|
बेङलोरमा अलपत्र देवकी सुनार।

जुम्ला : जिल्लाको गुठिचौरका एक युवकले श्रीमतीलाई भारतमा लगी अलपत्र पारेका छन्। गुठिचौर गाउँपालिका–३ गज्याङकोटका बागबहादुर कामीले पत्नी देवकी सुनारलाई काम गर्न भन्दै भारतको बेङलोर लगी अलपत्र पारेका हुन्।

देवकी सुनारकी आमा नीली सुनारले आफ्नी छोरीलाई माया गरेको नाटक गरेर बागबहादुरले भारतमा अलपत्र पारेको बताइन्। नीलीले छोरीलाई बेङलोरमा छोडेर आफू र बच्चा लिएर भागेको बताइन्। उनी अहिले छोरीको उद्धार गरिदिन भन्दै सरोकारवाला निकायकहाँ धाइरहेकी छन्।

उनले जिल्ला प्रहरी कार्यालयमा समेत खोज तलासीका लागि निवेदन दिइएको बताइन्। उनले भनिन्, ‘बागबहादुरले पटक पटक छोरीलाई दुःख दिए। भारतमा सँगै काम गर्ने र कमाउने भन्दै छोरी र नातिलाई भारत लगेका थिए। अहिले अलपत्र पारेर भागेछन्।’

अहिले साथमा रहेको ३ वर्षको छोरा पनि लिएर श्रीमान् बागबहादुर भागेका हुन्।

देवकीले भारतीय यूट्युब च्यानलमा आफूलाई अलपत्र पारेको बताएका भिडियो सामाजिक सञ्जालमा भाइरल छ। देवकीले त्यो भिडियोमा श्रीमान् बागबहादुर कामीले तीन वर्षको छोरा लिएर कोही नभएको ठाउँमा अलपत्र पारेकाले उद्धारका लागि हारगुहार गरेकी छन्।

हिन्दी भाषा समेत नजान्ने देवकी अहिले बेङलोरमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि उनका माइतीको परिवारमा तनाव भएको छ। देवकीको सम्पर्क नहुँदा हैरान भएको परिवारले जनाएको छ।

देवकी सुनारको माइती चन्दननाथ नगरपालिका–४ सिंगाचौर हो।

बागबहादुरका नाममा जिल्ला अदालत जुम्लामा बहुविवाहको मुद्दा पनि छ। बागबहादुरले अर्की केटी भगाएको थाहा पाएपछि देवकीले बहुविवाहको मुद्दा हालेकी थिइन्। प्रहरीले बागबहादुरलाई पक्राउ गरी अनुसन्धान टुंग्याई अदालतमा बुझाएको थियो।

बागबहादुर अर्की केटीसँग बिहे नगरेको भन्दै जिल्ला अदालत जुम्लामा धरौटीमा छुटेका थिए। केही समयपछि उनले अब आफू गलत कामबाट सुधारिएको भन्दै देवकीलाई फकाएर भारत लगेर अलपत्र पारेका हुन्।

आमा, दिदी र परिवार उद्धार गरिदिन भन्दै पत्रकार महासंघमा दैनिक धाइरहेका छन्। साथै देवकीको उद्धारका लागि सामाजिक क्षेत्रमा काम गर्ने नेपाल संयोजककी इण्डियालाई समेत निवेदन समेत दिइएको छ।

जुम्लामा घरेलु हिंसाबाट प्रभावित र ग्रसित हुँदाहुँदै पनि धेरै महिलाले उजुरी गर्ने सामर्थ्य राख्दैनन्। घरेलु हिंसाबाट पीडित हुने महिलाको संख्या बढ्दो छ। यसमा पनि आर्थिक अवस्था कमजोर भएका महिला बढी पीडित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.