गठबन्धन दलकै सांसदलाई मुख्यमन्त्री दिएर सरकार बनाउने खेलमा एमाले

|

विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिए।

कार्कीले राजीनामा दिएसँगै यतिबेला कोशी प्रदेशको नेतृत्वको बागडोर कसको हातमा पर्ने हो भन्ने छलफल र बहसको विषय बनेको छ भने नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समयअनुसार अब ४ दिन बाँकी छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले २६ गते बेलुका ५ गतेसम्मका लागि नयाँ सरकार गठनको समय दिएका छन्। संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न आह्वान भएसँगै यतिबेला कोशी प्रदेशमा मुख्यमन्त्री बन्न गठबन्धन दलभित्रै लर्को लागेको छ।

दलहरुबीच छलफल र भेटघाटको क्रम बाक्लो भए पनि प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने अझै सहमतिको अन्तिम बिन्दुमा पुग्न सकेको छैन।

यता, गठबन्धन दलहरु एमालेबाहेक राप्रपासँग सहमति गरेर सरकार बनाउने तयारीमा रहेका छन् तर एमालेले भने गठबन्धन दलकै केही सांसदलाई मुख्यमन्त्री दिएर सरकार बनाउने खेल खेलिरहेको छ।

एमालेले गठबन्धन दलभित्रका धेरै सांसदहरुलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर सरकार बनाउने खेल खेलिरहेको श्रोतले जनाएको छ। स्रोतका अनुसार एमालेले गठबन्धन दलभित्रका कतिपय सांसदहरुलाई उनीहरु अगाडि बढ्ने भए एमाले तयार रहेको भन्दै प्रस्ताव अघि सार्ने गरेको छ।

उक्त श्रोतले भन्यो, ‘एमालेले अगाडि बढ्नुहुन्छ भने हामी छौँ भनेर प्रस्ताव गरेको रहेछ।’

एमालेको नजरमा परेका सांसदहरु

सत्ता ढाल्ने र जोगाउने खेलको चेपुवामा परेको कोशी प्रदेशमा नेताहरुले केही संवेदनशीलता अपनाउन नसके मध्यावधि निर्वाचनमा जाने सम्भावनामा छ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न अन्तिम विकल्प  रहेको छ। यो विकल्पमा सरकार नबने वा बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके स्वतः प्रदेशसभा मध्यावधि निर्वाचनमा जानेछ।

यस्तो अवस्थामा एमालेले गठबन्धन दललाई बिथोल्नकै लागि झण्डै आधा दर्जन गठबन्धनका सांसदहरुलाई मुख्यमन्त्रीको आश्वासन दिएर फकाइरहेको समेत श्रोतले जनाएको छ।

नेपाली काँग्रेसका केदार कार्की, माओवादी सांसद दुर्गाप्रसाद चापागाईं, माओवादी सांसद तथा पूर्वसभामुख बाबुराम गौतम, काँग्रेस नेता भीम पराजुली र अमृत अर्यालसम्मलाई मुख्यमन्त्री दिने प्रस्ताव गरेको स्रोतको दाबी छ।

काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेको काँग्रेस नेता शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग प्रदेशमा मुख्यमन्त्रीका लागि भेटवार्ता गरिरहेको पनि बताइएको छ।

यता, माओवादी केन्द्रमा कुनै पनि सांसदको मुख्यमन्त्रीमा दाबी नरहेको दलका नेता इन्द्र आङ्बो बताउँछन्। काँग्रेसका लागि सभामुखको पदसमेत त्याग्नु परेकाले अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्नेमा उनको जोड छ।

माओवादी केन्द्र संसदीय दलको बैठकमा सहमतिको सरकारको प्रस्तावमा माओवादीकै सांसद गणेश उप्रेतीले असहमति जनाएका थिए। दल र पार्टी नेताहरुको संयुक्त बैठकमा दलको नेताको विकल्प अरु केही नसोच्ने आधिकारिक निर्णय भएको समेत दलका नेता आङ्बोले जानकारी दिए।

एमालेले बनाउन चाहेको मुख्यमन्त्रीमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासमेत परेको श्रोतको दाबी छ। तर सिटौला भने ६ वटा सदस्यलाई बोकेर मुख्यमन्त्री देऊ भन्न नमिल्ने बताउँछन्।

कहिलेकाहीँ परिस्थितिले बन् भन्ने अवस्था आँउदा त्यस्तो अवस्थामा पछि नहट्ने पनि उनी बताउँछन्। त्यसो त काँग्रेस संसदीय दलका नेता  उद्धव थापाले पनि गठबन्धन बाहिरबाट सरकार बन्ने अवस्था नरहेको बताउँदै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.