|

विराटनगर : विराटनगर महानगरपालिका– ९ की अन्जना सिंहले सिलप्याक कोशी ग्यासको सिलिन्डर खरिद गरिन्। उनले खरिद गरेको सिलप्याक सिलिन्डर रित्तो थियो। सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्नेमा ग्यास नभएको भेटिएको हो।

उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्यासको डिलर न्यु हिमाल मार्केटिङबाट ग्यास खरिद गरेकी थिइन्। न्यु हिमालका डिलरबाट ग्यास डुलाउने चौधरीसँग ग्यास लिएकी उनले एकैपटकमा ३–४ वटा ग्यास सिलिन्डर राख्ने गरेको बताइन्। दुईवटा ग्यास सकिएपछि नयाँ खरिद गरेको ग्यास चुलोमा जोड्न खोज्दा सिलप्याक सिलिन्डरमा ग्यास नभएपछि आफू अचम्ममा परेको समेत सुनाइन्।

सिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो।

उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिन्डर जाँच गर्दा ग्यास नभएको भेटिएको थियो।

सिलप्याक ग्यास सिलिन्डरमा ग्यास नभएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतसहितको टोलीले उद्योगमा आइतबार अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगबाट कैफियत भेटिएपछि वाणिज्य कार्यालयले कारबाही गरिएको उनले बताए।

यता कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिन्डर पठाउने भएकाले उपभोक्ताले तौलेर मजाले हेरेर मात्र ग्यास लैजान आग्रह गरे। उद्योगको बदनाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने उनले बताए।

ग्यास उद्योगले नाम मात्रको प्लास्टिकले र्‍यापिङ गरिएको सिलप्याक कमजोर बनाउँदा चोरी गर्नेलाई सजिलो हुने र उपभोक्ता ठगीमा पर्ने क्रम बढेको थियो। त्यसपछि उद्योगले कोशी ग्यासले र्‍यापिङ बन्द गरी मजबुत बनाएको थियो।

उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ। देशभर ३९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत ग्यास उपभोक्तामा घरमा पुग्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.