ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिक स्कूल र ज्ञानोदय स्कूल विजयी भएका छन्।
कीर्तिपुरस्थित आयोजक पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न सिनियर ब्वाइजको खेलमा रेडियन्टले मंगल स्कूललाई ४०–१७ को स्कोरमा पराजित गरेको छ। सो खेलमा रेडियन्टका रोहितले सर्वाधिक १४ स्कोर गरे।
यस्तै सिनियर ब्वाइजमै ज्ञानोदयले स्वर्णिम स्कूललाई २७–२३ को स्कोरले पाखा लगाएको छ। ज्ञानोदयका रिजनले सर्वाधिक ११ स्कोर गरे। सिनियर ब्वाइजमै आईएमएस स्कूलले एभिएम स्कूललाई ४६–२८ स्कोरले हरायो। आईएमएसका आरोनले सर्वाधिक १३ स्कोर गरे।
सिनियर ब्वाइजकै अर्को खेलमा जनसेवा स्कूलले निसर्ग माविलाई २४–१४ को स्कोरमा हराएको छ। ९ स्कोर गरेका जनसेवाका धीरेन सर्वाधिक स्कोरकर्ता भए।
यस्तै अर्को खेलमा राराहिलले एलआरआई ३८–२७ को स्कोरमा हराएको छ। १२ स्कोर गरेका राराहिलका निसन सर्वाधिक स्कोरर बने। जुनियर ब्वाइजतर्फ निसर्ग स्कूल राराहिलसँग पराजित भएको छ। खेलमा राराहिलले १६ स्कोर गर्दा निसर्गले भने ६ मात्र स्कोर गर्न सक्यो।
आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगितामा २५ वटा विद्यालय सहभागी छन्। प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी‚ मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।
जुनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिक र आयोजक पुष्पसदन स्कूलबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। यो खेल पर्सि बिहीबार हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।