|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१५ कि रीमा नेपालीले कक्षा १२ सम्म बाल मितेरी मावि भोजपुरमा पढिन्। 

उनलाई मनैदेखि पढ्ने चाहना धेरै थियो। तर घरको आर्थिक अवस्थाका कारण उनले आफ्नो चाहना २०७५ सालमा १२ कक्षाको परीक्षा दिएपछि त्यसै दबाइन्। त्यसपछि उनी घरमा त्यसै बसेर समय बिताइरहेकी थिइन्। 

उनले केही दिनअगाडि मात्र तुलसीपुरस्थित तुलसीपुर माध्यमिक विद्यालय सेन्टरमा निःशुल्क २४ महिने आईटी प्रि-डिप्लोमा पढ्न अवसर आएको भन्ने थाहा पाएपछि उनी विद्यालयमा भर्ना हुन आइन्।

उनले भनिन्, ‘निःशुल्क पढ्न पाइन्छ भनेर वडा कार्यालयबाट थाहा पाएँ। आर्थिक समस्याका कारण बीचमै रोकिएको पढाइ फेरि शुरु गर्न अवसर मिलेको छ। आज धेरै खुशी भएकी छु। अहिले मेरा लागि अवसर आएको रहेछ। प्राविधिक शिक्षा पढ्न सबै निःशुल्क रहेछ।’ 

एकातिर भर्ना शुल्क पनि नलाग्ने अर्कोतिर पोशाक र दैनिक खाजाको लागि पनि पैसा पाइने भएपछि धेरै खुशी लागेको उनको भनाइ छ।

उनले भनिन्, ‘दैनिक खाजाको लागि एक सय गरी २४ महिनाको ५२ हजार २ सय र पोशाकको लागि ५ हजार पाइँदोरहेछ। हामी विद्यार्थीहरूको लागि पनि २ लाख बराबरको दुर्घटना बिमासमेत रहेको छ। त्यसमाथि निःशुल्क र बजारमा बिक्ने शिक्षा पनि पाइन्छ। आर्थिक अवस्था कमजोर भएर मैले जस्तै बीचमै पढाइ छाड्न बाध्य भएकालाई एउटा अवसर पनि हो।’

तुलसीपुर-१९ बिजौरीकी कृष्णी रोकाले पनि कक्षा १२ सम्म तुलसीपुरमा रहेको ग्रेड अरनिको विद्यालयमा पढिन्। माथि पढ्न उनलाई पनि आर्थिक कारणले नै रोक्यो। उनी गत वर्षदेखि यस विद्यालयमा आईटी प्रि-डिप्लोमा पढ्दै आएकी छन्।

उनलाई पनि कक्षा १२ सम्म पढ्दा अब जीवनमा विद्यालय जान नपाइने भयो भनेर चिन्ता लागेको थियो तर गत वर्षदेखि विद्यालयमा आईटी प्रि-डिप्लोमा तथा इलेक्ट्रिकल पढाइ भएपछि उनीमात्र नभइ धेरै विद्यार्थीहरूले अध्ययनको अवसर पाएका छन्। 

उनले भनिन्, ‘कक्षा १२ पास गरेपछि ब्याचलर पढ्न आर्थिक अभाव भयो। पढ्ने रहर हुँदा पनि पढ्न पाइनँ। तर गत वर्ष यस विद्यालयमा निःशुल्क आईटी प्रि-डिप्लोमा पढाइ हुन्छ भन्ने थाहा पाएँ र भर्ना भएँ। अहिले यसरी पढ्न पाउँदा धेरै खुशी लागेको छ।’ 

उनले अन्य विषयहरू लिएर पढ्न आर्थिक चाहिने भए पनि यो आईटी पढ्न पाउँदा अब कुनै पनि ठाउँमा काम गर्न मौका मिल्ने समेत बताइन्। 

‘अहिलेको समय नै प्रविधिको नै छ। यहाँ २ वर्षसम्म राम्रोसँग पढेपछि काम नपाइएला भन्ने चिन्ता हुँदैन। सबै ठाउँमा आईटीको नै काम हुन्छ। जसले गर्दा पनि निःशुल्क पढ्न पाउँदा धेरै  खुशी लागेको छ,’ उनले भनिन्।

कालिकोट घर भएकी जोतिषा बमले पनि  यसै विद्यालयमा इलेक्ट्रोनिक प्रि-डिप्लोमा पढ्न भर्ना हुन आएको बताइन्। उनले पनि विद्यालयमा निःशुल्क पढ्न पाइने थाहा पाएपछि भर्ना हुन आएको बताइन्। 

अन्य विद्यालयमा यो सुविधा नभएको र पैसा लाग्ने भएकाले यहाँ निः शुल्क पढ्न पाइने भएकाले आएको उनको भनाइ छ।

उनले भनिन्, ‘यही पढाइ निजी विद्यालयहरूमा पढ्नको लागि लाखभन्दा बढी खर्च लाग्छ तर यहाँ निः शुल्क पढ्न मात्र नभई ड्रेस र नास्ताको पनि पैसा पाइने भएकाले म जस्तालाई धेरै राहत मिल्नेछ। भर्ना हुनको लागि शुरुमा परीक्षण दिएर नाम निकाल्नु पर्दोरहेछ।’

स्विस सहयोगमा २४ महिने प्रि-डिप्लोमा कक्षा

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार मावि तुलसीपुर सेन्टरमा स्विस सरकारको सहयोगमा इन्स्योर परियोजनाअन्तर्गत २४ महिने प्रि-डिप्लोमा औद्योगिक प्रशिक्षण तालिम गत वर्षदेखि शुरु भएको हो। 

यो पूर्ण निःशुल्क शैक्षिक कार्यक्रम भएको र यो कार्यक्रम इलेक्ट्रिकल र आईटी विषयमा गरी आर्थिक वर्ष ०८०/८१ मा  ८० जना विद्यार्थीहरूको कोटा रहेको समेत उनले बताए।  

विद्यालयमा हुने अन्य टेक्निकल पढाइहरूमा शुल्क लाग्नेसमेत उनले बताए। गत वर्ष ५० वटा कोटा पाएकोमा यस आर्थिक वर्षमा दुई विषयका लागि ८० वटा कोटा पाएको उनले बताए। सरकारी विद्यालयमध्ये जिल्लामै पहिलो पटक यो पढाइ भइरहेको उनको भनाइ छ। 

देशभरिमै मेगा विद्यालयमा पर्न सफल भएकाले प्राविधिक विषयहरु आईटी‚ इलेक्ट्रिकल विषय पढ्ने विद्यार्थीले पैसा पनि पाउने भएका हुन्। एसईईमा न्यूनतम ‘ई’ ग्रेड ल्याएका विद्यार्थी भर्ना हुन सक्ने उनको भनाइ छ।

विद्यार्थीहरूको चाप दिन प्रतिदिन बढ्दै गइरहेको छ। अहिले विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म २५ सय विद्यार्थीहरू अध्ययनरत रहेको र नेपाली र अंग्रेजी माध्यमबाट पढाइ भइरहेको उनको भनाइ छ।

विद्यालयमा कक्षा १० पछि ५ वटा टेक्निकल विषयमा पढाइ भइरहेको र कक्षा ११ र १२ मा म्यानेजमेन्ट विषयमा पढाइ हुने उनले बताए। कक्षा ९ देखि १२  कक्षासम्म टेक्निकलअन्तर्गत इलेक्ट्रिकल इन्जिनियर विषयमा पढाइ भइरहेको पनि उनले बताए।

सिटिइभिटीको सम्बन्धनमा ३ वर्षे डिप्लोमा सूचना प्रविधि र ३ वर्षे सर्भे इन्जिनियरिङ पढाइ भइरहेको प्रअ पौडेलले बताए। उनले विद्यालयले पढाइ मात्र नभइ विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि गराउँदै आएको बताए। अहिले विद्यालयमा निःशुल्क संगीत कक्षादेखि विभिन्न खेलका कक्षाहरू पनि हुँदै आएको उनको भनाइ छ। 

पछिल्लो समय विद्यालयमा राम्रो पढाइ तथा सेवा सुविधाहरू बढाउँदै गएपछि विद्यालयले अभिभावकको मन जित्दै आएको छ। 

यस शैक्षिक सत्रमा करिब ११ सय विद्यार्थी भर्ना गर्न नसकेको पनि विद्यालयले जनाएको छ। पछिल्लो समय सरकारी विद्यालयभन्दा निजी विद्यालयबाट यस विद्यालयमा भर्ना हुन आउनेको संख्या धेरै रहेको प्रअ पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.