|

तुलसीपुर : नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ। स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५५ दिनपछि शुक्रबार खुलेको हो।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो।

आयुर्वेद केन्द्रीय विद्यापीठका स्ववियु अध्यक्ष हेमन्त बञ्जाडेले विद्यार्थीका माग पूरा गरेकोमा विश्वविद्यालयप्रति आभार प्रकट गरेका छन्। उनले विश्वविद्यालयको विकासका लागि स्वतन्त्र विद्यार्थी युनियन सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

 इन्टर्नसिप भत्ता वृद्धिको माग गर्दै ताला लगाएको स्ववियुले आफ्ना माग पूरा भएको जनाउँदै ताला खोलेको जनाएको छ।

विश्वविद्यालयद्वारा गठित वार्ताटोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्रा.डा. चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले संस्कृत विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलबको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालय वार्ताटोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिए।

उनका अनुसार निर्णय २०८० साउनदेखि लागू हुनेछ।

उपकुलपति लामिछानेले विश्वविद्यालयलाई तालाबन्दी मुक्त गर्न  सहयोगी भइदिन आह्वान गरे।

उनले विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा पनि विभिन्न समयमा हुने तालाबन्दी र अवरोधका कारण विश्वविद्यालय अस्तव्यस्त भइरहेको बताए। 

संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते लगाएको ताला अझै खुल्न सकेको छैन। ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्ने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापकका परीक्षा अनिश्चित हुँदा एक हजारभन्दा बढी परीक्षार्थी मर्कामा परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.