एक जनालाई मतदान गर्न झण्डै २० मिनेट

|

पर्वत : गत सोमबारदेखि पोखरामा सुरु भएको नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनमा आज चौथो दिन नेतृत्व चयनको लागि मतदान सुरु भएको छ।

तेस्रो दिनसम्म आइपुग्दा पनि कमिटी निर्माणका लागि सहमति हुन नसकेपछि अन्ततः बिहीबार दिउँसो करिब साढे एक बजेबाट मतदान सुरु भएको निर्वाचनमा सहभागी नेकपा (एमाले) पर्वतका सचिव गोविन्द पहाडीले बताए।

मतदान केन्द्रमा ३२ वटा विद्युतीय मेसिन जडान गरिएको तर एक जना व्यक्तिले मतदान गर्न लामो समय लागेकाले साँझ अबेरसम्म मतदान चल्ने देखिएको उनले बताए।

‘करिब एक घण्टा अगाडिबाट मतदान सुरु भएको छ। भित्र ३२ वटा विद्युतीय मेसिन जडान गरेर मतदान भइरहेको भन्ने छ। मतदान गरेर फर्किनुभएको एक जना साथीले १८ मिनेट लागेको बताउनुभयो’, पहाडीले भने, ‘यो भने निर्धारण गरिएको पाँच बजेसम्मको समयमा मतदानको काम सकिँदैन। त्यो समयसम्म भित्र छिरिसक्ने र गेटभित्र पसेकाले अबेरसम्म मतदान गर्ने अवस्था आउने देखिन्छ।’

महासचिव शङ्कर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै अघोषित ‘प्यानल’ तयार भएर निर्वाचनमा होमिएका छन्। पार्टी उपाध्यक्ष विष्णु पौडेल र गुरूङ एकातिर रहँदा शङ्कर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी अर्को समूहमा देखिएका हुन्।

गुरुङ समूहको तर्फबाट प्रदेश कमिटीका वर्तमान अध्यक्ष म्याग्दीका नवराज शर्मा नै अध्यक्षका उम्मेदवार बनेका छन् भने स्थायी कमिटी सदस्य अधिकारी समूहबाट केन्द्रीय सदस्य लमजुङका मायानाथ अधिकारी दाबेदार छन्।

गुरुङ समूहको उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र उपसचिव महिलामा पर्वतकी मञ्जु अधिकारी रहँदा अधिकारी समूहको उपाध्यक्षमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का बाबुराम बि.क, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र उपसचिव महिलामा कास्कीकी मिना गुरुङ उम्मेदवार तय भएका छन्।

अध्यक्षमा नै लड्न वर्तमान कमिटीका उपाध्यक्ष मोहन रेग्मी (स्याङ्जा), वर्तमान सचिव धनञ्जय दवाडी (लमजुङका), एमाले बागलुङका अध्यक्ष हिराबहादुर के.सी. नाम पनि चर्चामा आएका थिए। तर प्यानललाई मिलाउँदा इच्छुक सबैले पाउने सम्भावना भने रहेन। तर लमजुङका दवाडी भने गुरुङ समूहबाट सचिव पदका उम्मेदवार बनेका छन्।

अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै एक सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि अधिवेशनमा सहभागी छन्। एक सय ६५ पदका लागि तीन सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अधिवेशनमा विभिन्न क्लस्टरमा २७ जना निर्विरोध निर्वाचित भएका छन्।

विद्युतीय मतदान भएकाले मतदान सकिएको करिब दुई घण्टामा नतिजा निकाल्न सकिने एमाले गण्डकीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.