पहिले सबैभन्दा बढी पदक आएको तेक्वान्दोमा पनि रित्तो हात

|

ललितपुर : मिनी ओलम्पिकका रूपमा परिचित एसियाली खेलकुद प्रतियोगिता (एसियाड) चीनको हाङझाउमा चलिरहेको छ।

नेपालबाट केही पूर्व राष्ट्रिय खेलाडी समेत असम्बन्धित खेलको व्यवस्थापक समेत बनेर चीन पुगेको यो एसियाड अरुले भनेजस्तै खेलाडीले पदक ल्याउने भन्दा पनि पदाधिकारी र अरुलाई घुम्ने अवसर बन्न पुगेको  छ। 

७२ वर्षे इतिहास बोकेको वर्तमान १९ औँ संस्करणको एसियाडमा नेपालका लागि एउटा कास्य पदक ल्याउन पनि हम्मे परिरहेको छ। पदकको आशा गरिएका खेलमा समेत नेपालको प्रदर्शन उत्साहजनक देखिएको छैन। 

सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट शुरु भएको पहिलो एसियाली खेलकुद प्रतियोगिताबाटै सहभागिता जनाउन सुरु गरेको नेपालका लागि त्यो वेला जस्तो पदकमा संघर्ष थियो, त्यस्तै संघर्ष अहिले पनि विद्यमान छ। 

नेपालले हालसम्म २ रजत र २२ कास्य सहित कुल २४ पदक प्राप्त गरेको छ। त्यसमा पनि तेक्वान्दो र बक्सिङकै हिस्सा बढी छ। यसपालि पनि यी खेलबाटै धेरै आशा गरिएको थियो। तर तेक्वान्दो र बक्सिङबाट नेपालले कुनै पदक ल्याउन सकेन। 

सबैभन्दा धेरै तेक्वान्दोबाट एक रजत र १३ कास्य जितेको नेपालले बक्सिङबाट मात्रै ७ वटा कास्य पदक प्राप्त गरेको छ। 

१९ औँ संस्करणको एसियाडमा नेपालले बक्सिङ र तेक्वान्दोबाट रित्तो हात फर्किँदैछ। पदकको आशा गरिएको कराँतेका स्पर्धा बाँकी छन्। एसियाली खेलकुदको इतिहासमा सर्वाधिक सफल खेल तेक्वान्दोले यसपालि भने सफलता पाउन सकेन। 

बिहीबार पुरुष ८० केजीको अन्तिम १६ को खेलमा ज्याकी यादव पहिलो खेलमै पराजित भए। उनको हारसँगै १९औं एसियाडमा नेपालको तेक्वान्दोबाट पदक जित्ने सम्भावना औपचारिक रूपमै सकिएको छ।

उनी लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको पुरुष ८० केजीको अन्तिम १६ को खेलमा जोर्डनका अनास सादेकसँग २–० ले पराजित भए। ज्याकीले पहिलो चरणमा १०–१ र दोस्रो चरणमा १३–१ ले खेल गुमाए। 

तेक्वान्दोबाट नेपालले पदकको आशा राखे पनि त्यसले सार्थकता पाएन। सबै खेलाडीको प्रदर्शन फितलो देखियो। एसियाडमा तेक्वान्दोबाट सहभागी ११ नेपाली खेलाडीमा ३ जना खेलाडीले एक एक खेल जित्न सके।  

पुरुषतर्फ एकल पुम्सेमा नेपालका प्रेमबहादुर लिम्बुनजिकै पुगेर पनि पदक विमुख भए। अन्तिम १६ मा पाकिस्तानका अक्दुस उल्लाह क्वादिरलाई पराजित गरेका प्रेम क्वार्टरफाइनलमा भने फिलिपिन्सका प्याट्रिक किङ पेरेजसँग पराजित भए।

यो खेल जितेको भए, उनको पोल्टामा कम्तीमा एक कास्य पदक हुन्थ्यो। महिला पुम्सेमा नेपालकी स्वस्तिका तामाङ अन्तिम १६ मै हार्न पुगिन्। 

ग्योरोगीतर्फ अञ्जली तामाङ र गोविन्दबहादुर आलेले अन्तिम ३२ को एक–एक खेल जिते पनि अन्तिम १६ को अर्को खेलमा रोकिए। 

महिला ४९ केजीमुनि उनले राउण्ड अफ ३२ मा कम्बोडियाकी लिडेन क्रिलाई पराजित गरिन्। पहिलो राउण्डमा ७–७ को बराबरी खेलेकी अञ्जलीले दोस्रो राउण्डमा १०–४ अंकले आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा स्थान पक्का गरिन्। 

अन्तिम १६ मा भने अन्जली थाइल्याण्डकी पानीपक वोङपातान्कितसँग १२–०, १०–० ले पराजित भइन्। 

यसैगरी पुरुष ५८ केजीमुनि राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका रियाद नासेर हम्दीसँग सहजै पराजित भए।

कुमाल साउदी अरबियाका नासिर अहमदी रियादसँग ४–१२ र २–० ले निराश भए। 

एसियाडमा पहिलो पटक पदक जित्न ३७ वर्ष कुर्नुपरेको थियो। त्यो सम्भावनालाई मूर्तरूप दिएको तेक्वान्दोले दक्षिण कोरियाको सियोलमा सन् १९८६ मा सम्पन्न दशौँ एसियाड नेपालले ८ वटा कास्य पदक जित्दा बक्सिङ र तेक्वान्दोबाट समान ४–४ कास्य पदक प्राप्त भएको थियो।

१९९० बाहेक २००६ दोहा एसियाडसम्म हरेक संस्करणमा पदक जित्दै आएको तेक्वान्दोले एसियाडमा पदक जित्न नसकेको १६ वर्ष भइसकेको छ।

तेक्वान्दोले १० औँ एसियाडमा ४ कास्य, १२ औँ एसियाडमा १ कास्य, १३ औँ एसियाडमा १ रजत र २ कास्य, १४ औँ र १५ औँ एसियाडमा ३–३ कास्य पदक प्राप्त गरेको छ।

तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी अशोक खड्का नेपालले लगातार १६ वर्षसम्म एसियन गेममा पदक ल्याउन नसक्नुलाई तेक्वान्दोको नेतृत्वको कमजोरी भन्छन्।‘एकपटक या दुईपटक होइन, चारपटकसम्म खाली हात आउनुको जिम्मेवारी नेतृत्वले लिनुपर्छ’, उनले भने।

उनका अनुसार भिजन प्लान नहुनु, विदेशमा गएर च्याम्पियन खेलाडीसँग ट्रेनिङ गर्ने वातावरण नहुनु, कमजोर तयारी र लगानीका कारण सफलता प्राप्त हुन नसकेको हो।

अनुभवी खेलाडी विदेश पलायन हुनु, स्वदेशमै खेल्ने वातावरण नहुनु, नयाँ खेलाडीलाई धेरै भन्दा धेरै खेल्ने मौका नमिल्नु र तेक्वान्दोप्रति आकर्षण बढ्न नसक्नुले पनि गौरवशाली इतिहास बोकेको तेक्वान्दोमा सफलता नमिलेको पूर्व राष्ट्रिय खेलाडी निशा रावल बताउँछिन्।

‘अरु देशको तयारी एउटा एसियन गेम सकिएलगत्तै शुरु हुन्छ’, हाल अमेरिकामा रहेकी उनले भनिन्, ‘हाम्रो भने अन्तिम अवस्थामा एक दुई महिनाको मात्र तयारी हुन्छ। अनि त्यसले कहाँ पदकका लागि फाइट गर्न सक्छौँ।’

१३औँ सागमा नेपालका लागि पदक जितेका झण्डै ९० प्रतिशत खेलाडी अहिले विदेश पलायन भइसकेका छन्। 

बक्सिङमा पनि आएन पदक  

१९औं एसियाली खेलकुदमा पुरुष बक्सिङमा नेपालको प्रर्दशन प्रशंसनीय रहन सकेन। यद्यपि ४५–५१ केजी तौलसमूहमा रविन थापा अन्तिम १६ मा पुग्न सके।

उनी उत्तर कोरियाका  सो चोनरियोङसँग ५–० ले पराजित भए। उनले अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडी डियो कोएबानुलाई पराजित गरे। खेलमा रविन अंकका आधारमा ४–१ ले विजयी भएका हुन्। 

बक्सिङमा नेपाली खेलाडी संगीता सुनार, दीपक श्रेष्ठ र मिनु गुरुङ पनि सजिलै पराजित भए। महिला ६० केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को भिडन्तमा सुनारलाई भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरिन्। 

त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए।

राउण्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरेका हुन्। यस्तै महिला ५४ केजीमुनि जापानकी रिन्का किनोसितासँग अंकको आधारमा ५–० ले पराजित भइन्।

पुरुष ५७ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा बुद्ध ग्याम्जो लामा भियतनामका खेलाडी भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.