सेरोटाइप्सको संक्रमण भए यसको असर निकै गम्भीर हुनसक्छ।

चिकित्सकले डेंगु लागेका ८० प्रतिशत मानिसमा कुनै लक्षण नदेखिने वा कम देखिने बताएका छन्। कडा लक्षण भएकामध्ये ८० प्रतिशत आफैँ निको हुने र २० प्रतिशतलाई अस्पतालमा आएर उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.