|

काठमाडौं : सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा वर्तमान सरकारप्रति दुई धार देखिएको छ।

कांग्रेसकाे एक धार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारकाे विकल्प खोज्नुपर्ने पक्षमा छ भने अर्को धार वर्तमान सरकारकै निरन्तरताको पक्षमा अड्डी कसेर बसेकाे छ। 

यिनै दुई धारका कारण कांग्रेस सत्तापक्षभित्र पनि कहिले एमालेभन्दा गरम प्रतिपक्ष त कहिले माओवादीभन्दा पनि नरम सत्तापक्षका रूपमा प्रस्तुत भएको देखिन्छ।​कांग्रेसको एक धार सरकारको हरेक कामलाई समर्थन गर्ने र अपनत्व लिने गरिरहेको छ भने अर्को धार सरकारको कामको जस अपजस लिन नसक्ने बताइरहेको छ। 

सरकारको प्रमुख साझेदार दल कांग्रेसबाट सरकारमा ९ जना मन्त्री छन् तर उनीहरू चर्चामा छैनन्। उपलब्धिमुलक काम गर्न नसकेका उनीहरूका कारण सरकारमा कांग्रेस सहभागी छ कि छैन भन्ने प्रश्नसमेत उठ्न थालेको छ। 

सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको भूमिका प्रभावकारी हुन नसक्दा पनि वर्तमान सरकारप्रति पार्टीभित्र स्पष्टरूपमा दुई धार देखिन थालेको कांग्रेसकै नेताहरू बताउँछन्।

‘सरकारमा सहभागी पार्टीका मन्त्रीहरूले केही गर्न नसक्ने, सरकारले गरेको राम्रो कामको जस माओवादीले लिने अनि नराम्राे काम कांग्रेसको भागमा आउने भएपछि सरकारको निरन्तरताको विषयमा पार्टीमा दुई धार देखिएको हो’, ती नेताले भने। 

कांग्रेसको संस्थापनइतरका नेता डा.शेखर कोइराला र गगन थापासहितका युवा नेताले केही राजनीतिक मुद्दा उठान गर्दै प्रचण्डको विकल्प खोज्न पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब बढाइहरेका छन्। 

संसद्‍काे सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने कोइराला पक्षको तर्क छ। सत्ता गठबन्धनका मुख्य नेताहरूको स्वार्थका कारण भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा जनतामा निराशा बढाएको, कोशी प्रदेशमा दुई–दुईपटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको, प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको लगायत आरोप लगाउँदै कोइरालाले सरकारको नेतृत्व बदल्नुपर्ने तर्क गर्दै आएका छन्। 

पछिल्लो समय देउवासँग कोइरालाको दूरी बढ्दै गइरहेको छ तर पार्टी र संसदीय दलमा देउवाको बलियो घेरा तोडेर आफैँ आउने सम्भावना छैन। आफ्नो प्रतिकूल अवस्थाका बाबाजुद पनि कोइरालाले सरकारको नेतृत्व बदल्ने कुरा गर्दै आएका छन्। 

संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका डा. कोइरालालगायत नेताहरूले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न दबाब बढाइरहेका वेला संस्थापन र इतर पक्षकै कतिपय प्रभावशाली नेताहरू भने वर्तमान सरकारकै निरन्तरताको पक्षमा देखिएका छन्।

सरकारप्रति कोइराला दाजुभाइको फरक मत

नेपालमा कांग्रेसको उदय र यसको इतिहासमा कोइराला परिवारको ठूलो भूमिका रहेको छ तर पछिल्लो समय कोइराला परिवार आफैँमा एकजुट छैनन्। उनीहरू एक अर्काका विरुद्वमा नै उभिन पछि परेको देखिँदैनन्। 

यसैबीचमा डा. शेखर कोइरालाले ‘प्रचण्ड’ सरकारको विकल्प खोज्दा उनको सहाेदर भाइ डा. शशांक कोइराला पाँचै वर्ष निरन्तरताको पक्षमा देखिएका छन्। 

केही समयअघि चितवनमा भएको सार्वजनिक कार्यक्रममा बोल्दै उनले गठबन्धन दलहरूबीच आलोपालो सहमति भएर पहिलो कार्यकाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेका वेला यही सरकारकाले पाँचै वर्ष निरन्तरता पाउने संकेत गरे। 

इतर पक्षमा रहेका अधिकांश नेताहरू सरकारकै कारणले अराजकता बढेको निष्कर्षसहित विकल्प खोज्नुपर्ने पक्षमा छन्। पछिल्लो समय सभापति देउवानिकट देखिएका नेता कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताए।

‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ। सरकारको स्थायित्व भएमात्रै देशको विकास सम्भव हुन्छ’, उनले भनेका थिए। प्रधानमन्त्री प्रचण्ड साधारण व्यक्ति नभएको समेत उनको विश्लेषण थियो। 

एकल सरकारको नेतृत्व गर्ने गगनको प्रस्ताव 

कांग्रेसमा पछिल्लो समय कडा आलोचना गर्ने विद्रोहीका रूपमा देखिएका महामन्त्री गगन थापाले सरकारको विकल्प खोज्नुपर्ने माग जोडदाररूपमा उठाउँदै आएका छन्।  

वर्तमान सरकारले गरेको नराम्रा कामको अपजस कांग्रेसले लिनु परिरहेको भन्दै थापा लामो समयदेखि सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन्। ​उनै थापाले माओवादी नेतृत्वको समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। 

संयुक्त गठबन्धन सरकारमा जवाफदेही संस्कृति नहुने भएकाले साढे दुई वर्ष मोर्चालाई सरकार चलाउन जिम्मा दिने र पछिको आधा समय कांग्रेस एक्लैले सरकार चलाउनुपर्ने प्रस्ताव थापाको छ। 

आइतबार काठमाडौंमा आयोजित पार्टीको जागरण कार्यक्रममा बोल्दै थापाले आधा कार्यकाल कांग्रेसको मन्त्री फिर्ता बोलाएर माओवादी नेतृत्वको समाजवादी मोर्चालाई एक्लैलाई सरकार चलाउन दिनुपर्ने र बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सारेका हुन्। 

‘माओवादी, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ । म प्रस्ताव गर्न चाहन्छु, अढाई वर्ष सरकार चलाउन समाजवादीलाई दिउँ । प्रचण्डजी पहिला, त्यसपछि माधवजी (माधव नेपाल) बन्ने कुरा छ । कांग्रेसका मन्त्रीहरू सबै फिर्ता गरौँ । हामीले फ्लोरबाट समर्थन गरौँ’, थापाले भने ‘पछाडिको अढाई वर्ष कांग्रेस एक्लैले सरकार चलाऔँ। एक्लै चलाउँदाको जस र अपजस दुवै कांग्रेसले लिन्छ। ’

कांग्रेस नेता शेखर कोइराला, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत नेताले सार्वजनिक रूपमै सरकार बदल्नुपर्ने मुद्दा अघि सारिरहेका वेला थापाले समेत कांग्रेस र समाजवादी मोर्चाले आधा–आधा समय एक्लाएक्लै सरकार चलाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेका हुन्।

एकजुट छैनन् इतरपक्ष

सरकारको विकल्प खोज्ने माग गरे पनि इतरपक्ष एकजुट हुन भने सकेका छैनन्। ​विशेष गरी प्रचण्ड सरकारको विकल्पको माग गर्दै आएका शेखर कोइराला र गगन थापाबीच पछिल्लो समय सामिप्यता छैन। गएको महाधिवेशनमा कोइराला प्यानलबाटै महामन्त्रीमा निर्वाचित भए पनि त्यसयता थापा कोइरालाबाट टाढा नै रहँदै आएका छन्। 

पछिल्लो समय आफ्नै समूह बनाउनेतर्फ थापा सक्रिय रहेको देखिन्छ। वर्तमान सरकार र सरकारमा रहेका कांग्रेसकै मन्त्रीको भूमिकाको विषयमा पार्टीमा प्रश्न उठाउने अर्का नेतामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल पनि पर्छन्। 

थापा, शर्मा र पौडेलबीच पछिल्लो समय केही निकटता देखिए पनि उनीहरूले एकजुट भएर सशक्तरूपमा आफ्ना कुरा राख्न नसक्दा पनि सँस्थापनपक्षले उनीहरूको कुरा सुनुवाइ नगरेको कांग्रेस नेताहरू बताउँछन्। 

इतरपक्षको नेतृत्व गरिरहेको भनिएका कोइराला पनि शर्मा, थापा र पौडेललाई पछिल्लो समय आफूतिर तान्ने प्रयासमा त्यति लागेका देखिँदैन। जसले गर्दा पार्टीमा उनी कमजोर देखिएका छन्। 

विकल्प खोज्न तयार छैन संस्थापनपक्ष

​कांग्रेसको इतरपक्षलेसार्वजनिकरूपमै सरकारको विकल्प खोज्नुपर्ने प्रस्ताव गरिरहँदा पनि सँस्थापन पक्ष भने त्यसका लागि तयार छैन। ​सँस्थापनपक्षका सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' तत्काल वर्तमान सरकार तलमाथि गर्ने योजनामा कांग्रेस नरहेको बताउँछिन्। 

‘वर्तमान सरकारको विकल्पको बारेमा क–कसले के-के बोल्नुभयो, त्यो उहाँहरूको निजी विचार हो। आधिकारिकरूपमा कांग्रेस तत्काल वर्तमान सरकार तलमाथि गर्ने योजनामा छैन’, उनले भनिन्। उनले समग्र सरकार नभई सरकारमा रहेका केही मन्त्रीको कामको प्रभावकारिताका विषयमा भने पार्टीमा प्रश्न उठेको बताइन्। 

‘सरकारमा सहभागी कांग्रेसकै मन्त्री र अरू पार्टीका मन्त्रीको पनि भूमिकाका विषयमा पार्टीमा छलफल भएको छ। गठबन्धनबाट जितेर सरकारमा गएका मन्त्रीहरूले पनि पार्टीगत व्यवहार गरेको भन्ने कुरा आएको छ। यस विषयमा गठबन्धनमा नै छलफल हुन्छ’, उनले भनिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.