विश्वासको मत लिने पूर्वसन्ध्यामा प्रदेश खारेजीको माग

|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते शनिवार विश्वासको मत लिँदै छन्।

नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिने व्यवस्था भएकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।

कार्कीले अहिलेको अवस्थामा विश्वासको मत पाउने सम्भावना भने निकै कम छ। एमालेको सहयात्री रहेको दल राप्रपाले समेत कार्कीलाई विश्वासको मत दिने अवस्था नरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार राप्रपा समेत सदन जोगाउने तयारीमा रहको छ। ‘योपटक एमालेले संसद्‌मा छलेर जाने कुरामा राप्रपा जाँदैन। राप्रपाको प्रधानमन्त्रीसँग पनि कुरा भएको छ’, स्रोतले दाबी गर्‍यो। विश्वासको मत नपाए कार्की पदमुक्त हुनेछन्।

त्यसपछि संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु हुन्छ। संविधानको धारा १६८ (५) बाट बनेको सरकारले पनि विश्वासको मत नपाए मध्यावधि निर्वाचनमा जान्छ। यद्यपि प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दल मध्यावधिमा जान चाहका छैनन्। बुधबार प्रदेशसभामा बोल्दै दलका नेताहरूले सबै मिलेर अघि जानुपर्नेमा जोड दिएका थिए। सरकार बनाउने होडबाजीलाई छोडेर समन्वयात्मक ढंगमा अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।

विश्वासको मत लिने पूर्वसन्ध्यामा प्रदेश खारेजीको माग

पछिल्लो समय राजनीतिक दलहरूको बढ्दो खिचातानीले जनतामा वितृष्णा छाएको छ। देश संघीयतामा गएसँगै पहिलोपटक २०७४ मा भएको तीन तहको निर्वाचनमा जनतामा उत्साह थियो। २०७९ सम्म आइपुग्दा त्यो रहेन। सत्ता जोगाउन मात्रै लागेको भन्दै सांसदले जनअपेक्षाअनुसार काम नगरेको भन्दै यतिवेला जनताले प्रदेश खारेजीको माग गरेका छन्। जनताका लागि प्रदेश महँगो भएको उनीहरूको आरोप छ। चुनौतीपूर्ण अवस्थामा अब कोशी प्रदेश सरकारले जनभावना बुझ्ला या कुर्सीको लडाइँमा व्यस्त होला भन्ने बहस हुन थालेको छ।

शनिबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै गर्दा प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल र्‍याली निकालिने भएको छ। कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजार परिक्रमा गरी पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको हो।

अभियानको नेतृत्वमा रहेकामध्ये नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि विशाल भादुडीले देश आर्थिक रूपमा टाट पल्टन थाल्दा समेत प्रदेश तहको संरचनाले खर्च बाहेक बाँकी केही काम नगरेको निष्कर्ष निकाली खारेजीको माग गर्न लागिएको बताए। उनले संविधानअनुसार संघीयताको मर्म अब संघ र स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने तर प्रदेश पूर्णतः खारेज गरी खर्च कटौती हुनुपर्ने उनको भनाइ छ।

मुख्यमन्त्री बन्न कुदाकुद

कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएको खण्डमा पाँचौँ मुख्यमन्त्रीका लागि कुदाकुद सुरु भएको छ। दुईपटकसम्म विश्वसको मत पाउन नसकेको नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापा आफू पुनः मुख्यमन्त्रीको लाइनमा रहेको बताउँछन्।

कोशी प्रदेश एकीकृत समाजवादीको भागमा परे पनि आफू मुख्यमन्त्री बन्ने लाइनमा नरहेको पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई बताउँछन्। उनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीका लागि अघि सारेको समेत बताए।

संसदीय अंकगणित

९३ सांसद रहेको काशी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सदस्य चाहिन्छ। एमालेको उपसभामुखसहित ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जनता समाजवादीका १ जना सांसद रहेका छन्। एमालेले राप्रपाको सहयोगलाई कायम राख्न सकेर उपसभामुख दनुवारलाई राजीनामा गराएको खण्डमा मात्रै ४६ मत पुर्‍याउन सक्ने देखिन्छ।

यदि उपसभामुख दनुवारको राजीनामा नआए सांसदमा यसअघि रहेको ४६ मत पुर्‍याउन समेत मुख्यमन्त्री कार्कीलाई चुनौतीपूर्ण छ तर उपसभामुख दनुवार राजीनामा दिने अवस्थामा नरहेको एक सांसदले बताए।

‘उपसभामुखले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन। उहाँलाई दलसँग मिलेर प्रदेशसभालाई मध्यावधिमा लग्ने भूमिका खेलको भन्ने आरोप छ।’ ती सांसदले भने, ‘केन्द्रको दबाब आयो भने भन्न सकिन्न तर प्रदेशकै नेताहरूले भन्दैमा उहाँले राजीनामा दिनुहुन्न। उहाँले राजीनामा दिँदा सांसद मात्रै जाँदैन, उपसभामुख पद पनि जान्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.