|

काठमाडौँ : शिक्षक आन्दोलनको आज तेस्रो दिन। बुधबारदेखि माइतीघर मण्डलाबाट सुरु गरेको शिक्षक आन्दोलन अझै जारी छ। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनमा देशभरका एक लाखभन्दा बढी शिक्षक सहभागी छन्। जसभित्र फरक क्षमताका शिक्षकहरू पनि सहभागी छन्।

विभिन्न कठिनाइ भोगिरहे पनि उनीहरूले आवाज बुलन्द पार्दै आएका छन् । उनीहरू सक्षम शिक्षक सरह आन्दोलनमा होमिएका छन्। रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकास्थित नवदर्शन माविका स्थायी शिक्षक गोविन्दबहादुर बुढाथोकी तीन दिनदेखि आन्दोलनमै छन्। उनको दाहिने खुट्टा अप्रेसन गरेका कारण हिँडडुल गर्न असहज छ। 

उनको याे समस्या रहेको २० वर्ष भइसक्यो। तैपनि आफ्नो हकहितको सुनिश्चतताका लागि आन्दोलनमा होमिएको उनी बताउँछन्। उनी भन्छन्, ‘हामी शिक्षकहरूको हकअधिकार सुनिश्चित गर्ने सवालमा उपस्थित भएका छौँ, हामी शारीरिक अस्वस्थताका कारण भए पनि अपांग शिक्षकहरू काठमाडौं केन्द्रित भएका छौँ। विभिन्न समस्या हुँदाहुँदै पनि हामी यहाँ हकअधिकारका लड्न लागि आएका छौँ।’ 

उनले अधिकार प्राप्तिकै लागि सक्षम शिक्षक सरह आफू आन्दोलनमा उभिदै आएको सुनाए। ‘शिक्षक पेसा सम्मानित पेसा हो तर राज्यबाट हामी हेपिएका छौँ’, उनले थाहाखबरसँग गुनासो पोखे, ‘त्यसैले हामी अरू शिक्षक सरह आवाज बुलन्द पार्न उत्साहका साथ आन्दोलनमा सामेल भएका छौँ।’ 

राज्यले सम्पूर्ण शिक्षकमाथि भएको भेदभाव न्यूनीकरण गर्नुपर्ने र सबै माग सम्बोधन नगरुन्जेल सडक आन्दोलन कायम राख्ने उनको भनाइ छ।

‘आन्दोलन गरेको तीन दिन भइसक्यो, हाम्रो हालत खराब भइसक्यो र अझै मागका लागि राज्यले निश्चित टुंगो लगाएको छैन, तैपनि हामी लडिरहनेछौँ’, उनले भने। उनका अनुसार यहाँ बस्न समस्या थपिँदै गएका छन्। तैपनि राज्यले सम्बोधन नगरी त सुखै नहुने उनले बताए। 

‘अशक्त भए पनि जस्तोसुकै समस्याविरुद्ध लड्छु’

फरक क्षमताका अर्का शिक्षक हरिबहादुर नेपाली पनि हकअधिकार स्थापित गर्नकै लागि दोलखाबाट आन्दोलन गर्न यहाँ आएको बताउँछन्। ‘शारीरिक रूपमा अशक्त हुनुमा आफैमा दुःखद कुरा हो। याे कसैले चाहेर हुने होइन, यो हुँदाहुँदै पनि आफ्नो अधिकारका निम्ति जस्तोसुकै व्यक्तिगत समस्या भए पनि पर राखेर ती अधिकारहरू स्थापित गर्न म यहाँ आएकाे हुँ’, उनले भने।

उनी २०७६ सालमा स्थायी शिक्षक बने। उनले हाल दोलखा जिल्ला तामाकोशी गाउँपालिकाको जनता आधारभूत विद्यालयमा पढाउँदै आएका छन्। उनका अनुसार २०४५ सालमा रूखबाट लडेर उनको दाहिने खुट्टा भाँचियो। आन्दोलनभर धेरै दुःख भोग्य बाध्य भएको उनी बताउँछन्।

‘दुःख र समस्याको कुरै नगरौँ‚ घाम धुलोले बस्न सकिँदैन‚ खानेबस्ने ठेगान छैन, आन्दोलनमा सहभागी भएर हिँड्न पनि समस्या भइरहेको छ। तैपनि म पछि हट्दिनँ’, उनले भने। उनले अहिलेसम्म व्यक्तिगत खर्च गरेर बसिरहेको जानकारी दिए।

अझै आन्दोलन लम्बिए आर्थिक समस्या हुनसक्ने भन्दै सरकारले तत्काल शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने उनको माग छ। उनका अनुसार बौद्धमा आफन्तकोमा बस्दै आएका छन्। सवारीसाधन नभएकाले त्यहाँसम्म जान अनेकौँ समस्या भोगिरहेका छन्।

‘सबै शिक्षकलाई पेन्सन दिनुपर्ने, इसिडी शिक्षक, कार्यालय सहयोगीको समस्या लगायत थुप्रै १८ बुँदे माग रहेको छ’, उनले भने। आन्दोलनमा झापाबाट आएकी अर्का शिक्षिका चित्रा भट्टराईले पनि आन्दोलनमा सकी नसकी फरक क्षमताका शिक्षकहरू पनि आएको भन्दै सरकारले तत्काल माग पूरा गर्नुपर्ने बताइन्।

शिक्षकको माग सम्बोधन गर्ने पक्षमा सरकार छ :  शिक्षा मन्त्रालय

सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने पक्षमा रहेको जनाएको छ। आज पनि उक्त विषयमा शिक्षक महासंघ र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ। शिक्षामन्त्री अशोक राईका स्वकीय सचिव झिल खिम्बुले राईले वार्ता भइरहेको जानकारी दिँदै उनले आजै निष्कर्षमा पुग्ने गरी सरकार अगाडि बढेको जानकारी दिए।

संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध असोज ३ गतेदेखि देशभरका शिक्षकहरू आन्दोलित छन्। सामुदायिक विद्यालय नै बन्द गरेकाले अहिले विद्यालय ठप्प छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.