|

काठमाडौं : २०७९ असोज  १७ गते चितवन मेडिकल कलेजको अतिसघन कक्षमा भर्ना भएका विरामीको मृत्यु भएपछि अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भयो। मृतकका आफन्तले अस्पतालको भौतिक संरचनामाथि आक्रमण गरे।

जेठ ९ गते सिन्धुली अस्पतालमा उपचारार्थ आएका विरामीको अवस्था हेरी चिकित्सकहरूले अस्पतालमा आइसियु नभएको भन्दै अन्त रिफर गर्दा विरामीका आफन्त र चिकित्सकबीच विवाद भयो। विरामीका आफन्तले उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरे।

२०८० भदौ २७ गते  डेंगुको लक्षण देखिई हेटौँडाको सन्चो अस्पतालमा पुर्‍याइएका विरामीको मृत्यु भएपछि विरामीका आफन्तले उक्त अस्पतालमा कार्यरत एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापालाई आक्रमण गरे।

उपचारका लागि आएका हेटौंडा उपमहानगर-१२ स्थित पदमपोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारका क्रममा गत साउन २५ गते मृत्यु भएको थियो। उपचारमा लापरबाही गरेको भन्दै विरामीका आफन्तले ​अस्पताल पुगी चिकित्सकलाई हातपात गरे। 

हेटौँडामा दुईजना चिकित्सकले कुटाइ खाएको दुई हप्ता बित्न नपाउँदै असोज ८ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यकक्षमा चिकित्सकमाथि हातपात भयो।

असहज महसुस भई अस्पताल पुगेकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले हातपात गरेको घटनालाई लिएर हाल चिकित्सकहरूले विरोध गरिरहेका छन्।

मणिपालमा चिकित्सकमाथि भएको आक्रमणको विरोध गर्दा मंगलवारदेखि मणिपाल शिक्षण अस्पतालका चिकित्सकले एक साताका लागि सेवा बन्द गरेका छन्।

यसैगरी महाराजगञ्जस्थित शिक्षण अस्पतालका आवासीय चिकित्सकले लगातारजसो आफूहरूमाथि हातपात भएको बताउँदै आकस्मिक बाहेकका सेवामा आफूहरू संलग्न नहुने बताएका छन् भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतका आवासीय चिकित्सकहरूले पनि विरोध गरिरहेका छन्।

पछिल्ला वर्षमा अस्पतालमा विरामीको उपचारमा लापरबाही गरेको भन्दै चिकित्सकमाथि हातपात बढ्दै गएका छन्।

उनीहरूले उपचारका क्रममा विरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।

यस्ता घटनाले  विरामीको उपचारको क्रममा  चिकित्सक र विरामीका आफन्तबीचको दूरी बढ्दै जान थालेको देखिन्छ।

विरामीको राम्रो उपचार नगरेको, उपचार गर्दा लापरबाही गरेको, समयमा उपचार नगरेको र विरामीको उचित हेरचाह नगरेको भन्दै चिकित्सकमाथि हुने हिंसात्मक घटना बढ्दै गएको नेपाल चिकित्सक संघले जनाएको छ।

चिकित्सक संघमा अभिलेखीकरण भएका एक दशक अवधिको विवरण हेर्दा पनि पछिल्लो केही समययता चिकित्सकमाथि हुने हातपातको शृंखला बढ्दै गएको देखिन्छ।

६३ सालयता डेढ सयभन्दा बढी चिकित्सक कुटिए

नेपाल चिकित्सक संघका अनुसार दुई दशकयता डेढ सयभन्दा बढी चिकित्सकमाथि हातपात भएको विवरण छ। चिकित्सक संघका प्रशासन प्रमुख मिलनचन्द्र खनालका अनुसार चिकित्सकलाई ड्युटीकै वेला विरामीको उपचारको  बहाना तथा अन्य आरोपमा विरामीका आफन्तबाट कुटपिट भएको उल्लेख छ।

संघका प्रशासन प्रमुख खनालले भने‚ ‘चिकित्सकमाथि भएको घटनाको हामीसँग भएको अभिलेखमा आक्रमण भएका प्रायः चिकित्सकहरूलाई डिउटीकै समयमा कार्यकक्षमा हातपात भएको देखिन्छ। विरामीका आफन्तले राम्ररी उपचार नगरेको बहानामा प्रायः चिकित्सकहरूलाई आक्रमण गरेको देखिन्छ।’

किन बढ्दै छ चिकित्सकमाथि आक्रमण

राज्यले चिकित्सकहरूलाई सुरक्षित बनाउन नसक्दा आक्रमण हुने घटना बढ्दै गएको बताउँछिन् चिकित्सक संघकी पूर्वकोषाध्यक्ष डा. रक्षा श्रेष्ठ। उनले भनिन्‚ ‘डाक्टरलाई राज्यले सुरक्षित महसुस गराउन सकेको छैन। एकपछि अर्को डाक्टरमाथि आक्रमण भइरहेको छ। देशमा कानुन कार्यान्वयनको कमजोरीका कारण समाज अराजकतातर्फ गइरहेको छ।’

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यस्थलमै चिकित्सकमाथि हातपात हुनु भनेको चिकित्सकहरूको मनोबल कमजोर बनाउने र त्यसले विरामीको उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित हुने बताउँछन्‚ चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी।

यसैगरी पछिल्लो समय यसरी दूरी बढ्नुको मुख्य कारण चिकित्सक र विरामीबीच राम्रो समन्वय नहुँदा पनि यस्ता घटना बढिरहेका छन्।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने कानुन छ तर कार्यान्वयन हुँदैन

स्वास्थ्यकर्मीको सुरक्षाका लागि नेपालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९’ जारी गरिएको छ। जसमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई पनि समेटिएको छ। ऐनको दफा ३ मा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी  गर्न वा उपचारमा बाधा पार्न नहुने उल्लेख छ।

सो दफाअनुसार कसैले पनि उपचारको विषयलाई लिएर तल उल्लिखित कार्य गर्न गराउन नहुने उल्लेख छ। कसुर र सजायसम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ’ भनिएको छ। तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ  र थप सजायको प्रक्रिया अघि बढाइनेछ’ उल्लेख छ।

स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरिक चोट पुर्‍याएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

तर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने घटनामा संलग्नलाई कानुनअनुसार कारबाही नगर्दा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण बढ्दै गएको बताउँछन्‚ चिकित्सक संघका महासचिव तिवारी।

‘कानुनी कारबाहीको प्रावधान हुँदाहुँदै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई मेलमिलापबाट टुंग्याउने प्रयास गरिन्छ। यसले गर्दा झनै आक्रमण बढ्दो छ। यदि उपचारमा चिकित्सकले लापरबाही गरेको हो भने छानबिन गरी चिकित्सकलाई पनि कारबाही गर्न सकिने कानुन छ। यसमा राज्यले जनतालाई बुझाउन सक्नुपर्छ नत्र यसरी निरन्तर स्वास्थ्यकर्मीमाथि हुने आक्रमण सहेर कसरी चिकित्सकले गुणस्तरीय सेवा दिन सक्छन्? यस्ता घटना दोहोरिदै गए भविष्यमा चिकित्सकहरूले असुरक्षित महसुस गरी सेवा दिन नसक्ने हुन सक्छ। यसले देशको स्वास्थ्य सेवा प्रवाहमै असर गर्न सक्छ’‚ संघका महासचिव तिवारीले भने।

उपचारमा चिकित्सकले लापरबाही गरेको हो भने ५ वर्ष चिकित्सकीय सेवा गर्न नपाउने र ५० हजार जरिवाना हुने कानुन भएको अवस्थामा सरकारले यस्ता कुरा जनतालाई बुझाउन नसक्दा स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको डा. तिवारीले बताए।

‘चिकित्सकले गल्ती नै गर्दैन भनेर हामी भन्दैनौँ। त्यसैले उपचारमा लापरबाही भएको महसुस भएमा सम्बन्धित निकायले छानबिन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही पनि गर्न सकिने कानुन भएको कुरा सरकारले जनतालाई बुझाउन सक्नुपर्छ’‚ डा. तिवारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.