|

गुल्मी : गुल्मीको सडक पूर्वाधार विकास कार्यालयमा दुईवटा कार्यालय प्रमुख फेरिँदा पनि वेभसाइटमा भने कार्यालय प्रमुखको नाम अझै फेरिएको छैन।

२०७८ असोजमा सरुवा भएर रुपन्देही गएका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर गोपीराज पुन मगर सरुवा भएर गएको दुई वर्षसम्म पनि कार्यालयको वेभ साइटमा प्रमुख गोपीराज पुन मगर नै रहेको पाइएको छ।

पुन मगर सरुवा भएर गएपश्चात् तत्कालीन इन्जिनियर सागर मरासिनीले निमित्तको रुपमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले। त्यसपश्चात २०७९ असोजमा उनको पनि रुपन्देहीमा सरुवा भयो। मरासिनीको सरुवापश्चात् तत्कालै कार्यालय प्रमुखको रुपमा सचितानन्द चौधरी आए। चौधरी आएको करिव एक वर्ष हुनै लाग्दासमेत कार्यालयको वेभ साइटमा कार्यालय प्रमुखको नाम गोपीराज पुन नै रहेको पाइएको छ।

कार्यालय प्रमुखको नाम नै वेभ साइटमा परिवर्तन नभएपश्चात् अन्य कर्मचारीको नाम परिवर्तन होला भन्नेमा त कल्पना पनि गर्न सकिँदैन।

२०७९ असोजमै रुपन्देही सरुवा भएर जानुभएका इन्जिनियर सूर्य भण्डारी ,२०७८ फागुनमा सरुवा भई जानु भएका र हाल कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीमा रहेका आर्थिक प्रशासन शाखाका प्रमुख यमप्रसाद श्रेष्ठ लगायतको नाम कार्यालयको वेभ साइटमा उल्लेख छ।

कार्यालयका सूचना अधिकारी भक्तराज गिरीले कार्यालयको वेभ साइट अपडेट नभएको स्विकार गरे।  कार्यालयको ध्यान त्यसतर्फ नगएको भन्दै केही दिन भित्रैमा अपडेट गर्ने प्रतिबद्धता व्यक्त गरे।

यता, नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले कार्यालयका कर्मचारीको विवरणसमेत अपडेट नगर्ने कार्यालयले गरेको सेवा प्रवाहको बारेमा पनि सोच्नुपर्ने र तत्काल अपडेट गर्न आग्रह गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.