|

काठमाडौं : यो वर्ष नेपालमा २ हजारभन्दा बढीमा स्क्रब टाइफसका बिरामी भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलीजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार यो वर्ष देशभर दुई हजार २८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो।

गत वर्ष नेपालमा २ हजारभन्दा कममा स्क्रब टाइफस पुष्टि भएको थियो। इडिसिडीका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार गत वर्षभन्दा यो वर्ष स्क्रब टाइफसका बिरामी अलि बढी पुष्टि भएको बताए।

‘गत वर्ष यो मौसममा एकदमै कम संक्रमित भेटिएका थिए तर यो वर्ष हालसम्म २ हजारभन्दा बढी संक्रमित भेटिइसकेका छन्। अझै कात्तिकसम्म स्क्रब टाइफसका बिरामी भेटिन्छन्’‚ डा. दाहालले भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७५ मा चारजनाको मृत्यु भएको थियो।​ सन् २०७६ स्क्रब टाइफसका कारण तीनजनाको मृत्यु भएको थियो। २०७८ सालमा पनि स्क्रब टाइफस पुष्टि भएका १६ जनाको मृत्यु भएको थियो।

यो वर्ष चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ। ती कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको बताइएको छ। चितवनमा चालू आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। शहरी क्षेत्रभन्दा ग्रामीण र पहाडी जिल्लामा स्क्रब टाइफसका बिरामी बढी भेटिने डा. दाहालले बताए। उनले भने‚ ‘धेरैजसो खेतबारीमा काम गर्नेहरूमा यो संक्रमण देखिन्छ। चितवन, धादिङ, म्याग्दी, लमजुङ, मकवानपुर तथा संखुवासभामा धेरै बिरामी भेटिएका छन्।‘

यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि स्क्रब टाइपसका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालमा प्रायः धादिङ काभ्रेतिरका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेले भने‚ ‘स्क्रब टाइफसका मिल्दाजुल्दा लक्षण लिएर आउनुहुन्छ। प्रायः काठमाडौं आसपासका जिल्ला र यहीँका पनि ग्रामीण भेगबाट यस्ता बिरामी आउनुहुन्छ।‘

स्क्रब टाइपसको लक्षण प्रायः भाइरल ज्वरोसँग मिल्दाजुल्दो हुने हुँदा सुरुमा मानिसले भाइरल ज्वरोको उपचार गर्नतिर लाग्छन्। यति गर्दा ठिक नभएपछि अस्पताल पुग्ने हुँदा यो संक्रमण ढिला पुष्टि हुने डा. दाहालले बताए।

‘स्क्रब टाइफसको लक्षण प्रायः भाइरल ज्वरोको जस्तै हुन्छ‚ जसले गर्दा बिरामी झुक्किनु हुन्छ तर लामो समयसम्म ठिक नभएपछि चिकित्सककोमा पुगेर परीक्षण गर्दा बल्ल संक्रमण पुष्टि हुन्छ’‚ उनले भने‚ ‘मुख्य कुरा के हो भने स्क्रब टाइफस समयमै पत्ता लगाएर उपचार गरियो भने छिटो ठिक हुन्छ। यसको उपचारमा एन्टिबायोटिक्सले प्रभाव देखाउँछ।’

के हो स्क्रब टाइफस ?

डा. दाहालका अनुसार सङ्क्रमित सूक्ष्म कीट माइटको टोकाइबाट जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ।

प्रायः यस्ता कीरा खेतबारी,  झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा प्रजातिका जीवाणु भेटिने गर्छ। जसले गर्दा प्रायः खेतबारीमा काम गर्ने किसानमा स्क्रब टाइफस भएको पाइन्छ। सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको कानमा बस्ने गर्छ।

‘बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा रिकेटसिया सुसुगामुसी’जीवाणु भेटिने र यस्ता ठाउँमा काम गर्ने व्यक्तिलाई टोकेपछि यो संक्रमण हुने गर्छ’‚ डा. दाहालले भने।

यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमण भएपछि घाँटी वरिपरिका ग्रन्थि सुन्निएर गिर्खा आउँछन्। यस्ता लक्षण देखा परेको पाँचौं दिनदेखि सातौं दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिन्छ। बिमिरा बिस्तारै पेट, हात, गोडा तथा अनुहारमा फैलन्छ।

समयमै यसको पहिचान गरेर उपचार नगरे शरीरका महत्त्वपूर्ण अंगमा असर गरेर मानिसको मृत्यु हुने गर्छ। विशेषगरी सास फेर्न गाह्रो हुने, मिर्गौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर बिरामीको मृत्यु हुन सक्छ। कसैमा माथिका लक्षण देखापरे तुरुन्तै उपचार गराइहाल्नु पर्छ।​​ विशेषगरी रगतमा एन्टिजेन जाँच गरेपछि यो रोग लागे‚ नलागेको पत्ता लगाउन सकिन्छ।

‘स्क्रब टाइफस यस्तो संक्रमण हो जुन पहिचान भएपछि चाँडै सन्चो हुन्छ किनभने यसको उपचारमा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ र यसले यो संक्रमणलाई छिटो र सजिलै ठिक गराउँछ’‚ डा. दाहालले भने।

यसरी बच्न सकिन्छ स्क्रब टाइफसबाट

मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो। संक्रमणको भएको आशंका लागेमा समयमै परीक्षण गराउनुपर्छ। यस्तै  खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ। खुला चौरमा सुत्नु हुँदैन स्क्रब टाइफस भए नभएको  पहिचान बिरामीमा देखिएको लक्षण, सूक्ष्म कीटले टोकेको चिनोबाट हुने गर्दछ।

​यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ। रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट गरेपछि यसको पहिचान हुने उनले बताए।

यस्तै खेतबारीमा काम गर्न जाँदा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म जुत्ता लगाउनु पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.