|

काठमाडौं : विभिन्न प्रकारका क्यान्सर लागेका बालबालिकालाई सरकारले नि:शुल्क दिने भनेको औषधि अब दुईतीन महिनामै नेपाल आउने भएको छ।

ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी)ले पाँच महिनाअघि विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा नेपालमा बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो।

बालरोग विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार हाल उक्त खोप सुरुमा कति ल्याउने, कहाँ राख्ने र कसरी वितरण गर्ने भन्ने तयारी भइरहेको छ।

‘यथाशक्य चाँडै औषधि ल्याएर विवरण गर्ने तयारी भइरहेको छ। अबको दुईतीन महिनासम्म ल्याउने गरी तयारी गरेका छौँ। यो वर्षभित्रै बिरामी बालबालिकालाई ् निःशुल्क वितरण भइसक्छ’‚ डा. पौडेलले भने।

बालबालिकामा हुने विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क वितरण लागिएको हो। नेपालसहित म‌ंगोलिया, उज्बेकिस्तान, इक्वेडर, जाम्बियासहित विश्वका ६ देशले पहिलो चरणमा औषधि पाउनेछन् तर विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाबाट नेपालले मात्रै यी औषधि पाउन लागेका हुन्।

३५ प्रकारका औषधिमध्ये कतिपय औषधि नेपालमा हालसम्म प्रयोगमा नल्याइएको हुँदा औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने तथा औषधिका लागि छुट्टै भण्डारण कक्ष निर्माण गर्नुपर्ने भएकाले केही महिनाभित्रै सबै तयारी पूरा गरेर निःशुल्क औषधि वितरण सुरु गरिने डा. पौडेलले बताए।

‘कतिपय औषधि नेपालमा हालसम्म प्रयोगमा नआएका खालका रहेका हुनाले हाल औषधि व्यवस्था विभागबाट अनुमति लिने काम भइरहेको छ भने औषधि राख्ने भण्डारण कक्षको निर्माण भइरहेको छ। यी सबै काम सकिएपछि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिइएपछि औषधि ल्याइनेछ’‚ डा. पौडेलले भने।

यी औषधि कसरी सहज वितरण गर्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयले गत जुन महिनामा बालबालिकाको क्यान्सरसम्बन्धी बृहत् कार्याशाला गोष्ठी आयोजना समेत गरिएको थियो।

युनिसेफमार्फत आउने उक्त औषधि सुरुमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गराइरहेका क्यान्सरका बिरामी बालबालिकालाई वितरण गर्ने तयारी मन्त्रालयले गरिरहेको छ।  

समयमै पहिचान गरेर उपचार गरेमा बालबालिका हुने रक्त क्यान्सर पूर्ण रूपमा सन्चो हुने भए पनि लामो समयसम्मको उपचार प्रक्रिया र आर्थिक भारका कारण नेपालमा धेरै अभिभावकले विरामी बालबालिकालाई पूर्ण उपचार गराउन सहज थिएन। यस्तो अवस्थामा निःशुल्क औषधि उपचार गर्न सके नेपालमा उपचार गराइरहेका क्यान्सरका विरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारको लक्ष्य सफल हुने डा. पौडेलले बताए।

‘समयमै पहिचान भएर पूर्ण उपचार गर्न सके धेरैजसो बालबालिकामा हुने क्यान्सर पूर्ण सन्चो हुन्छ तर आर्थिक भारका कारण धेरैले पूर्ण उपचार पाउँदैनन्। त्यसैले हामीले निःशुल्क औषधि वितरण गर्न सक्यौँ भने बालबालिकामा हुने क्यान्सर उपचारको क्षेत्रमा ठूलो सफलता हुन्थ्यो’‚ डा. पौडेलले भने।

नेपालमा वर्षेनि १ हजार ५०० भन्दा बढी बालबालिका विभिन्न खालका क्यान्सरबाट ग्रस्त हुने गरेका छन्। तीमध्ये धेरैजसोमा रक्त क्यान्सर (ल्युकेमिया)  हुने गरेको छ। सबै क्यान्सरमध्ये ४० देखि ४५ प्रतिशत ल्युकेमिया हुने गरेको पाइएको उनको भनाइ छ। बालबालिकामा प्रायः हुने रक्त क्यान्सर समयमै पहिचान गरेर पूर्ण उपचार गरेमा ८० प्रतिशत पूर्ण सन्चो हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.