|

भोजपुर : नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन्। सेनाले विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसँगै स्थानीय नागरिक लाभान्वित भएका हुन्।

सेनाले सञ्चालन गरेको शिविरमा स्वास्थ्य उपचार गराउन पाउँदा स्थानीय खुसी भएका छन्। सामान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भोग्दै आएका उनीहरु सेनाको पहलमा सेवा लिन पाउँदा सहज भएको स्थानीय भूतपूर्व सैनिक ७६ वर्षीय इन्द्रबहादुर कार्कीले बताए।

विभिन्न समयमा सञ्चालन हुने घुम्ती शिविरले दूरदराजका स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने कार्कीको भनाइ छ। ‘शिविरमा आएर सेवा लिन पाउँदा धेरै खुुसी लाग्यो‚’ उनले भने, ‘यही सेवा लिन बाहिरका अस्पताल जाँदा हजारौँ खर्च हुन्छ। यहाँ नै राम्रो उपचारसँगै निःशुल्क औषधि पाएँ। यस्ता खालको शिविर समय समयमा सञ्चालन भए हामीलाई साह्रै सहज हुने थियो।’

भूतपूर्व, बहालवाला र सैनिकका आश्रित परिवारलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो। सेनाले सञ्चालन गरेको शिविरले आश्रित परिवारले समेत सेवा लिन पाएको भूतपूर्व सैनिक संघ भोजपुरका अध्यक्ष पहलमान तामाङले बताए। लामो समयसम्म देशको सेवा गरेर बृद्ध भएको अवस्थामा सेनाको तर्फबाट यस्ता सेवामूलक काम हुँदा आफूलाई गौरव लागेको उनको भनाइ छ।

‘लामो समयसम्म सेनामा जागिर खाएर देशको सेवा गरियो‚’ उनले भने‚ ‘अहिले अवस्था वृद्ध छ। यो अवस्थामा हाम्रो सम्मानस्वरुप निःशुल्क सेवा पाउँदा खुसी लागेको छ। यस्ता जनमुखी कार्यक्रमले सैनिक परिवारलाईसमेत लाभ पुगेको छ।’

नेपाली सेनाको नं २ फिल्ड एम्बुलेन्स गुल्मको आयोजना र नयाँ श्रीनाथ गण भोजपुरको समन्वयमा ब्यारेकमा शिविर सञ्चालन गरिएको हो। शिविरबाट बहालवाला सैनिक ७७, भूतपूर्व सैनिक २० र सैनिकका आश्रित परिवारका ३९ जना गरी १३६ जनाले निःशुल्क सेवा लिएको गणले जनाएको छ।

विभिन्न रोग लागेर थलिएका भूतपूर्व सैनिक, बहालवाला सैनिक तथा उनीहरुका आश्रित परिवारलाई लक्षित गरेर एकदिने शिविर सञ्चालन गरिएको नयाँ श्रीनाथ गणका प्रमुख फणिन्द्र थापाले जानकारी दिए। प्रधान सेनापति प्रशुराम शर्माको निर्देशनमा शिविर आयोजना गरिएको  प्रमुख थापाको भनाइ छ।

‘भौगोलिक विकटतासँगै आर्थिक अवस्थाका कारण समस्यामा रहेका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरेका हौँ‚’ प्रमुख थापाले भने, ‘विशेषज्ञ डाक्टरसहितको शिविरबाट निःशुल्क स्वास्थ्य जाँचसँगै औषधि पनि वितरण गरिएको छ। सर्वसाधारणले सहज रुपमा सेवा पाउन भन्नको लागि प्रधान सेनापतिको निर्देशनमा शिविर सञ्चालन गरेका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.