|

धनकुटा :  धनकुटा बसपार्कमा मानिसहरू भेला भइरहेका थिए। त्यसैबीचमा एकातिरबाट एउटा गाडी र अर्कोतिरबाट एउटा मोटरसाइकल आइरहेका थिए।

हेर्दा हेर्दै ती सवारी ठोकिएर भयंकर दुर्घटना हुन्छ। मोटरसाइकलमा सवार भुइँमा अलपत्र अवस्थामा लडिरहेका हुन्छन्। त्यहिबेला कोही भने ‘ऐया मरे... बचाउ बचाउ, मत मरे बचाउ बचाउ’ भन्दै कोही कराउन थाल्छन्।

त्यसपछि मानिसको ठूलो हुल आएर गाडि चालकलाई मराणासन्न हुने गरि कुटपिट गर्छन्। लगत्तै एम्बुलेन्स, त्यस लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गाडि साइरन बजाउँदै गाउँमा पुगेर व्यक्तिगत सुरक्षा तयारीका साथ उद्धार कार्य तीबव्र पार्छन् । खुल्ला ठाउँमा रेडक्रसकर्मीहरू प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्यो। गम्भीर घाइतेलाई थप उपचारका लागि एम्बुलेन्समार्फत अन्यत्र उपचारको लागि पठाउन थालिन्छ।

झट्ट हेर्दा धनकुटाको बसपार्कमा ठूलै दुर्घटना भएजस्तो देखिन्थ्यो। तर, त्यहाँ वास्तविक कुनै दुर्घटना नभइ जिल्ला विपद व्यवस्थापन समितिले आयोजना गरेको सडक दुर्घटनामा आधारित कृत्रिम घटना हो यो। सवारी दुर्घटना आइलागे कसरी पूर्व तयारी गर्ने भनेर कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी अभ्यास गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

उनले दुर्घटना भएमा कसरी उद्धार कसरी गर्ने भन्ने, कसरी तयारी गर्ने र पूर्व तयारी गर्ने भन्नेबारे योजना बनाउन सहज हुने पौडेलले जानकारी दिए। दुर्घटनाका समयमा मानवीय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको पौडेलको भनाइ छ।

अझ नजिकिँदै गरेको चाडपर्वमा दुर्घटना कसरी कम गर्ने भन्ने तयारी गर्नपनि सहज भएको उनको भनाइ छ। नेपाल सरकारको विपद तयारी तथा प्रतिकार्य योजना मार्ग दर्शन २०६७ को प्रथम संशोधन २०७६ अनुसार कुनै पनि विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिसकेपछि त्यसलाई प्रमाणीकरण गर्न अभ्यास गर्नुपर्छ भन्ने मार्ग निर्देशन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.