|

विराटनगर : कैलासदेवी स्वर्णकार शोकमा डुबेकी छन्। उनीसँगै घरपरिवारमा उदासी छाएको छ। थाहा छैन, यो शोकबाट उठ्न उनी कतिपटक मूर्च्छा पर्नुपर्ने हो।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–११ पटवारी टोलका राजेश स्वर्णकारको इजरायलमा मृत्यु भएको खबर आइतबार साँझ परिवारसमक्ष आयो। त्यो खबर सुनेदेखि ५० वर्षीया कैलासदेवी अर्धचेत अवस्थामा छिन्। कान्छो छोरा गुमाउनुको पीडा आमासँगै परिवारलाई बाहेक कसलाई थाहा हुँदो हो। राजेशले परिवारसँग दश दिनअघि मात्रै भिडियो कल गरेका थिए। त्यही नै अन्तिम संवाद बन्यो। 

पुत्रवियोगले छटपटिएकी कैलासदेवी बेहोस हुँदा घरको माहोल स्तब्ध छ। होस खुलेसँगै उनको क्रन्दनले घरको पर्खाल छिचोल्दै बाहिरसम्म निस्किन्छ। उनको रुवाइको आवाज हावाको झोक्कासँगै मिसिएर राजेशले कहीँ कतैबाट सुनिरहेको झैँ महसुस गर्न सकिन्थ्यो।

कैलासदेवीको रुवाइ थाम्ने उनका श्रीमान् ५६ वर्षीय राजकुमार स्वर्णकार (राजेशका बुवा) किंकर्तव्यविमूढ देखिन्थे। छोरा मान्छे रुनुहुन्न भन्ने भनाइले होला राजेशका बुवाको आँसु आँखाको डिलदेखि बाहिर झर्न सकेको थिएन तर उनको मूकताभित्र गम्भीर चोट दबिएको महसुस गर्न सकिन्थ्यो। 

राजेशले मंगलवारसम्म ‘घरखर्च’ पठाइदिने बताएका रहेछन्। इजरायल पुगेपछिको आफूले काम गरेबापत पहिलो महिनाको तलबबाट एक लाख रुपैयाँ पठाइदिने कुरा गरेका रहेछन्।

लामो सास फेर्दै राजेशका बुवाले भने, ‘पैसा पठाइदिन्छु भन्थ्यो, आज दैव लाग्यो।’ राजेशको परिवारले आतङ्ककारीको हमलाबाट छोरा गुमाउनुपर्ने पीडा सहनुपर्छ भन्ने कल्पनासम्म गरेका थिएनन्।

शनिवारदेखि गाजा क्षेत्रबाट लगातार इजरायलमा आक्रमण भएको खबर सुनेदेखि स्वर्णकारको परिवार त्रस्त थियो। बाआमा नआत्तिएका पनि होइनन् तर यस्तो अत्यासलाग्दो खबर सुन्न पर्ला भन्ने नलागेको राजेशका ठूल्दाइ मुकेश बताउँछन्।

‘हमलापछि राजेशसँगै काममा खटिने अन्य साथीहरूलाई सोध्दा राजेश आफूहरूसँग बंकरमा नरहेको खबर पाएका थियौँ, नजिकको अरू बंकरमा लुकेर बसेको हुन सक्ने खबर घरमा आइपुगेको थियो’, उनले भने, ‘यताबाट गरेको फोन नउठ्दा केही शंका त थियो तर हामीलाई धेरै आस थियो।’

आँसु थाम्दै मुकेशले आइतबार साँझ सामाजिक सञ्जालमा इजरायलमा ज्यान गुमाएका नेपालीहरूको मृतकको सूची सार्वजनिक हुँदासम्म भाइ गुमेको खबर पत्तो नपाएको बताए। उनले भने, ‘पल्लो घरकी भाउजूले भाइको नाम फेसबुकमा देख्नु भएछ। त्यो हामीलाई देखाएपछि अनि त...... उनी मौन भए।’ 

टीकापुरमा बीएस्सी एजी सकेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २८ दिनअघि मात्र इजरायल पुगेका २३ वर्षीय राजेश स्वर्णकार सानैदेखि पढाइमा अब्बल थिए। छात्रवृत्ति पाएर उनले टीकापुरमा पढेका थिए। त्यहीँबाट स्नातक तहको पढाइ सकेर विश्वविद्यालयकै मागमा ११ महिनाका लागि इजरायल उडेका थिए।

दश दिनअघि मात्रै घरमा भिडियो कलमार्फत देखाउँदै राजेशले आफू गाजा क्षेत्रको सिमानामा भएको बताएका थिए। सीमा क्षेत्र अलि विवादित रहेको र ‘युद्ध हुन सक्छ’ भन्दा परिवार निकै आत्तिएका थिए। त्यसो त उनले युद्ध हुन सक्ने भन्दै भिडियो कलमार्फत युद्धबाट बच्न उः त्यो बंकर हो भन्दै देखाएका पनि थिए।

भिडियो कलमा राजेशले भनेको स्मरण गर्दै उनका दाइले भने, ‘युद्ध भयो भने यहाँ छिर्ने हो।’ दश दिनअघि देखाएको त्यही बंकरभित्र पस्न नपाउँदै राजेश इजरायली माटोमा अस्ताए।

उनका दाइ मुकेश भाइको सम्झनामा भक्कानिदै भन्छन्, ‘मलाई त इजरायल भनेको थियो, सुरक्षित छ भनेको थियो। सिमानामा पर्छ भन्ने थाहा पाएको भए म त जानै दिन्नथेँ।’

​त्यसो राजेश इजरायल जाने निर्णयमा परिवारका सदस्यहरू तयार थिएनन्। इजरायल जानुभन्दा अरू कुनै विकसित देश जान राजेशलाई परिवारले सुझाएका समेत थिए। उनले इन्टर्न पनि हुने र अलिअलि पैसा पनि हुने भन्दै ११ महिनाका लागि इजरायल जान परिवारले स्वीकृति दिएको थियो।

पढाइका कारण धेरै समयदेखि घरबाहिर रहेकाले राजेश परदेशिए पनि कसरी बस्छ भन्ने चिन्ता भने थिएन। राजेशका आमाबाले घरको काम गर्दै छोराहरू हुर्काएका थिए। उनका बुबा राजकुमार कोशी गाउँपालिकामा चौथो तहमा काम गरिरहेका छन्।

चार छोरामध्ये तीन छोरालाई इन्जिनियरिङ पढाएका राजकुमारले राजेशलाई भने कृषि पढाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.