|

दोलखा : जिल्ला प्रहरी कार्यालय दोलखाले चार किलो सुन प्रकरणमा संलग्न दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले आज चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका-१ का ५५ वर्षीय नुर्बु शेर्पा र ३० वर्षीया सुनमला तामाङलाई ३० हजार नगद सहित पक्राउ गरेको छ।

चरिकोटबाट पक्राउ परेका दुवै सुन किन्न आएको प्रहरीको अनुमान छ। जिल्लाको विगु गाउँपालिका-३ जामुनेबाट ४ किलो सुनसहित पक्राउ परेका तीन सहित चरिकोटबाट नियन्त्रणमा लिएका दुईजनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

हिजो बेलुका सात बजे विगु गाउँपालिका-३ की सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा तामाङ सहित पेम्बा तामाङ र माधव मगरलाई नियन्त्रणमा लिएको जिप्रका दोलखाका प्रमुख दीपक खड्काले जानकारी दिए।

नेपाली नागरिकलाई प्रयोग गरी चिनियाँले सुन नेपाल पठाएको प्रहरीको भनाइ छ। सुन तस्कर धमाधम पक्राउ पर्न थालेपछि उनीहरूले दोलखाको रुट प्रयोग गरेको खड्काले बताए। खड्काले भने‚ ‘फलाक नाकाबाट दोलखामा सुन प्रवेश भएको हो।’

चीनको सिमानामा प्रहरी चौकी रहे पनि उनीहरूले सुन हिँडेर ल्याएका कारण सूचनामा ढिलाइ भएको हो। अहिले सीमा नाकामा कडाइ गरिएको खड्काको भनाइ छ। उनीहरूलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा दोलखा अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.