|

संखुवासभा : संखुवासभा जिल्ला कारागार खाँदबारीमा कुटपिटबाट दुईजना कैदीको मृत्यु भएको घटनामा अनुसन्धान सुरु भएको छ।

घटनामा संलग्‍न प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको हो।

कुटपिटबाट कैदी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहान मृत्यु भएको थियो।

कैदी मादी –५ का तोलाङ्गी र ककनी –७ का २८ बलामीको कुटपिटबाट मृत्यु भएको  संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) बीरेन्द्र गोदारले पुष्टि गरे।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो। कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ।

कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो। फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक गोदारले बताए।

पीडित पक्षको किटानी जाहेरीको आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने प्रहरी नायव उपरीक्षक गोदारले बताए।

कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ५ जना कैदीबन्दी संलग्न भएको देखिएको छ। नियन्त्रणमा लिएको १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कारागारको सुरक्षामा असई (प्रहरी सहायक निरीक्षक)को नेतृत्वमा २० जना प्रहरी परिचालन थिए। घटनामा प्रहरीको संलग्नता देखिएपछि असई लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौजना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।  उक्त घटना कारागारको ए ब्लकमा भएको हो। सो ए ब्लकमा ६६ जना कैदीबन्दी रहेका थिए।

घटनामा प्रहरीको समेत संलग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले  एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ।

समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्। कोसी प्रदेश प्रहरीको छानविन  समितिले  बिहीबारदेखि  काम सुरु गरिसकेको छ।

घटनापछि जिल्ला सुरक्षा समिति संखुवासभाले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो। समितिका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज खनाल र प्रशासन कार्यालयका शुब्बा तारणी घिमिरे सदस्य छन्।

जिल्ला कारागारमा दुई कैदीको शंकास्पद मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयले समते छानविन समिति गठन गरेको छ। गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ।

समितिमा नेपाल प्रहरीका डिएसपी (प्रहरी नायव उपरीक्षक) कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डीएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत सदस्य छन्।

गृह मन्त्रालयको  छानविन टोली शुक्रबार १० बजे संखुवासभा आइपुगेको हो। टोलीले आजबाट अनुसन्धान सुरु गरेको छ। अहिले संखुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ जना कैदीबन्दी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.