|

काठमाडौं : हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज मध्य रातमा निधन भयो। मंगलबार राति १ बजे हृदयघात भएपछि उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

त्रिवि शिक्षण अस्पताल पुर्‍याइएलगत्तै नेम्वाङलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

उनको मृत्युको घोषणा गरेको त्रिवि शिक्षण अस्पतालले आधिकारिक रूपमा हालसम्म मृत्युको कारणबारे केही भनेको छैन। यद्यपि हृदयघातका कारण  उनको मृत्यु भएको बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार भने उनी केही दिनअघि सार्वजनिक कार्यक्रमका लागि कोशी प्रदेश पुगेका थिए। त्यहाँबाट फर्किएपछि उनमा ज्वरो आएको थियो जसले गर्दा उनी घरमै चिकित्सकको निगरानीमा रहेका थिए।

मन्त्री किराँतीका अनुसार गत राति एक बजे एक्कासी शौचालयमा ढलेका नेम्वाङलाई परिवारका सदस्यले त्रिवि शिक्षण अस्पताल पुर्‍याएका थिए तर अस्पताल पुर्‍याइएको केही समयमै उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अरुण सायमीका अनुसार नेम्बाङ करिब ३ दशकदेखि मुटुको चाल गडबडी हुने समस्याबाट पीडित थिए। जसले गर्दा झन्डै तीन दशकदेखि मुटुको चाल गडबडी हुने समस्याको नियमित औषधि खाइरहेका थिए।

‘३० वर्षदेखि नै उहाँलाई मुटुको चाल गडबडी हुने समस्या थियो। उहाँ कानुनमन्त्री भएको समयमा मैले नै भारत लगेर उपचार गराएको थिएँ। त्यसयता उहाँ निमियमित मुटुको चाल सम्बन्धी औषधि सेवन गरिरहनु भएको थियो।  पछिल्लो समय गत वर्ष मात्रै उहाँको मैले मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफ गरेर मुटुको परीक्षण गरेको थिएँ‚ सबै ठिक थियो’‚ डा. सायमीले भने।

'सुगर, प्रेसर र उच्च कोलेस्टोरोल भएकाहरुलाई हृदयघातको उच्च जोखिम मानिने भए पनि हृदयघात जुनसुकै बेला स्वस्थ मानिसलाई पनि हुनसक्छ तर मुख्य कुरा हृदयघात हुनेबित्तिकै एक तिहाइ बिरामी समयमै अस्पताल पुग्दैनन्। सुवास नेम्वाङको सम्बन्धमा पनि त्यही भएको देखिन्छ’‚ डा. सायमीले भने।

कुनै पनि रोगको लक्षण नदेखिएका बेला पनि कहिलेकाहीँ मुटुको चाल अचानक बन्द भई आकस्मिक हृदयघात हुने सम्भावना हुन्छ। उच्च रक्तचाप, मधुमेह र कोलेस्टोरोलको समस्या भएकालाई उच्च जोखिम समूहमा राखिन्छ।

हृदयघात हुने बेला छाती दुख्ने, जीउ भारी हुने जस्ता लक्षण देखिन्छ। आकस्मिक हृदयघात हुनेलाई त्यस्तो केही लक्षण नदेखिईकन अचानक मुटुको चालमा तीव्र गडबड मुटुको चाल बन्द भएर (सडेन डेथ) मृत्यु हुन सक्ने डा. सायमीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.