|

काठमाडौं : मुगु जिल्लामा अवस्थित नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो, रारा। यसको सुन्दरताको व्याख्या गरिसाध्य छैन। धर्तीको स्वर्ग रारा ताल, कुनै अप्सरा भन्दा कम सुन्दर छैन। बिहान मस्त निद्रामा डुब्ने, दिनमा छाल हानेर जिस्काउने ‘रारा रानी’ नेपाल प्राकृतिक रूपमा कति सुन्दर छ भन्ने कुराको गतिलो उदाहरण हो।​

बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ। रारा ताल राष्ट्रिय निकुञ्जले घेरिएको छ। दिनभर रूप फेरिरहने रारा ताल जेठदेखि असोज महिनासम्म विभिन्न फूलले सजिएर ‘स्वर्गकी अप्सरा’ जस्तै देखिन्छ।

रारा ताललाई तत्कालीन राजा महेन्द्र (कवि मवीवि शाह) ले २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए। समुद्र सतहबाट दुई हजार ९९० मिटरको उचाइमा यो ताल छ। रारा तालको लम्बाइ ३.२ किलोमिटर र गहिराइ १६७ मिटर छ। रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ।​

घामको किरण अनुसार राराले रंग फेरिरहन्छ। मुर्मा टप पैदल वा घोडामा सवार भएर रारा जान सकिन्छ। मुर्मा टपबाट वरिपरि हिउँले हिमालले घेरेको रारा मनमोहक देखिन्छ। ​

रारा जति सुन्दर छ, त्यति नै विकट र पिछडिएको छ। राराको सुन्दरताले जति चर्चा र पर्यटक पाउनुपर्ने हो,त्यति पाउन सकेको छैन। यसले विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन। आन्तरिक पर्यटकले पनि सिजनको बेला सहजै बास पाउने अवस्था छैन।

रारा तालको छेउमै डाँफे होटल लगायत दुई वटा मात्रै बास बस्ने ठाउँ छ। भएका होटलमा पनि प्रशस्त मात्रामा कोठा छैन। रारा ताल जान हवाइ तथा स्थल दुवै मार्ग प्रयोग गर्न सकिन्छ। यही तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.