|
फाइल फोटो

जुम्ला : तातोपानी गाउँपालिकाको मार्सी धानबालीमा नेक ब्लाष्ट (घाँटी मरुवा)  रोग देखा परेको छ। भित्र्याउने वेला भएको धानबाली रोगले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन्।  

स्थानीयवासी धनप्रसाद चौलागाईँले  ब्लाष्ट रोगको समस्याले धानबालीमा क्षति पुर्‍याएको बताए। उनको खेतमा करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो। त्यही उत्पादनले वर्षभरि पुग्थ्यो। खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। 

तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सीधान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए।

कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासि धानमा सङ्क्रमण भएको नेक ब्लाष्ट रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उनले बताए।

सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईँको भनाइ छ।

कार्यापालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई राहत प्रदान गर्ने उपाध्यक्ष रेवती रावलले बताइन्। चन्दननाथ नगरपालिकाको–९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन्। 

जिल्लामा अहिले तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। पछिल्लो समय स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिकरूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलंगा बजारमा सञ्चालन गर्ने पसलका सञ्चालक बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.