|

डोल्पा  : डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकोले डोल्पामा नुनको अभाव भएको हो।

अहिले सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ। सदरमुकामस्थित डिपोमा ४९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए।

उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो। जिल्लाभरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले ५ पोका दिने गरेको प्रमुख धामीले बताए।

सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपोहरु रित्ता भएका छन्। उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्षदेखि एक पोका नुन ढुवानी भएको छैन। चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि पाँच वर्षदेखि नुन ढुवानी हुन नसकेको धामीले बताए।

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकामस्थित डिपोमा नुन लिन पुग्दा समस्या भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयबासी राजिमान बुढाले बताए।

बुढाले भने, ‘नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातिर छ भने अर्कोतिर सदरमुकाम दुनैस्थित साल्ट ट्रेडिङले प्रतिपरिवार २ पोकाका  दरले नुन बिक्री गर्दै आइरहेको छ। सरकारले सहुलियत दरमा अनुदान दिएको २ पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँसम्म खर्च हुने हुने गर्छ।’

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ। साल्ट ट्रेडिङ डोल्पा डिपोको अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो। यी पाँच वटै विक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए। साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए।

यता, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभरि नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल बिक्री केन्द्रबाट ५० क्विन्टल नुन ल्याउन लागेको बताए। नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले बताए। लिकु, सर्मी, तिज्ने  लगायतका डिपोमा एक पोका पनि नुन नभएको कार्यालय प्रमुख धामीले बताए।

सदरमुकाम देखि बाहिरका डिपोमा कर्मचारी समेत नभएको अवस्थामा रहेको छ। ठेकेदार आफैँले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ।

भेरी करिडोरको सडक मर्मत नभएका कारण थप ढुवानीमा समस्या हुँदै आएको छ। गाउँको डिपोमा लामो समय देखि आयोडिनयुक्त नुन नभएको पाइएको छ। सदरमुकाममा मात्र नुन राखेर जिल्ला भरी सोही नुन बिक्री हुँदै आएको छ।

गाउँमा नामका मात्र डिपो भएका कारण यहाँका सर्वसाधारणले नुन नपाएका हुन्। जनप्रतिनिधिहरुले पटक-पटक नुनको माग गर्दा पनि सुनुवाइ नभएको उपल्लो डोल्पामा जनप्रतिनिधिले बताएका छन्। डोल्पाबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले उपल्लो डोल्पाका कुरा सरकारले नसुनेको बताए। चामल, नुन ढुवानी नभएको पाँच वर्ष भयो यो सरकारले के हेरेर बसेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.