|

काठमाडौं : केही वर्ष अघिसम्म तराई क्षेत्रमा मात्रै देखिने डेंगु संक्रमण हाल उच्च हिमाली क्षेत्रमा देखिन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरण हेर्ने हो भने एक/दुई वर्ष अघिसम्म हरेक वर्षातमा शून्य डेंगु संक्रमण रहने डोल्पा, मुस्ताङजस्ता उच्च हिमाली क्षेत्रमा यो  वर्ष ११ जना संक्रमित रिपोर्ट भएकाे छ।

डेंगु मात्रै होइन पछिल्ला वर्षमा धेरै तापक्रम हुने तराई तथा अन्य केही पहाडी जिल्लामा मात्रै देखिने गरेको डेंगु, औलो तथा कालाजारजस्ता संक्रमणहरू उच्च पहाडी तथा हिमाली जिल्लामा  देखिन थालेको छ। यसले गर्दा तराई क्षेत्रमा मात्रै कालाजार डेंगु तथा मलेरिया जस्ता रोगको न्युनिकरणका लागि गरिने कार्यक्रम पहाडी र हिमाली क्षेत्रमा पनि गर्नु परेको छ।

नेपालमा डेंगु रोग सन् २००४ मा पहिलो पटक एक व्यक्तिलाई देखिएको र सन् २००६ बाट प्रकोपको रुप लिँदै गएको छ । गत वर्ष ५४ हजारभन्दा बढी मानिस संक्रमित थिए भने यो वर्ष हालसम्म  २८ हजार बढी संक्रमित भइसकेका छन् । बढ्ने क्रम जारी छ। यसको प्रमुख कारण पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्त नै रहेकाे विज्ञहरूले बताउँदै आएका छन्।

किट जन्य रोगहरू मात्रै होइन पछिल्लो समय नसर्ने रोगहरू पनि प्रकोप कै रुपमा देखिन थालेको छ, जसले गर्दा नसर्ने रोगका कारण हुने मृत्युदर पनि नेपालमा बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण हेर्ने हो भने हाल नेपालमा वायु प्रदुषणका कारणले हुने मृत्युदरमा मस्तिष्कघात ३७ प्रतिशत रहेको छ भने मुटुरोगबाट ३४ प्रतिशत, फोक्सो क्यान्सरबाट हुने मृत्युदर ३४ प्रतिशत र नवजात शिशु तथा बालबालिकामा हुने मृत्युदर २२ प्रतिशत रहेको छ।

यी मृत्युको कारण केही प्रत्यक्ष र केही अप्रत्यक्षरुपमा जलवायु परिवर्त नै रहेको बताउँछन् स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा। उनका अनुसार बढ्दो वायु प्रदुषण, बढ्दो तापक्रम, अत्याधिक वर्षा तथा बाढी पहिरोजस्ता कारणले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा मानवको स्वास्थ्यमा असर परिरहेको छ।

‘प्रत्यक्ष रुपमा हेर्दा हाम्रोमा केही वर्ष अघिसम्म तराईमा मात्रै देखिने डेंगु कालाजारजस्ता किटजन्य संक्रमणहरू उच्च पहाडी र हिमाली जिल्लाहरूमा समेत देखिँदै आएकाे छ अर्कोतर्फ आजभोलि कम उमेरमा नै नसर्ने रोगहरू देखिने र यसबाट हुने मृत्युदर बढ्दै गएको छ। जसको प्रमुख कारण हाम्रो वातावरणमा आएको परिवर्त नै हो’ डा देवकोटाले भने।

वरिष्ठ न्यूरोसर्जन डा प्रकाश काफ्लेले भने ‘वातरावरणमा हुने तापक्रम परिवर्तनले हाम्रो शरीरको रक्तसंचारमा प्रत्यक्ष असर गरिरहेको हुन्छ। धेरै चिसो भयो भने हाम्रो शरीरमा रगत संचार हुने नसाहरू साघुँरिने र फुट्ने  हुन्छ, जसले गर्दा ब्रेन हेमरेज हुन्छ भने धेरै तापक्रम हुँदा पनि अन्य खालका शारीरिक समस्या देखिँदा मस्तिष्कघातको जोखिम बढाउँछ।’

छिटोछिटो हुने मौसम परिवर्तनले पनि विभिन्न खालका स्वास्थ्य समस्या निम्ताउन सक्ने हुँदा त्यसको असर ब्रेनमा पर्ने समेत डा काफ्लेले बताए। त्यसैले जलवायु परिवर्तनकाे असर असमानपूर्वक हुने र कम आय भएका तथा नेपाल जस्ता देशका मानिसमा विशेष गरी बालबालिका, महिला  तथा युवाहरूमा बढ्दै गएको देखिन्छ। 

खाद्य असुरक्षाकारण कुपोषण हुने र किट तथा पानीजन्य संक्रमणमा आउने परिवर्तन तत्कालै देखिए पनि नसर्ने रोगहरूमा अप्रत्यक्ष तथा सूक्ष्म तरिकाले दीर्घकालीनसम्म देखिने हुँदा समयमा नै सरोकारवलाहरूले ध्यान दिनुपर्ने समेत अतिरिक्त सचिव डा देवकोटाले बताए।

यस्तै केही महिना अघि स्वास्थ्य मन्त्रालयले जलवायु परिर्वतले मानव स्वास्थ्यमा कस्तो असर पार्दै छ भनेर देखाउनका लागि मन्त्रालयको गेटमा राखेको  कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको थियो। यसले पनि वातावरण प्रदुषणले कस्तो असर गरिरहेको छ भन्ने कुरा प्रष्ट भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोका साथै घर, रेष्टुराँ तथा होटलबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेआदिको प्रयोग रहेका छन्।

प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छ। वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ। वायु प्रदुषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ ।  

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रतिवेदनअनुसार कुपोषण, मलेरिया, झाडापखाला, तातो हावाका कारण सन् २०३० देखि सन् २०५० सम्म करिब २ लाख ५० हजारको मृत्यु हुन सक्ने आँकलनसमेत गरेको छ ।

यसैगरी जलवायु परिवर्तनको विज्ञानसम्बन्धी अनुसन्धान र जानकारी दिने अन्तर सरकारी मञ्च आईपिसिसी एआर छैठौँ प्रतिवेदनअनुसार विश्वमा ४० प्रतिशतभन्दा धेरै मानिसहरू जलवायु परिवर्तनको उच्च जोखिममा छन् । पारिस्थितिक प्रणाली परिवर्तनले प्रजातिहरू लोप हुँदै गएको, मानव स्वास्थ्य र जीविकोपार्जनमा असर गरेको कुरा प्रतिवेदनले स्पष्ट पारेको छ । जनस्वास्थ्यमा जलवायु परिवर्तनका प्रभावहरू बहुआयामिक हुने र भौगोलिक स्थान, सामाजिक, आर्थिक कारक र अवस्थित स्वास्थ्य सेवा पूर्वाधारका आधारमा भिन्न हुन सक्छन् ।

जलवायु परिवर्तनले बाढी, पहिरो, आगलागी, तातो हावा, हावाहुरी बसाइँसराइ जस्ता विभिन्न किसिमका घटनाहरू दिनानुदिन बढिरहेका छन् । जसको प्रत्यक्ष/अप्रत्य प्रभाव मानवस्थ्यमा परिरहेको स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव देवकोटाको भनाइ छ।

नेपाल मात्रै होइन जलवायु परिवर्तन र यसले मानव स्वास्थ्यमा ल्याउने जोखिम पछिल्लो समयम  विश्वको एउटा प्रमुख मुद्दा बनेको छ । यसले गर्दा पछिल्ला वर्षहरूमा विश्वमा हुने ठूलाठूला अन्तराष्ट्रिय सम्मेलनहरूमा जलवायु परिर्वतन र यसबाट पर्ने असरको न्युनिकरण प्रमुख मुद्दा बन्ने गरेको छ।

हालै भारतमा सम्पन्न जी-२० सम्मेलनमा पनि जलवायु परिवर्तनको विषयलाई प्रमुख एजेण्डामा राखिएको थियो। यस्तै अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा पनि जलवायु परिवर्तन र यसबाट निम्तिँदै आएकाे असर न्युनिकरण गर्ने विषयलाई प्रमुख एजेण्डा बनाइएको छ।

उक्त महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि जलवायु परिवर्तन र यसबाट परेको असरलाई विश्व जगतले सम्बोधन गर्नुपर्ने विषय उठाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.