|

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ का विष्णुमणि आचार्यले करिब ३३ वर्ष सरकारी जीवनमा समय बिताए। जागिरबाट बिदा भएपछि उनलाई ३/ ४ महिना समय बिताउन धेरै गाह्रो भयो। लामो समय जागिरे जीवनमा समय बिताएका उनलाई के गरौँ, कसो गरौँ, भन्ने लाग्यो।

कुनै व्यापार व्यवसाय गर्दा डुब्ने हो की ? भन्दै मनमा कुरा खेलिरहेका बेलामा एक दिन उनले मोबाइलबाट युट्युबमा भिडियो हेर्दै जाँदा कालिज पालन गरेको भिडियो देखे। अनि उनलाई कालिज साह्रै मन परेपछि उनले व्यावसायिक रुपमा गत वर्षदेखि पाल्न सुरू गरेको बताए।

उनले तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँका एक बिगाहा जमिन भाडामा लिएर यो व्यवसाय सुरू गरेका छन्। उनका अनुसार सुरूमा करिब ६ सय कालिजका बच्चाहरू ल्याएर सुरू गरेका थिए। उनले भने,‘ फ्रान्स र बेल्जियमबाट अण्डाहरू ल्याएर उत्पादन गरेका कालिजका बच्चाहरू सुरूमा ल्याएको थिए। सुरू सुरूमा अलि गाह्रो पनि भयो। नयाँ व्यवसाय भएका कारणले गर्दा केही बच्चाहरू मरेर पनि गए।  करिब साढे ५ सय कालिज बचेका थिए। ति मध्य अहिले करिब एक सय वटा मात्र कालिज बाँकी रहेको र अरु सबै बिक्री भएका छन्। बेचेकाहरू पनि किन्न आइरहन्छन्। मैले बेचेको छैन।’ 

उनका अनुसार पछिल्लो समय जिल्लामा मात्र नभइ बाहिरबाट पनि कालिजको माग एकदमै बढि रहेको छ। अहिले उनले  करिब साढे महिनाका साढे ७ सय कालिजहरू हुर्काइ रहेका छन्। यी कालिजहरू  उनले आफैले उत्पादन गरेका हुन्। उनले बच्चा उत्पादनको लागि ह्याचरी मेसिन पनि ल्याएका छन्।

उनले भने,‘ सुरूका कुनै पनि व्यवसाय गर्दा अनुभव चाहिन्छ। मैले  युट्युबमा भिडियो देखेर रहर लागेर  सुरू गरे। सुरूमा केही बच्चाहरू पनि मरे। यही बच्चा उत्पादन गर्न लाग्दा करिब २५ सय  अण्डाहरू  पनि खेर गए। अहिले अनुभव बटुल्दै छु। सबै कुरा सिक्दै गएपछि थाहा हुँदोरहेछ।’

आफूले अहिले करिब ९ सय जति कालिजका बच्चाहरू  उत्पादन गरेकोमा करिब साढे ७ सय बच्चाहरू हुर्काईरहेको समेत उनले बताए। उनका अनुसार कालिजहरूले अण्डा माघदेखि असारसम्म मात्र दिने गर्दछन्।  उनले भने,‘ केही कालिजले  पुसदेखि नै अण्डा दिने गरेका थिए। तर, यिनीहरूले अण्डा दिने समय भनेको माघ देखि असार सम्म मात्र रहेको छ। एउटा कालिजले कम्ति ७० वटा सम्म अण्डा दिन्छ। ’

एउटा कालिजको  मूल्य २ हजारदेखि २५ सयसम्म

उनले सुरूमा एउटा कालिजलाई २५ सयका दरले बिक्री गर्दै  आएका थिए। एउटा कालिज एक केजी देखि कम्तीमा २ केजीसम्म हुने समेत उनले बताए। आफूले सुरूमा २५ सयका दरले आधा जति बेचेको र पछि  मूल्य घटेपछि २ हजारका दरले बिक्री गरेको समेत उनको भनाइ छ। उनले भने,‘अहिले २ हजार मूल्य रहेको छ। अझै यो मूल्य घटाउन पर्छ, जस्तो मलाई लागेको छ।  दाना आफै उत्पादन गरेर यसको खर्च कम गरेर मूल्य घटाउनु पर्छ। सबैले खान सक्ने मूल्य बनाउने सोचमा रहेको छु।’

३ हजार बच्चा उत्पादन गर्ने ह्याचरी

सुरूबाट बच्चा किनेर यो व्यवसाय सुरू गरेको भएयता पनि उनले करिब  ३ हजार बच्चा उत्पादन गर्ने ह्याचरी मेसिन ल्याएर आफै उत्पादन गर्दै आएका छन्। २४ दिनसम्म मेसिनमा अण्डाहरू राखेपछि बच्चाहरू उत्पादन हुने समेत उनको भनाइ छ।

 एक आपसमा लडेर मर्छन्

आचार्यका अनुसार कालिजमा कुखुराहरूमा जस्तो रोग नदेखिने भएयता पनि यी एक आपसमा लडेर मर्ने गर्दछन्। एक आपसमा ठुङा ठुङ गरेपछि मार्नको लागि २ मिनेट लगाउँदैनन्। उनले  खोरमा रातो कपडा लगाएर हामी पस्दा पनि ठूला कालिजहरू आक्रमण गर्ने गरेको समेत बताए। कालिज धेरै आक्रामक हुने  भएकाले पोथीले भालेलाई पनि आक्रमण गर्ने गरेको उनको भनाइ छ।

 उनका अनुसार एक महिनाका बच्चालाई  ३ पटक रानीखेत र कम्बारो भन्ने भ्याक्सिन दिइन्छ। रोग नदेखिने भएयता पनि लाखौँको लगानी गरेर पालेका कालिजहरूलाई सुरक्षित राख्नको लागि भ्याक्सिन दिने गरेको उनको भनाइ छ। उनले सुरूमा यो व्यवसाय गर्दा देखि अहिलेसम्म करिब ३० लाख लगानी लागेको समेत बताए। उनका अनुसार पहिलो लटका कालिजबाट राम्रो आम्दानी भएको थियो।

 व्यवसायबाट निकै आनन्द मिलेको छ

उनले ३३ वर्षसम्म जागिर गरेको भन्दै व्यावसायिक रुपमा थालेको कालिज पालनबाट निकै आनन्द मिलेको बताए।  उनले भने ,‘मेरो जागिर स्थानीय तह तिरको थियो।  नेताहरूको दबाब र समय पनि त्यस्तै थियो। त्यो भएर अवकाश हुन मन लाग्यो। अहिले यो पेसाबाट नै आनन्दित भएको छु। रमाइलोसँग कालिजसँग खेलेर दिन बितिरहेको छ। ’ उनले बजार क्षेत्रमा कसैले जिउँदो वा मासु मागेमा त्यही मूल्यमा घरसम्म लगेर दिने गरेका छन्।

कर्ण बहादुर गड्यौला पालनमा रमाउँदै

यस्तै  तुलसीपुर ३ भट्टेका ५२ वर्षीय कर्णबहादुर वलीले पनि लामो समय सरकारी जागिरमा समय बिताए। उनी एक वर्षअघि सेवा निवृत्त भएका हुन्।  त्यसपछि  उनले  २०७९ साल  जेठ महिनादेखि थोरै गड्यौला ल्याएर यो पेशा सुरू  गरे।  त्यसबाट राम्रो हुने देखिएपछि गत पुस महिनादेखि व्यवसायिक रुपमा पाल्न थालेको उनको भनाइ छ।

 

 उनले सुरूमा चखौराबाट एक केजी गँड्यौला ल्याएर पाल्न सुरू गरेको थिए। त्यसपछि पुसको महिनामा कपिलवस्तुबाट एक क्युन्टल गँड्यौला ल्याएर व्यावसायिक रुपमा पाल्न सुरू गरेको उनले बताए। उनका अनुसार प्रतिकिलो १२ सयका दरले गँड्यौला किनेर ल्याएका थिए। अहिले विभिन्न ठाउँबाट आफू कहाँ गँड्यौला लिन आउने गरेको भन्दै पछिल्लो समय यसको माग बढ्दै गएको समेत उनले बताए।

उनका अनुसार अहिलेसम्म करिब २ लाख जतिका गँड्यौला बिक्री भएका छन्। यस्तै आफू यस वर्ष करिब २० / २५ लाखसम्मका गँड्यौला बेच्ने लक्ष्य लिएको समेत उनले बताए। पछिल्लो समय आफ्नो गँड्यौला पालन व्यवसायको तुलसीपुर कृषि शाखा, कृषि ज्ञान केन्द्र लगायतले राम्रो प्रचार प्रसार गरेका कारण पनि गँड्यौला किन्न आउनेहरू संख्या बढि रहेको उनको भनाइ छ।

उनका अनुसार गँड्यौला शुद्ध अर्गानिक खेती गर्नेले गँड्यौला पालेर भर्मी कम्पोस्ट बनाउन सकिन्छ।  गँड्यौलाबाट तयार भएको मलमा तिरुवालाई आवश्यक  पर्ने १६ प्रकारका सुष्म जीवाणु पर्वहरू पाइने समेत उनले बताए।

 उनले भने,‘ यो मल खेतीपाती गर्नको लागि अत्यन्त प्रभावकारी हुन्छ। घरमा २ वटा भैँसी पाल्ने किसानहरूले गँड्यौला पालेर त्यो मललाई भर्मी कम्पोस्ट बनाउन सकेमा रासायनिक मलको आश्रयको पर्दैन। मैले यो व्यवसाय गरेसँग रासायनिक मल किन्न छाडेँ।’  उनले अहिले मल प्रतिकिलो ३५ रुपैयाँमा र गँड्यौला भने प्रतिकिलो  १२०० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। उनीसँग अहिले करिब १८ लाख रुपैयाँ बराबरको गँड्यौला बिक्रीका लागि तयार अवस्थामा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.