|

बाँके : जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन नेपालगञ्जवासी जुटेका छन्। 

भूकम्पमा परी उपचारका लागि आएका रुकुमपश्चिम र जाजरकोटवासीका लागि नेपालगञ्जमा शनिबार ८० पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए।  

उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएका गम्भीर घाइते बिरामीलाई रगतअभाव हुन नदिन खुला रक्तदानमार्फत् रगत संकलन गरिएको हो। नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा १५८ पिन्ट रगत मौज्दात रहे पनि आकस्मिक अवस्थाका लागि थप मौज्दात गर्न रगत संकलन गरिएको हो। 

भूकम्पका घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाई सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रहबमोजिम ठूलो सङ्ख्यामा रगत दिन स्थानीय युवा रक्तसञ्चार केन्द्रमा पुगेको मल्लले बताए।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३८ पुगेको छ। भेरी अस्पताल नेपालगञ्जमा ३७ जनाको उपचार भइरहेको छ। कोहलपुर शिक्षण अस्पतालमा एकजनाको उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.