|

घोराही : जिल्लामा अहिलेसम्म ४६ जना डेंगुका संक्रमित फेला परेका छन्।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार हाल जिल्लाभर करिब ४६ जनामा डेंगु संक्रमण देखिएको छ।

उनले भने, ‘डेँगुका विरामी फाट्टफुट्ट आउन थालेका छन्। सबैभन्दा बढी घोराही र तुलसीपुरमा देखिएको छ। अन्य पालिकाबाट पनि डेंगु संक्रमण भएको रिपोर्ट आइरहेको छ।’

अहिलेसम्म डेंगु संक्रमण भएका व्यक्तिहरूको अवस्था सामान्य रहेको भन्दै उनले यसबाट बच्न जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम भइरहेको समेत बताए। पालिकाहरू र नेपाल रेडक्रस सोसाइटीबाट विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेको उनको भनाइ छ।

यसैगरी देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङबाट ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। शुक्रबारदेखि उक्त अभियान सुरु गरिएको हो। पहिलो चरणमा बजार क्षेत्रमा उक्त अभियान सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए।

उनका अनुसार पानी परेसँगै जम्मा हुने ठाउँमा लामखुट्टेका लार्भा बढ्ने भएकाले डेंगुको जोखिम हुने भएकाले यो अभियान सुरु गरिएको हो। गाउँपालिकामा हालसम्म डेँगुका २ जना बिरामी भेटिएका छन्।

यस्तै जहाँ जनघनत्व बढी छ, त्यहाँ फोहर पनि बढी हुने भएकाले शहरी क्षेत्रका नालीमा लामखुट्टे बस्ने भएकाले लामखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा नष्ट गर्ने उद्देश्यले सचेतना कार्यक्रम शुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए।

यसैगरी यो कार्यक्रम वडास्तरमा लगेर त्यहाँका टोल विकास समितिहरूलाई पनि अभिभुखीकरण गर्ने उद्देश्य रहेको समेत बताए। 

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ। डेँगुले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा चिकित्सकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.