सरकारी स्कुलमा भर्ना गर्न किन हिचकिचावट?

|

काठमाडौं : काठमाडौं महानगरपालिका वडा–१४ कलंकीस्थित जनपथ माध्यमिक विद्यालयमा हाल करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ०.३ प्रतिशतमात्र त्यही घर भएका स्थानीयका छोराछोरी छन्। अरू सबै विद्यार्थी अन्य ठाउँबाट आएर काम गर्दै आएका घरेलु कामदारका छोराछोरी हुन्।

जनपथ माविका प्रधानाध्यापक जीतबहादुर लामिछाने घर भएका सबै स्थानीयले निजी विद्यालयमा मात्रै भर्ना गर्ने र सामुदायिक विद्यालयमा भर्ना नगर्ने गरेको बताउँछन्। ‘यति ठूलो शहरमा स्थानीयले यहाँ भर्ना गर्दैनन्, सबै निजीमा मात्रै भर्ना गर्छन्। यहाँ पढ्ने ०.३ प्रतिशतमात्र स्थानीयका छोराछोरी हुन्। अरू सब घरेलु कामदारका छोराछोरीमात्र पढ्छन्’‚ उनले भने। 

काठमाडौँ महानगरपालिका-६ बौद्ध महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म २ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्थानीयवासीका छोराछोरी भने उक्त विद्यालयमा पढ्दैनन्।

जनकल्याण माविकी प्रधानाध्यापिका कुमारी कमला राईका अनुसार यति धेरै विद्यार्थीमा ५ प्रतिशतमात्र स्थानीय बासिन्दाका छोराछोरी छन्। ‘९५ प्रतिशत त बाहिर जिल्लाबाट यहाँ आएर काम गर्दै गरेका व्यक्तिका छोराछोरी छन्। यहाँ घर भएकाहरूले त छोराछोरीहरू निजी विद्यालयमा पढाउँछन्’‚ उनले भनिन्।

यी माथिका दुई सामुदायिक विद्यालय निजीभन्दा पनि अब्बल  शिक्षा दिने सामुदायिक विद्यालय हुन्। यसले गर्दा विद्यालयलाई विद्यार्थीको चाप धान्न हम्मेहम्मे पर्छ। अभिभावकहरूको पनि रोजाइमा पर्छ। चिरिच्याँट्ट भौतिक पूर्वाधारदेखि गुणस्तरीय शिक्षा दिएकै कारण यी दुई विद्यालयलाई काठमाडौं महानगरले नमुना विद्यालय घोषणा गरेको हो।

पढाइमा समेत गुणस्तर बढेपछि महानगरले २०७७ सालमा जनकल्याणलाई नमुना विद्यालय घोषणा गरेको थियो। यही घर भएका धनाढ्यहरू भने यस्ता नमुना सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न हिचकिचाउँछन् र पत्याउँदैनन् पनि। उनीहरूको आकर्षण निजी विद्यालयतिर मात्रै देखिन्छ।

किन शहरवासी सरकारी विद्यालयमा भर्ना गर्न हिचकिचाउँछन् ?

शिक्षाविद् डा. मीनबहादुर शाहीले यहाँका स्थानीय बासिन्दा सामुदायिक विद्यालयमा भर्ना नगर्नुमा विभिन्न कारण रहेको बताउँछन्। उनका अनुसार अभिभावकहरूमा बृहत् रूपमा सामुदायिक विद्यालय राम्रो हुनुपर्छ भन्ने सोच छैन।

‘यहाँ महल ठडाएकाहरूलाई स्थानीय मैं हुँ। मेरो ठूलो मन र धन छ, कमजोर वर्गका छोराछोरीहरूसँग आफ्ना छोराछोरीलाई घुलमिल गराएर पढाए आफ्नै इज्जत जान्छ भन्ने सोच्छन्। चलेका निजी विद्यालयमा भर्ना गरे आफूलाई धनीमानी भनेर चिन्छन् भन्ने सोच्छन्। त्यही भएर सामुदायिक स्कुलमा भर्ना गर्दैनन्’‚ उनले भने।

उनका अनुसार अझै पनि कतिपयमा आर्थिक कमजोर भएकाहरूले मात्रै सरकारी विद्यालयमा पढाउने भन्ने मानसिकता छ। यसले पनि समाजमा ठूलो प्रभाव परेको छ। उनले सामुदायिक विद्यालयमा शिक्षकहरूको शिक्षण सिकाइमा ध्यान नदिएका कारण पनि सामुदायिक विद्यालयप्रति आकर्षण नबढेको बताए।

‘निजीमा भए राम्रो अंग्रेजी माध्यममा पढाउँछन्, सरकारी स्कुलमा पढाउँदैन भन्ने सोच छ तर पछिल्लो समय सामुदायिक विद्यालयले पनि अंग्रेजीमै पढाउने गरेका छन्। अर्को कारणमा निजी विद्यालयले घरमै विद्यार्थी ल्याउने र लिन आउने गर्छन्। त्यसैले पनि निजीमा आकर्षण बढेको हो’‚ उनले भने।

यसैगरी उनले आर्थिक एवं सामाजिक रूपले पनि शहरका स्थानीयवासीले सामुदायिक विद्यालयमा नपढाउने गरेको बताए। ‘ठूला महलका मान्छेहरूले सामुदायिकमा पढाए समाजले के भन्ला भन्ने सोच र डर पनि बोकेका हुन्छन्’‚ उनले भने।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी समाजमा बोर्डिङ कल्चरको सूत्र नै बसेकाले अभिभावकहरूको ध्यान निजी विद्यालयतिर गएको बताउँछन्। ‘बोर्डिङ भन्ने नामले नै समाजमा सूत्र बसाएको छ। त्यहाँ पढाए अंग्रेजी जान्छन्, आफ्नो स्तर राम्रो बढ्छ,सरकारीमा पढाए नराम्रो हुन्छ, अरूले के सोच्छन् भन्ने धारणा छ’‚ उनले भने।

उनले सरकारी विद्यालयमा पढाए समाजबाट हेपिने डर उनीहरूहरूमा रहेको बताए। ‘धनी मान्छे सरकारीमा पढाए समाजले मलाई के सोच्ला भन्ने त्रास र मनोविज्ञानकै कारण पनि यहाँका स्थानीय बासिन्दाले सरकारी विद्यालयमा नपढाएका हुन्’‚ उनले भने।

उनले प्रधानमन्त्री, मन्त्री, नेता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत कर्मचारीहरूका सबै छोराछोरीहरूलाई अनिवार्य सामुदायिकमा पढाउने नियम लागू भएमात्र यो परम्परा र सोच परिवर्तन हुने बताए। ‘नभए यी सोच परिवर्तन हुने देखिँदैन’‚ उनले भने।

‘सरकारी विद्यालयमा गुणस्तरीय पढाइ हुँदैन भन्ने मानसिकता हटाउनुपर्छ’ 

जनपथ मावि व्यवस्थित छ। हरेक कक्षा कोठामा सजावट छन्। गुणस्तरीय शिक्षासँगै समग्र विद्यालय व्यवस्थित भएकै कारण उक्त स्कुलमा विद्यार्थीको चाप बढ्दो छ। यसैगरी जनकल्याण माविभित्र प्रवेश गरेपछि जो कोहीलाई भवन संरचनाले आकर्षित गराउँछ। विद्यालय गमलाले सजाइएको छ।

२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको स्कुलमा साइन्स ल्याब, कम्प्युटर ल्याब, नाच हल, पुस्तकालय, म्याथ ल्याब लगायत छन्। कोल, डोको, ढिकी लगायत परम्परागत सामग्री सजाएर राखिएको छ। पछिल्लो समय यी सामुदायिक विद्यालयमात्र नभई अन्य सामुदायिक विद्यालय पनि निजीभन्दा अब्बल बन्दै गएका छन्।

तैपनि सरकारी विद्यालयमा गुणस्तरीय पढाइ हुँदैन भन्ने मानसिकता नहटाएसम्म यो समस्या र भ्रम अत्य नहुने जनकल्याण माविकी प्रधानाध्यापक राई बताउँछिन्।

‘हामीले कत्ति दुःख गरेर विद्यालयलाई यो स्तरसम्म पुर्‍याएका छौँ। हाम्रै वरपरका बोर्डिङ स्कुल थर्डक्लासका छन्। हाम्रो स्तरका बन्न सकेका छैनन्, तैपनि बोर्डिङ भन्ने ब्राण्ड नै बन्यो। त्यहाँ भर्ना गरे सबै जान्छन्,सरकारीमा केही पढाउँदैनन् भन्ने मानसिकता छ। यो हटाउनुपर्छ’‚ उनले भनिन्।

सरकारले समयमा शिक्षक दरबन्दीको व्यवस्था गरे झनै निजीभन्दा अब्बल सामुदायिक विद्यालय बन्ने उनले बताइन्। ‘सरकार पनि हस्तक्षेप गर्छ। हामी प्रअहरूलाई अधिकार छैन। माथिको मुख ताक्नुपर्छ‚ तैपनि हामीले सकेसम्म अब्बल विद्यालय बनाएका छौँ। त्यसैले पनि यहाँ विद्यार्थीको चाप छ’‚ उनले भनिन्। 

जनपथ माविका प्रधानाध्यापक लामिछाने पनि सामुदायिक विद्यालयको स्तर निजी सरह रहेको बताउँछन्। उनले भने, ‘यहाँ हामीसँग पढाउने क्षमता र लक्ष्य भनेको १ हजार १ सयजनालाई हो। विद्यार्थीहरूको चाप धेरै छ। कक्षाकोठा अभावले विद्यालयको टपमा पनि अन्य संरचना बनाउँदै छौँ। हामी गुणस्तरीय शिक्षा प्रदान गर्छौ’‚ उनले भने।


सरकारी विद्यालयमा राम्रो पढाइ हुँदैन। त्यसैले निजीमै पढाउनुपर्छ भन्ने आम मानसिकता छ। यस्ता सोच अन्त्य गर्नुपर्ने आवश्यक रहेको उनको सुझाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.