|

काठमाडौं : ​सरकारले भोलि (बुधबार) देखि सातै प्रदेशका संघीय अस्पतालमा १४ वर्ष पुगेर १५ ननाघेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप (एचपीभी) खोप लगाउँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाए अनुसार यस पटक २० हजार भाइल खोप करिब साढे ९ हजार किशोरीलाई लगाउन लागिएको हो। भोलि राजधानीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट यो खोपको शुभारम्भ हुँदै छ।

एचपीभीको २०० भन्दा बढी प्रजाति हुन्छन् र यसमध्ये कम्तिमा १२ प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ।

हाल नेपालमा लगाइन लागिएको ‘सिकोलिन’ ब्रान्डको एचपीभी खोप एचपीभीको प्रजाति १६ र १८ विरूद्ध ९७ प्रतिशतसम्म प्रभावकारी भएको अध्ययनले देखाएको हुँदा खोप सुरक्षित रहेको बताउँछन् भेरी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी।

उनका अनुसार १३ देखि १५ वर्षको उमेरमा किशोरीहरुलाई एचपीभी खोप लगाउन सके एचपीभी भाइरसको कारण हुने पाठेघरको मुखको क्यान्सरबाट ९० प्रतिशतसम्म बच्न सकिन्छ।

किन  १३ देखि १५ वर्षको उमेर समूहका किशोरीलाई नै यो खोप लगाउने भन्ने प्रश्नमा डा सुवेदीले भने‚ ‘१३ वर्षभन्दा कम उमेरमा लगाउँदा सक्रिय यौन जीवनमा पुग्ने बेलासम्म खोपको प्रभावकारिता कम हुने सम्भावना हुन्छ त्यसैले १३ देखि १५ वर्षसम्म किशोरीहरु यौन जीवनमा प्रवेश गर्दैन भन्ने विश्वासको साथ यो उमेरमा एचपीभी खोप लगाइने हो १५ वर्षमा खोप लगाउँदा २० वर्षमा यौन जीवनमा प्रवेश गरे पनि  खोपको प्रभावले एचपीभी भाइरसले असर गर्दैन, हाम्रो थोरै मात्रामा खोप भएको भएर होला १४ देखि १५ वर्षको उमेर समूहलाई लगाउन लागिएको तर यो खोप १३ वर्षदेखि १५ वर्षको किशोरीहरुमा लगाउन सकियो भने एकदमै प्रभावकारी हुन्छ।‘

कतिपय अभिभावकले आफ्ना साना छोरीहरुलाई यो खोप लगाउन डराएको पाइए पनि एचपीभी खोप ढुक्कसँग आफ्ना किशोरी छोरीहरुलाई लगाए हुने डा सुवेदीले बताए।

‘एचपीभी खोप यस्तो हो जसले भविष्यमा लाग्न सक्ने रोगबाट समयमा नै बचाउँछ तर धेरै अभिभावकले लगाउन डराउनु हुन्छ एचपीभी खोपको अन्य खोप जस्तो साइटइफेक्टहरु छैन त्यसैले ढुक्कसँग लाउन सकिन्छ‚’ डा सुवेदीले भने। तर खोप भने पूर्ण मात्रामा लगाउनुपर्ने डा सुवेदीले बताए।

एचपीभी खोपले भविष्यमा देखिन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बेलैमा बच्न सकिने हुँदा आफ्ना किशोरी छोरीहरुलाई ढुक्कसँग लगाउन सकिने बताउँछन् अर्का वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा जागेश्वर गौतम।

एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने तर पूर्ण मात्रा नलगाए खोपको प्रभावकारिता कम हुने समेत प्राडा गौतमले बताए।

उनले भने‚ ‘१३ देखि १५ वर्षका किशोरीमा पूर्ण डोज एचपीभी खोप लगाउन सकियो भने एकदमै प्रभावकारी हुन्छ यदि एक मात्रा मात्रै लगाइयो भने खासै प्रभावकारी मानिँदैन।’

पछिल्लो समय १५ वर्षभन्दा माथिका महिलाले पनि एचपीभी डीएनए परीक्षण गरेर यो खोप लगाइएको पाइए पनि यस्तो अवस्थामा खोपको प्रभावकारिता एकदमै न्यून हुने समेत डा गौतमले बताए।

‘सक्रिय यौन जीवनमा प्रवेश गर्नु भएका महिलाहरुले पनि एचपीभी डीएनए परीक्षण गरेर यो खोप लगाएको पाइएको छ तर एचपीभी भाइरस शरीरमा प्रवेश गरिसकेको अवस्थामा यो खोप लगाएर केही फाइदा हुँदैन बरु हरेक वर्ष पाठेघरको मुखको परीक्षण गरे बेस हुन्छ।’

साधारणतया एचपीभी लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने जस्ता अन्य खोपको जस्तै साधारण साइटइफेक्ट हुने भए पनि ठूलो खालको साइटइफेक्ट नरहेको डा गौतमले बताए।

यसपटक सरकारले १९ हजार ९९८ खोप वितरण गर्न लागेको छ। खोप शाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा दोस्रो चरणको खोप सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.