|

बैतडी : आपतकालीन उद्धारका लागि बैतडीका १२ स्थान हेलिप्याड स्थापना गरिएको छ।  विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। 

आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउन हेलिप्याड निर्माण गरिएको हो। ‘विपद् बेला आपतकालीन रूपमा उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ’, उनले भने।

मनसुन आपतकालीन कार्ययोजना २०८० अन्र्तगत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा  हेलिप्याड स्थापना गरिएका हुन्।  सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएको छ।  यस्तै पञ्चेश्वर गाउँपालिका ३ कुलाउ, सिगास गाउँपालिका ९ चौखाम, सिगास ७ कै शिवलिंग, पुर्चौडी नगरपालिका १ हाट, पुर्चौडी ५ कुवाकोट, पुर्चौडी ३ नकाली, पाटन नगरपालिका ४ पाटन, डिलाशैनी गाउँपालिका ३ लेक,सुर्नया गाउँपालिका २ सिउडे र दोगडाकेदार गाउँपालिका १ रिममा गैरसैनिक  हेलिप्याड निर्माण गरिएको हो। 

मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपतकालीन उद्धार सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।  

विपद् व्यवस्थापन तथा न्यूनीकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । ‘ विपद्को बेला तत्काल हवाइ उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको हो’, उनले भने।  

यसका साथै  विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तह तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। विपद्बाट घरवार बिहीन हुन सक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहहरुले आश्रय स्थल तथा खुल्ला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ। 

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने त्यस्ता क्षेत्रको पहिचान गरिएको  छ । 
मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेहरूको फोन नम्बरसहितको सूची जिल्ला आपतकालीन सञ्चालन केन्द्रले राखेको छ ।  

विपद्को समयमा परिचालन गर्नका लागि तिनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेका जनाइएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.