|

ललितपुर : १९ औँ एशियाली खेलकुद प्रतियोगितामा उसुका खेलाडी विजय सिंजालीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। 

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको पुरुष थाउलोको छाङ छुवानतर्फ ९ दशमलब ७०३ अंक ल्याउँदै विजयले राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। 
हाङचाउमा सम्पन्न खेलमा सहभागी १४ जना खेलाडीमा उनी सातौँ स्थानमा आए। 

सो स्पर्धामा चीनले स्वर्ण, इण्डोनेशियाले रजत र मकाउले कांस्य पदक जिते। जापान चौथो तथा भारतका दुई खेलाडी पाँचौ र छैटौँ भए। चीनका पियुएन चन सुनले ९ दशमलब ८४० स्कोरसहित स्वर्ण जितेका थिए। 

१३ औँ सागका स्वर्णधारी विजय नेपाल आर्मी क्लबका हुन्। खेलपछि प्रतिक्रिया दिँदै उनले आफूले पहिलेभन्दा निकै राम्रो प्रर्दशन गरेको बताए। उनले रेफ्री प्यानलमा आफ्नो देशको नहुँदा आफूलाई घाटा भएको बताए।

हाङचाउ एशियाडमा प्राप्त नतिजाले आफूलाई दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक आउनेमा विश्वास जागेको उनले बताए।

उसु महासंघका सचिव निकेश श्रेष्ठले विजयले राम्रो खेल देखाएको प्रतिक्रिया दिए। उनले रेफ्री प्यानलमा नेपाली भएको भए अगाडि बढ्न सक्ने बताए। 

१८ औँ संस्करणको जकार्ता एशियाडमा १४ खेलाडीमा १२ औँ  स्थान पाएका विजयले १२ औँ सागमा रजत पदक पाएका थिए। उसुमै महिला ताइजिक्वानमा नेपालकी सविता राई ८.६२८ अंकसहित पुछारमा रहिन्। 

यसैगरी सान्डातर्फ नेपालका चारजना खेलाडीले बाई पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरे तर सबै क्वाटरफाइनलमै पराजित हुन पुगे। 
महिला ५२ केजी तौल समूहमा नेपालकी एलिना चौधरी इरानकी एलाहेअ मानसोर्यानसँग डब्लुपिडीको आधारमा पराजित भइन्। 

यसैगरी पुरुष ५६ केजीमा नेपालका रोहित चुनारो कीर्गिस्तानका अभाजवेक अमानबेकोभसँग २–० ले पराजित भए। पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारू कीर्गिस्तानकै अस्कात ओमुर्जाकोभसँग स्तब्ध भए। 

यसैगरी पुरुष ७० केजीमा नेपालका पदम राई लाओसका फोनह साइबोउनफेङसँग हार्न पुगे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.