|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतिबाट बैठक अघि बढ्ने दाबी गरेका छन्।

सभामुखले संविधानको ठाडो उल्लंघन गरेको भन्दै राप्रपा र एमाले नाराबाजी गर्दै सदनबाट बाहिरिएका थिए। सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवामा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरीत विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि सदन स्थगित भएको हो।

विपक्षी दलका सांसदहरू बाहिरिएपछि सभाध्यक्ष इस्राइल मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि सदन स्थगित गरेका थिए। बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने कार्यसूची रहेको थियो तर प्रतिपक्षले संसद् बैठक बहिष्कार गरेपछि कार्यसूची बैठकमा प्रवेश गर्न सकेन।

विपक्षी दलको संसद् बहिष्कारसँगै अब प्रदेसभा बैठक कसरी चल्छ ? बजेटको विषयमा कसरी छलफल अगाडि बढ्छ भन्ने विषयमा प्रदेशसभा बैठकपश्चात् मुख्यमन्त्री थापालाई सञ्चारकर्मीले राखेको संक्षिप्त कुराकानी.....

विपक्षको बहिष्कारपछि सदन स्थगित भयो, अब के हुन्छ ?

कोशी प्रदेशमा सहमति, सहकार्य र समझदारीबाट नै अघि बढ्नुपर्ने हुन्छ। फेरि पनि आज सभा चल्न सकेन, अनिश्चितकालका लागि स्थगित भएको छ। सभामुख आउनुहुन्छ। त्यसपछि बसेर सल्लाह गरेर सहमतिबाट बैठक अगाडि बढ्छ। हामी हरेक विषयलाई सहमतिमा लिएर जान्छौँ।

बजेट होलिडेको अवस्थामा देखिएको बजेटको विषयलाई के गर्नुहुन्छ ?

बजेट होलिडे हुँदैन।

त्यसो भए बजेट अध्यादेशबाट ल्याउनुहुन्छ ?

समय छ, हाम्रो सल्लाह भइरहेको छ। साथीहरू अलिक आवेशमा आउनुहुन्छ। फेरि पनि एउटा समिति बनेको छ। त्यहाँ हामी बसेर सल्लाह गर्छौं। हामी बजेट होलिडेको अवस्था हुन दिनौँ।

विश्वासको मतविरुद्ध रिट परेको छ। के गर्नुहुन्छ ? अदालतले रोकिदियो भने नि ?

हाउस चलेन, सहमति भएमा एकै दिनमा बजेट आउँछ। अदालतको आदेश आयो भने त विकल्प छैन। सर्वोच्चको आदेशलाई हामीले मान्नै पर्छ। यति चाँडै आदेश नआउला।

विपक्षी दलहरूसँग वार्ता कसरी गर्नुभएको छ?

हामीले छलफल गरिरहेका छौँ, सम्पर्क गर्छौँ। वार्ता गर्ने कोसिस गर्छौं।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.