|

सुर्खेत : बुधबारदेखि वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको छ। नयाँ नेतृत्व छनोटका लागि नेताहरूबीच सहमति नजुटेपछि अन्ततः निर्वाचन हुने भएको हो। अधिवेशनको बन्दसत्रमा सहमति जुट्न नसकेपछि निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको हो।

निर्वाचन तालिकाअनुसार शुक्रवार उम्मेदवारको मनोनयन दर्ता र शनिवार निर्वाचन हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा पदाधिकारी चयन गर्न दिएको निर्देशन अवज्ञा गर्दै नेताहरू आफ्नो हठबाट पछि नहटेपछि निर्वाचनबाट नेतृत्व चयन हुन लागेको हो।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न नसके गुट उपगुट बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए। अध्यक्ष ओलीले मात्रै होइन‚ एमाले महासचिव शंकर पोखरेलले पनि बुधबार बन्द सत्र सुरु हुनु अघिसम्म सहमतिको अधिकतम प्रयास गरेका थिए। सहमति हुने छाँट नदेखेपछि उनी काठमाडौं फर्किएका थिए।

महासचिव पोखरेलले आफ्नै टिममा बनेको गुटलाई रोक्न नेताहरूसँग एक एकजनाको भेटघाटमा सहमतिको प्रयास गरे पनि स्थायी कमिटी सदस्य यामलाल कँडेल र प्रदेश अध्यक्ष विनोदकुमार शाहबीचको प्रतिष्ठाको लडाइँले अधिवेशन निर्वाचन उन्मुख बनेको हो।

प्रदेश अध्यक्षका लागि कँडेलले पार्टी पोलिटब्यूरो सदस्य सल्यानका गुलाबजंग शाह र प्रदेश अध्यक्ष शाहले प्रदेश कमिटी सदस्य कालीकोटका मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन लबिङ थालेपछि सहमतिको सम्भावना टरेको एमाले स्रोतको दाबी छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कालिकोटका शाहीलाई प्रदेश अध्यक्ष बनाउन खोजेको प्रष्ट देखिन्थ्यो। सोहीअनुसार महासचिव पोखरेल पनि सकारात्मक देखिएको बताइएको थियो तर अध्यक्ष ओली काठमाडौं फर्किएपछि एकाएक समीकरणमा परिवर्तन आएको बताइएको छ।

शाहीलाई ओलीको समर्थन हुँदाहुँदै पनि महासचिव पोखरेलले एक टिकटक भिडियोबाट विवादित छवि बनाएका पार्टी पोलिटब्यूरो सदस्य गुलाबजंग शाहलाई अध्यक्ष बनाउन थालेको लबिङ नै अन्ततः चुनावमा जाने विन्दु बनेको एमालेका एक केन्द्रीय सदस्यले बताए।

महासचिव पोखरेलले गुलाबजंग शाहलाई नेतृत्वमा ल्याउन गरेको यो प्रयास नौलो भने होइन। साविक भेरी र राप्ती अञ्चल हुँदादेखि नै सल्यानमा प्रकाश ज्वालालाई दबाउनका लागि पोखरेलले शाहलाई बोकेर हिँड्ने गरेको आरोप उनीमाथि रहेको एमाले स्रोत दावी गर्छ। शाहलाई पार्टीको पोलिटब्यूरो सदस्यमा ल्याउनमा मुख्य हात महासचिव पोखरेलको भएको मानिन्छ।

भावी नेतृत्वका लागि नेताहरूबीच अन्य पदमा सहमति नजिक पुगे पनि अध्यक्षका लागि आ-आफ्नै रटानले सहमतिको सम्भावना टरेको हो। अध्यक्ष पदका लागि प्रस्तावित शाही र शाह आफ्नै गृहजिल्लामा पार्टी कार्यकर्ताबाट नरुचाइएका नेता भएको बताइन्छ।

शाही राष्ट्रिय योजना आयोगको सदस्य रहिसकेका नेता हुन् भने शाह निर्वतमान प्रदेशसभा सदस्य र गत मंसिरमा सम्पन्न दोस्रो प्रदेशसभा निर्वाचनमा पराजित भएका नेता हुन्।   

स्थायी कमिटी सदस्य कँडेलनिकट नेताका अनुसार अध्यक्षमा पोलिटब्यूरो सदस्य सल्यानका गुलाबजंग शाह, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई‚ सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र उपसचिवमा दैलेखका रवीन्द्रराज शर्मा तथा मुगुका जितबहादुर मल्लको नाम पक्का भएको छ।

यस्तै प्रदेश अध्यक्ष शाहको टिमबाट अध्यक्षमा कालीकोटका मीनबहादुर शाही‚ उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतरा‚ सचिवमा सुर्खेतका डण्डीप्रसाद शर्मा‚ उपसचिवमा दैलेखका रुद्र शाहीको नाम टुंगो लागेको जनाइएको छ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.