|

जलेश्वर : मिथिलाञ्चलमा जितिया पर्व शुरु भएको छ। पुत्रप्राप्ति सन्तानको दीर्घजीवन तथा पारिवारिक सुखशान्तिको कामना गर्दै  जितिया पर्व मनाउन लागिएको हो।

जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो। व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र पितृलाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छन्।

त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए।

यस पर्वमा यहाँका व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन्।  पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ।

व्रत बस्नु अघिल्लो दिन व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ। देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ। व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। यसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ। प्रत्येक महिलाले अनिवार्यरूपमा कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ।

त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ। प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ। त्यसपछि उपवासको क्रम शुरु हुन्छ। 

जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झा सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक साँस्कृतिक तथा तान्त्रिक महत्त्व रहेको बताउँछन्। 

पितृ पक्षमा मनाइने पर्व भएकाले महिलाले पितृलाई पिण्ड पनि चढाउँछन्। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया पवित्र व्रत मानिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.