|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शनिवार पदबाट राजीनामा दिए।

सोही क्रममा उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनुको विकल्प नभएको बताए। कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै यतिवेला संविधानको धारा १५८ को उपधारा(५) अनुसार कसको नेतृत्वमा सरकार बन्छ भन्ने बहस सुरु भएको छ। त्यसो त दलहरूले आपसमा भेटघाट र छलफललाई तीव्रता दिइरहेका छन्।

कोशी प्रदेशको राजनीतिक समीकरण र सरकारलाई स्थायित्व दिन दुई ठूला दल एमाले र काँग्रेस मिलेर सरकार गठन गर्नुपर्नेमा काँग्रेसकै शीर्ष नेताहरूले बताउँदै आएका छन्। यद्यपि यसमा पार्टी अध्यक्ष सकारात्मक नरहेको चर्चा चुलिएको छ।

दललाई मध्यावधिको त्रास 

दलहरूबीचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने कार्की बताउँछन्। उनले आफ्नो कुरालाई मात्रै जोड दिने हो भने मध्यावधि कसैले टार्न नसक्ने बताउँदै प्रदेश संरचना खारेजको माग भइरहेको विषयलाई मद्देनजर गर्दै आगामी कदम चाल्नुपर्ने उनले जोड दिए।

मध्यावधि निर्वाचनको पक्षमा कुनै पनि माहोल नभएको भन्दै उनले मध्यावधि रोक्न आफूहरू सहयोग गर्न तयार भएको बताए। एमाले काँग्रेस र माओवादीसँग पूर्वाग्रह नराखी सहमतिका साथ अगाडि बढ्न तयार रहेको बताउँदै कार्कीले आफू चार वर्ष प्रतिपक्षीमा बस्न तयार रहेको बताए।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले दलहरूबीच छलफल भइरहेको बताउँदै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए। आफूहरूको दलले नै सम्पूर्ण दललाई जोड्ने मुख्य भूमिका खेल्नुपर्ने बताए।

‘सहमति गराउनलाई हामीले नै प्रमुख भूमिका खेल्नुपर्छ, काँग्रेस र एमालेलाई जोड्ने माओवादीलाई जोड्ने यसमा छलफल भइरहेको छ’, उनले भने, ‘कहिलेकाहीँ परिस्थिति नै तँ बसिदे भन्ने आउँछ, त्यस्तो आयो भने जिम्मेवारी पूरा गर्छु तर ६ जना सदस्य बोकेर मलाई मुख्यमन्त्री बनाइदे भन्नु पनि भएन तर आएर बसिदिनु पर्‍यो भन्दा भन्नुभयो भने अवस्था हेर्नुपर्छ।’

उनले प्रदेश प्रमुखले तोकेको समयसीमाभित्र प्रदेश सरकार गठन हुने दाबी गर्दै प्रदेश मध्यावधि निर्वाचनमा नजाने जिकिर गरे।

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेशको विकल्प सहमति र सहकार्य रहेको बताए। थापाले कुनै पनि दलहरूसँग स्पष्ट बहुमत नभएको बताउँदै सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने बताए।

‘हामी कसैसँग बहुमत छैन, प्रदेशको विकल्प नै सहमति र सहकार्य हो। गठबन्धन भएर पनि हामीसँग बहुमत छैन’, उनले भने, ‘त्यसले गर्दा अब हामीले धारा ३ मा गर्न सकेनौँ, अब ५ मा प्रयास गर्छौ।’ उनले सरकार बनाउन गठबन्धन तोडेर एमालेसँग सहकार्य नगर्ने बताउँदै गठबन्धनले जसको नेतृत्वमा निर्णय त्यसलाई कार्यान्वयन गरेर सफल बनाउने दाबी गरे।

मुख्यमन्त्रीको दाबी कुन–कुन दलको ?

मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएलगत्तै नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन्। काँग्रेस संसदीय दलका नेता थापाले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी रहने बताएका छन्। यसअघि दुईपटक मुख्यमन्त्री बन्ने मौका पाए पनि काम गर्ने अवसर नपाएको बताउँदै उनले आफ्नो दाबी रहने बताए।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको दाबी रहेको बताउँछन्। काँग्रेसले दुईपटकसम्म सरकार बनाएर विश्वासको मत प्राप्त गर्न नसकेको बताउँदै उनले अबको सरकार माओवादीको नेतृत्वमा हुनेपर्ने उनले जोड दिए।

उनले काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताउँदै उनले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ।’

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताए। उनले यदि दलबीचको छलफल हुँदा नेतृत्वको विषयमा कुरा नमिले आफ्नो दाबी रहन सक्ने समेत संकेत गरेका छन्।

धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ। सरकार गठनका लागि बाटो खुले पनि अहिलेसम्म कोशी प्रदेशको सरकारको नेतृत्व कसले गर्ने भन्ने केन्द्रका शीर्ष नेताको भरमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.