|

काभ्रे : ऐतिहासिक एवं पुरातात्त्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीय स्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति सांस्कृतिक पदयात्रा सम्पन्न भएको छ।

विश्व शान्ति दिवसका अवसरमा शनिबार जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले पनौतीदेखि नमोबुद्धसम्म पदयात्रा गरिएको हो।

समिति प्रमुख दीपक गौतमले पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृतसँगै धार्मिक सर्किटका रूपमा विकासको पहल गर्न शान्ति पदयात्रा आयोजना गरिएको बताए।

सेवा समाजका अध्यक्ष प्रह्लाद केसीले विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन तथा काभ्रेको धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्धन गर्दै विश्वभर चिनाउन शान्ति पदयात्रा आयोजना गरिएको बताए।

पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले विश्व शान्ति पदयात्राको उद्घाटन गरेसँगै शान्ति पदयात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शङ्खुबाट नमोबुद्ध गुम्बामा पुगेर समापन भयो।

पनौतीदेखि नमोबुद्धसम्मको ९.८ किमी दूरीको पदयात्रामा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा, पूर्व राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामा, श्रम तथा रोजगारमन्त्री लक्ष्मण लम्साल लगायत २ हजारभन्दा धेरै सहभागी थिए।

नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो। बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.