|

काठमाडौं: अब देखि बागमती प्रदेशका स्थायी बासिन्दाले मुटुरोग उपचारका लागि एक लाखभन्दा बढी रकम पाउने भएका छन्। 

आकास्किकरूपमा हुने हृदयघातको उपचारका लागि बागमती प्रदेशका नागरिकले मुटु रोगसम्बन्धी स्पेशल अस्पताल गंगालाल  हृदयरोग उपचार केन्द्र, मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, चितवनस्थित भरतपुर अस्पतालसहित बागमती प्रदेशका १३ वटा संघीय तथा प्रादेशिक अस्पतालहरूमा एक लाख १० हजार रूपैयाँ बराबरको छुट पाउने भएका हुन्। 

यसका लागि बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयले काठमाडौंमा बिहिवार एक कार्यक्रम गरी गंगालाल  हृदयरोग उपचार केन्द्र, मनमोहन कार्डियो तथा वीर अस्पतालसँग सम्झौतासमेत गरेको छ। 

यस्तै अबदेखि बागमती प्रदेशका स्थायी नागरिकले रगतसम्बन्धी सेवा पनि नि:शुल्क पाउने भएका छन्। जसअनुसार आकस्मिक उपचारका लागि चाहिने रगत, ब्लड ब्याग तथा रक्त परीक्षण पनि नि:शुल्क पाउने भएका हुन्।

'विशेष गरी बागमती प्रदेशमा बस्ने विपन्नहरूले यो सेवा नि:शुल्क पाउने छन्', बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भने। बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार  हृदयघातका लागि मात्रै नभएर क्यान्सरका विरामीलाई पनि ५० हजार रूपैयाँ उपलब्ध गराइँदै आएको बताए।

यस्तै यस प्रदेशका ६५ वर्षभन्दा माथि उमेर पुगेका नागरिकहरूले पनि दन्तसम्बन्धी उपचार सेवा नि:शुल्क पाउने छन्।

'संघीय सरकारले क्यान्सर तथा कडा रोगका बिरामीलाई हाल एक लाख सहयोग गर्दै आएको छ। यसमा  विरामीलाई सहयोग होस् भनेर हामीले ५० हजार छुट्टै प्रदेश सरकारबाट दिँदै आएका छौँ तर हाम्रो प्रदेशका धेरै विरामीहरूलाई ५० हजार बागमती सरकारले दिन्छ भन्ने जानकारी नभएको पाइएको छ', बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीले भने। 

बागमती प्रदेशले स्वास्थ्य सेवातर्फ गरेको यो सुरूवात राम्रो भएको संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताए।

बिहिवार वीर अस्पतालमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको सम्झौता कार्यक्रममा मन्त्री बस्नेतले भने, 'जनताको स्वास्थ्य सेवाका लागि बागमती प्रदेशले गरेको सुरूवात धेरै राम्रो छ संघीय स्वास्थ्य मन्त्रालयले पनि यो कामका लागि सक्दो सहयोग गर्ने छ।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.