पेशा पत्रकार, पार्टी एमाले

|

तुलसीपुर : तुलसीपुर उपमहानगर-१८ बेलझुण्डीकी जानका अधिकारीलाई विद्यालयमा बसेको वेला विद्यार्थीमार्फत पत्र आयो।

बेलझुण्डी माविकी शिक्षिका अधिकारीले शुरुमा पत्र पाउँदा आफू आबद्ध शिक्षक संगठनको होला भन्ने लागेको बताइन्। उनी त्यो पत्र अफिसमा छाडेर कक्षामा पढाउन गइन्। पढाएर कार्यालयमा आएर पत्र हेर्दा उनको जीउ नै सिरिङ्ग भयो। त्यो पत्रमा उनीसँग एक लाख रुपैयाँ मागिएको थियो।  

उनका अनुसार असार २५ गते स्कुलका एकजना विद्यार्थीलाई अपरिचित व्यक्तिले जानका मेडमलाई पत्र दिनु भनेर दिएर गएछ। पत्रमा हाम्रो भूमिगत पार्टी भएका कारण तपाईंले हामीलाई एक लाख सहयोग गर्नुपर्छ भनेर आएको थियो।

उनले भनिन्, ‘त्यो पत्र पढ्दा त मेरो जीउ कामिरहेको थियो। शुरुमा त संगठनको चिठी होला भनेर खुशी थिएँ तर त्यो अर्कै रहेछ। पार्टीलाई सहयोग नगरे घरमा बम राखिदिने र छोराछोरीका हातगोडा भाँची फालिदिने धम्की समेत थियो।’

उनले पत्र आएका दिन साँझ नयाँ नम्बरबाट फोन आएको र डरले त्यो फोन उठाउन नसकेको बताइन्।​ फोन नउठाएपछि मेडम काम भयो कि भएन भनेर म्यासेज आएको तर त्यसको कुनै जवाफ नदिएको बताइन्। पछि फेरि उसले तपाईँले किन नसुनेको भनेर धम्की दिएको समेत उनको भनाइ छ।

त्यसपछि आफूले उसलाई तपाईंले भनेको रकम दिन्छु भन्ने जवाफ दिएर घटनाबारे प्रहरीलाई पनि जानकारी दिएको बताइन्।

उनले भनिन्, ‘त्यो धम्की तथा पत्र आएपछि म माइत गएँ। घरमा आमाछोरी मात्र बस्छौँ। त्यस्तो धम्की आएपछि कसरी एक्लै घरमा बस्न सकिन्छ? त्यो भएर माइत गएँ। माइतबाट स्कुल आउने जाने गरे। विद्यालयले म स्कुल आउँदा जाँदा एकजनासँगै पठाउने गरेको थियो। प्रहरीले पनि निगरानी राख्दै आएको थियो। आज आएर आफ्नै छिमेकीले यस्तो गरेको थाहा भयो।’ 
  
नेकपा (बहुमत) का नाममा चन्दा माग्ने २ जना पक्राउ

नेकपा (बहुमत)को नाममा चन्दा माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका-४ का धनराज तुफान भनिने धनबहादुर परियार र सल्यान छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका २९ वर्षीय चन्द्रप्रकाश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। बिहीबार उनीहरूलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। 

उनीहरूले शिक्षिका जानका अधिकारीसहित विभिन्न व्यक्तिलाई नेकपा (बहुमत)को लेटरप्याड बनाई आर्थिक सहयोग भनेर वाट्सएप र चिठी पठाएर धम्की दिएर पैसा माग्थे। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार आपराधिक लाभ सम्बन्ध कसुरमा उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।

गत चैतदेखि उनीहरूले धेरै जनालाई पत्र, म्यासेज वा आफै गएर नेकपा (बहुमत) को नाममा पैसा माग्दै आएको उनको भनाइ छ। उनीहरूले एउटै नम्बरबाट फोन गरेर पैसा माग्ने र धम्की दिने गरेको पनि उनले बताए। उनका अनुसार अहिलेसम्म ४ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्।

उनीहरूले विभिन्न व्यक्तिसँग १ लाखदेखि १० लाखसम्म चन्दा मागेको समेत प्रहरीले जनाएको छ। उनीहरूले तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग १० लाख, सल्यानको कालिका माविका शिक्षक वामदेव अधिकारीसँग ५ लाख र तुलसीपुर-७ पर्सेनीका इन्द्रबहादुर वलीसँग १ लाख रुपैयाँ मागेका थिए। 

यसरी विभिन्न व्यक्तिलाई धम्की दिएर पैसा मागेको भन्ने खबर आएपछि प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको डीएसपी मल्लले बताए। उनका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङसहितको सहयोगमा उक्त घटना बाहिर आएको हो।

पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको र मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिमको कसुर मुद्दामा दाङ जिल्ला अदालतबाट म्याद भएको समेत उनले बताए। उनीहरूबाट नेकपा (बहुमत) का १२१ थान लेटरप्याड र छाप, ९ थान चेक, विभिन्न व्यक्तिका ३९ वटा नागरिकताको कपी र कम्प्युटर, फोटोकपी मेसिन लगायत सामग्री बरामद भएको समेत प्रहरीले जनाएको छ।  

पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन्। परियारका साथमा पत्रकार परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.