|

सुर्खेत : डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न ठाउँमा स्याउ खरिद गर्न व्यापारीहरू बोटमै पुगेका छन्।

खेतबारीमा लटरम्म फलेका स्याउले ठूलीभेरी र त्रिपुरासुन्दरीका गाउँबस्ती रंगिएका छन्।

त्रिपुरासुन्दरी नगरपालिका-३ र ४ मा किसानले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्। त्यसैगरी वडा नम्बर ७ मा पर्ने जुफाल‚ ८ र ९ मा पर्ने डाँगीबाडा‚ वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रशस्त स्याउ उत्पादन हुने गरेको छ।

स्याउ बोटमा राम्ररी नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ। बजार अभावमा कृषकले उत्पादन गरेको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ बिचौलियालाई प्रतिकिलो २० देखि ३० रुपैयाँ बेच्न बाध्य भएको कार्यालयको भनाइ छ।

रंग गाउँमा एक घर एक स्याउ बगैँचा छ। प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै खरिद नगर्ने कृषकको गुनासो छ। स्याउ बगानमा तीन वर्षयतादेखि नेपालगन्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायतका जिल्लाबाट स्याउ किन्न व्यापारीहरू घरमै पुग्ने गरेका छन्।

नपाक्दै बोटमै बिचौलिया आइपुग्ने स्याउ कृषक तारा बुढाले बताइन्। बजार अभाव, सडकको असुविधा, ढुवानी लगायतका समस्याका कारण नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्य हुने स्याउ कृषक हरि बुढाले बताए।

‘स्याउ राम्रोसँग भदौ अन्तिममा पाक्छ तर व्यापारीहरू किसानको बाध्यताको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्। कृषकहरू बाध्य भएर २० देखि ३० रुपैयाँमा स्याउ बगैँचा जिम्मा लाउन बाध्य हुनुपर्छ’, उनले दुःखेसो पोखे‚ ‘पाकेको स्याउको स्वादै मिठो हुन्छ। यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायतका शहरमा प्रतिकिलो दुई सयभन्दा धेरैमा बेच्ने गर्छन्।’

अर्का किसान रुद्र बुढाले यो वर्ष ११ क्विन्टल स्याउ जम्मा ३५ हजारमा बेचेको दुःखेसो पोखे। ‘मेरो बगैँचामा तीन सय बोट स्याउ छन्, पछि बिक्री हुँदैन कि भन्ने चिन्ताले साउन अन्तिममै सस्तो मूल्यमा बगैँचा नै जिम्मा लाइसकेँ,’ बुढाले थपे।

‘व्यापारीले बोटमै प्रतिकिलो ५० रुपैयाँ किलोसम्म पाए कृषकलाई केही राहत हुन्छ तर व्यापारीले बढीमा ३० रुपैयाँभन्दा धेरै हाल्न मान्दैनन्, बेचौँ घाटा छ, नबेचौँ पछि बेच्न समस्या हुन्छ’, उनले दुःखेसो पोखे। बिचौलियाहरूले डोल्पाबाट लिएको स्याउबाट पाँच गुणाभन्दा पनि धेरै फाइदा खाने गरेको उनको भनाइ छ।

अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषकहरूले दुःखेसो पोखे। नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको समस्या समाधान गरिदिन आग्रह गरेका छन्।

त्यसैगरी वडा नम्बर ३ जिउँका कृषक रामबहादुर गुरुङले पनि तीन सय बोट स्याउ रोपेका छन्। उनको बगैँचामा प्रत्येक वर्ष तीस क्विन्टलसम्म स्याउ फल्छ तर उनलाई सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्छ।

‘बगैँचा राताम्य हुने गरी स्याउ फलेको छ। डोल्पामा सबै स्याउ खपत हुने ठूलो बजार छैन। जिल्लाबाहिरका बजारमा लैजाऊँ भने कच्ची बाटो र ठाउँठाउँमा पुल नहुँदा एक दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ। यसरी लैजाँदा स्याउको मूल्यभन्दा ढुवानी रकम धेरै हुन्छ’‚ उनले भने, ‘डोल्पासम्म सडकको राम्रो सुविधा भएको भए वर्षेनि लाखौँ रुपैयाँ डोल्पाली कृषकले कमाउँथे। जिल्लाबाहिरबाट काँचै स्याउ सस्तो मूल्यमा किन्ने व्यापारी त आएका छन्। भनेको जति मूल्य नपाइने भएकाले बिक्री गरेको छैन।’

सोही गाउँका जसमान केसीले पनि सात रोपनी क्षेत्रमा स्याउ लगाएका छन्। उनलाई पनि उत्पादन भएको सबै स्याउ बिक्रीको चिन्ता छ। गाउँका धेरैजसो कृषकले २० देखि ३० रुपैयाँ मूल्यमा काँचै स्याउ बेचे पनि आफूले बिक्री नगरेको उनले बताए। कृषकहरूले वर्षभरि दुःख गरेर उत्पादन गरेको स्याउ राम्रोसँग पाकेपछि भदौ अन्मिमा मात्र बेच्न पाउने समय निर्धारण गरी मूल्य तोकिदिएको भए धेरै राहत हुने त्रिपुरासुन्दरी नगरपालिका– ४ का अध्यक्ष रञ्जित बुढाले बताए।

नगरपालिकाले मूल्य निर्धारणमा चासो नराख्दा कृषक मारमा र बिचौलिया व्यापारी फाइदामा भएको उनको भनाइ छ। उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा वार्षिक लाखौँ रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाबाट नेपालगन्ज, सुर्खेतसम्म सीधा गाडी पुग्ने व्यवस्था नहुन्जेल स्याउ कृषक सधैँ मारमा पर्ने कार्यालयको भनाइ छ। डोल्पामा ४१२ हेक्टर जमिनमा स्याउ खेती गरिएको र वार्षिक ३ हजार २९६ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए।

त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालाई काँचो स्याउ बिक्री–वितरणमा रोक लगाउन भने पनि चासो नदिएको उनको भनाइ छ। यो वर्षदेखि त्रिपुरासुन्दरी नगरपालिकाले व्यापारीबाट प्रतिकिलो एक रुपैयाँ पचास पैसा ढुवानीकर लगाउन सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.