‘सरकारले प्रचारनै गर्न सकेन’

|

काठमाडौं :  सरकारले तामझामका साथ सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको (एचपीभी) खोप को ‘डेमोन्स्ट्रेस’ अभियान लक्ष्य गरे अनुसारको  खोप लगाउन किशोरीहरु अनिच्छुक देखिएका छन्। 

निर्धारित समयमा लक्ष्य अनुसारको संख्यामा तोकिएको खोप केन्द्रहरुमा खोप लगाउन जाने किशोरीको संख्या कम भएपछि हाल आएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप लगाउने अवधि थप ५ दिन बढाएको छ।

सो अनुसार अब खोप बाँकी रहेका अस्पतालहरुमा १० असोजसम्म किशोरीहरुलाई एचपीभी खोप लगाइने कार्यक्रम सन्चालन हुने छ। खोप शाखाका अनुसार हाल सम्म खोप केन्द्र तोकिएको देशभरको ७ वटा खोप केन्द्रबाट जस अनुसार अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाएका छन्।

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेको छ। अझै अचम्मको कुरा के छ भने सबै भन्दा धेरै शिक्षित जनसंख्या बस्ने संघीय राजधानी काठमाडौंकै केन्द्रमा खोप लगाउने जाने किशोरीको संख्या एकदमै कम रहेको छ।

काठमाडौंको लागि थापाथलीस्थित प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा नै एकदमै कम खोप लगाइएको छ। हाल सम्म प्रसूतीगृहबाट जम्मा आठ सय २५ जनाले खोप लगाएका छन्।

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले जम्मा ३ हजार डोज खोप पाएको र तोकिएको समयमा उक्त खोप लगाउन नसकिएको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए।

उनका अनुसार यस सरकारले राम्रोसँग प्रचार गर्न नसक्नु र खोप अभियान सन्चालन भएकै समयमा विद्यालय स्तरका शैक्षिक संस्थाहरु बन्द भएको कारण लक्ष्य अनुसारको खोप लगाउन नसकिएको बताए।

‘ हामीलाई जम्मा ३ हजार डोज खोप लगाउनको लागि छुट्याएर आएको थियो तर हामीले तोकिएको समयमा लगाउन सकिएन त्यसैले समय थप गर्न खोप शाखालाई आग्रह गरेका हौँ  डा अधिकारीले भने ‘ यस बीचमा भएको शैक्षिक संस्था बन्द र राम्रोसँग खोपको बारेमा प्रचार नपुगेको कारण अभिभावक खोप लगाउन आफ्ना किशोरी छोरीहरुलाई नल्याएको देखियो।‘

खोप शाखाका अनुसार कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरञ्गजस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमामा एक सय ९३ जना किशोरीले एचपिभी खोप लगाइसकेका खोप लगाएका छन्।

निश्चित खोप केन्द्र हुनु र खोपको प्रभावकारिता बारे सरकारले राम्रोसँग प्रचार गर्न नसक्दा एचपिभी खोप अभियान सरकारले लक्ष्य गरे अनुसार निर्धारित समयमा लगाउन नसकेको बताउछन् परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका पूर्व प्रमूख डा झलक शर्मा।

किन सरकारले लक्ष्य अनुसारको एचपिभी खोप किशोरीहरुलाई लगाउन सकेन भन्ने प्रश्नमा उनले भने ‘मुख्य कुरा सरकारले एचपीभी खोपको बारेमा किशोरीहरुका अभिभावकहरुलाई बुझाउनै सकेन यसको लागि प्रचारनै पुगेन अर्को तर्फ खोप लगाउनको लागि पनि खोप केन्द्र निश्चित रुपमा मात्रै भयो जसले गर्दा किशोरीहरुलाई खोप केन्द्र पायक परेर यसले गर्दा पनि लक्ष्य अनुसारको खोप कार्यक्रम सफल भएन।‘

हाल उमेर समूह अनुसार यसपटक लगाउने भनेको उमेर समूहका किशोरीहरु प्राय विद्यालयहरुमा रहेको हुँदा विद्यालय तहमा नै मुख्य गरी एचपीभि खोपको कारण हुने फाइदाको बारेमा बुझाउन सकियो भने खोप लगाउने संख्या बढ्न सक्ने डा गौतमले बताए।

गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालवाट एचपिभी खोप अभियानको डेमोष्ट्रेसन गरेको थियो । चीनबाट दुई महिना अघि ल्याइएको २० हजार भाइल एचपीभी खोप ल्याएर ‘डेमोन्स्ट्रेस’ गरेको थियो।यो खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो। सिकोलिन ब्राण्डमा उत्पादित यो एचपीभी डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो।

यो खोप पहिलो डोज दिएको ६ महिनापछि दोस्रो डोज लगाउने सरकारको तयारी छ। पहिलो र दोस्रो गरी यसपटक सरकारले १९ हजार ९९८ खोप किशोरीहरुलाई लगाउने निर्णय स्वरुप सरकारले यो खोप अभियान सुरु गरेको हो।

यो खोप १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ। २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्न आग्रह गरेको छ।

चिकित्सकहरुका अनुसार एचपीभीको २०० भन्दा बढी प्रजाति हुन्छन् र यसमध्ये कम्तिमा १२ प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ।

यसले पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्गमाआउने मुसा तथा यौनाङ्गको क्यान्सरसमेत गराउन सक्छ। हाल नेपालमा लगाइन लागिएको ‘सिकोलिन’ ब्रान्डको एचपीभी खोप एचपीभीको प्रजाति १६ र १८ विरूद्ध ९७ प्रतिशतसम्म प्रभावकारी भएको विभिन्न अध्ययनहरुले देखाएको छ।

नेपालमा हाल हुने क्यान्सरमध्ये महिलामा हुने पाठेघरको मुखको क्यान्सर १९ प्रतिशत रहेको छ। जसको मुख्य कारण एचपीभी भाइरसको प्रजाति १६ र १८ नै मुख्य हो। त्यसैले सिकोलिन ब्राण्डमा आएको यो खोप पाठेघरको मुखको क्यान्सरविरूद्ध निकै प्रभावकारी रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। अझ किशोरीहरू सक्रिय यौन जीवनमा प्रवेश नगर्दै लगाउन सकियो भने थप प्रभावकारी हुने विज्ञहरुले बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.