|

काठमाडौं : स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ४६ स्थान जितेको नेकपा माओवादी केन्द्रले यस पटकको निर्वाचनमा अवस्था सुधार्ला वा पहिले भन्दा पनि खस्केला भन्ने चर्चा माओवादी वृत्तमा छ। वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमध्ये माओवादी केन्द्रले ४६ तहमा प्रमुख/अध्यक्ष पद जितेको थियो। दोस्रो चरणअन्तर्गत असार १४ गते ३३४ स्थानीय तहमा हुने निर्वाचनमा आफ्नो स्थितिमा सुधार हुने दावी माओवादी केन्द्रका नेताहरूको छ। 

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार असार १४ गते निर्वाचन भएको धेरैजसो स्थानीय तहहरू जनयुद्धकालमा बलियो संगठन भएका स्थानहरु हुन्। पार्टी विभाजन र टुटफुटले बीचमा कमजोर बनेका पार्टीका स्थानीय संरचना अहिले पुर्नगठन भएका कारण दोश्रो चरणको निर्वाचनमा पहिले भन्दा बढी स्थानमा जित सुनिश्चित भएको भुसालको तर्क छ।

माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाको दावी छ- पहिलो चरणको निर्वाचनमा भएका कमी कमजोरी सच्च्याउने र प्रचार प्रसारमा केन्द्रित हुने समय बढी पाएका कारण पनि यो पटक माओवादीले सन्तोषजनक नतिजा हात पार्नेछ। 'दोश्रो चरणको निर्वाचनमा पनि हाम्रो पार्टी तेस्रो त तेस्रो नै हुन्छ तर कमजोर तेस्रो होइन, स्ट्रङ (बलियो) तेस्रो हुन्छ।’

११५ स्थान जित्ने दावी, कुन प्रदेशमा कस्तो छ आँकलन?

प्रदेश नम्बर १ मा १ महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका गरी १३७ वटा स्थानीय तह छन्। यो प्रदेशमा ५० स्थानीय तहमा जित हात पार्ने दावी छ माओवादी केन्द्र हेडक्वार्टर सदस्य एवं प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किराँती। ‘यो पटक हामी ५० भन्दा बढी स्थान जित्ने छौँ। जनताले कति भोट दिन्छन्, त्यो त चुनाव पछि नै थाहा होला।’

तर नेता किरातीको दावीमाथि माओवादीकै नेता कार्यकर्ता शंका गर्छन्। वाइसिएलका नेता शिव फुँयाल भन्छन्– 'प्रदेश नम्बर १ मा कूल २५ स्थानमा जित हात पार्न सकियो भने माओवादीका लागि राम्रो पोजिसन हुन्छ।'

एक महिना चुनावी प्रचारपछि सोलुखुम्बुबाट काठमाडौं फर्किएका फुँयाल सोलुखुम्बुका ७ स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका, लिखुपिके गाउँपालिका र दुधकोशिका गाउँपालिकामा माओवादीले जित्ने बताउँछन्। त्यसैगरी खोटाङको दिक्तेल नगरपालिकामा पनि माओवादीको राम्रो पकड छ। चुनावी माहौल बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै त्यहाँ पुगेका थिए। 

पहिलो चरणको निर्वाचनमा प्रधानमन्त्री भएका कारण प्रचण्ड चुनाव प्रचारमा खट्न पाएका थिएनन्। दोस्रो चरणको निर्वाचनमा भने उनी आफै देश दौडाहामा हिँडे। प्रदेश नम्बर १ को सोलुखुम्बुबाट सुरु भएको भएको उनको चुनावी यात्रा पश्चिम प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुर, प्रदेश नम्बर ५ को बाँके, नेपालगञ्ज हुँदै पूर्वको खोटाङ, भोजपुरको दिक्तेल र रामेछापसम्म पुगेको छ। 

प्रदेश नम्बर १ मा झापा, मोरङ, इलाम, धनकुटा,सुनसरी, तेह्रथुम, पाँचथर, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा गरी १४ जिल्ला छन्।

प्रदेश नम्बर ५ मा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन्। यो प्रदेशबाट ४० सिट जित्ने प्रदेश इन्चार्ज समेत रहेका नेता वर्षमान पुन अनन्त बताउँछन्। दाङ घर भएका हेडक्वार्टर सदस्य नारायण शर्मा करिव ४५ प्रतिशत स्थानीय तह जित्ने आधार तयार भएको दावी गर्छन्।

'यो पटक माओवादीसँग ठूलो जनमत छ। २०६४ सालको जस्तै जनलहर र उत्साह मैले देखेको छु। यो प्रदेशमा ४५ प्रतिशत स्थानमा जित हात पार्ने अनुमान गरेका छौं।’ उनले भनेको ४५ प्रतिशत आउन ४९ स्थानीय तहमा माओवादीले जित हासिल गर्नुपर्ने हुन्छ। नयाँ शक्ति, नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्यको क्रान्तिकारी माओवादी पार्टीमा गएका धेरै नेता कार्यकर्ता माउ पार्टीमा फर्किएका कारण पनि आफूहरू बलियो रहेको उनको तर्क छ। 

यो प्रदेश माओवादीको जनयुद्धकालीन आधार इलाका पनि हो। रोल्पा, रुकुम, प्युठान, सल्यान र दाङ लगायतका जिल्लालाई माओवादीले प्रमुख आधार इलाका बनाएको थियो। १० स्थानीय तह रहेको रोल्पाका सबै स्थानीय तहमा माओवादीले एकलौटी जीत हात पार्ने नेत्री जयपुरी घर्तीको दावी छ। थवाङ लगायतका केही गाउँपालिकामा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र एमालेले चुनावी गठबन्धन बनाएर माओवादी केन्द्रलाई कडा टक्कर दिने बताएपनि माओवादी एक्लैले थवाङ लगायत १० वटै स्थानीय तहमा जित्ने आधार भएको घर्तीको टिप्पणी छ।

पश्चिम रुकुममा रहेका ६ स्थानीय तहमा एकलौटी जित हात पारेको माओवादीले पूर्वी रुकुमका तीन स्थानीय तहमा पनि आफैले जित्ने दावी गरेको छ। गणेशमान पुन, कमला रोका, विमला केसी लगायतका केन्द्रीय नेताहरू रुकुममै केन्द्रित छन्। दाङ जिल्लामा रहेका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका सहित १० स्थानीय तहमा माओवादीले जित्ने दावी दाङ जिल्ला निर्वाचन परिचालन समितीिका संयोजक निर्मल आचार्य विमलको छ। 

नेता मणि थापा दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तह भएको प्युठानमा चार तहमा जित हात पार्ने दावी गर्छन्।

प्रदेश नम्बर ७ मा १ उपमहानगरपालिका, ३२ नगरपालिका, ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन्। ८८ स्थानीय तह मध्ये २५ बढी स्थानमा जित्ने दावी गर्छन् प्रदेश संयोजक लेखराज भट्ट। भट्टले २०६४ सालकै माहौल फर्किएको बताए।

कैलाली र कञ्चनपुर जस्ता थारु बाहुल्यता भएका जिल्लामा माओवादी पहिलो शक्ति बन्ने आँकलन गरेको भट्ट बताउँछन्। कैलाली र कञ्चनपुरमा माओवादीले अधिकांश थारु उम्मेदवार अगाडि सारेको छ। कैलाली र कञ्चनपुरमा गरी प्रमुख/अध्यक्षमा ८ बढी र उपप्रमुख/उपाध्यक्षमा १२ भन्दा बढी उम्मेदवार थारु समुदायबाट अगाडि सारिएकोले आफ्नो पार्टीलाई भोट आउने तर्क भट्टको छ। प्रदेश नम्बर ७ मा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा गरी ९ जिल्ला छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.