राज्य काेषकाे दाेहन

|

काठमाडौँ : अर्थ मन्त्रालयले चालु खर्च कटौतीका लागि भन्दै सबै मन्त्रालय, विभाग तथा निकायका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा मितव्ययिताको मार्गदर्शन जारी गरेको थियो। 

मन्त्रालयले जारी गरेको मार्गदर्शनमा ‘कूटनीतिक महत्व र अन्तर्राष्ट्रिय सम्बन्धका कारण अनिवार्यरूपमा सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय सभा, सम्मेलन र अन्तरसरकारी बैठकमा मात्र सहभागी हुने व्यवस्था मिलाउनुपर्नेछ,’ भनिएको छ। 

देशको आर्थिक अवस्था कमजोर भएकाले अनावश्यक विदेश भ्रमण रोकेर राज्यको खर्च कटौती गर्न मार्गदर्शन जाारी गरेको अर्थ मन्त्रालयका मन्त्री नै विदेश भ्रमण गर्नेहरूको लिष्टमा अगाडि देखिएका छन्। 

चालू आर्थिक वर्षको साउनदेखि हालसम्म साढे ३ महिनाको अवधिमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चारवटा देशको भ्रमण गरेका छन्। यस अवधिमा जी–२० को अर्थमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका थिए।  

अर्थमन्त्री डा. महत असोज ८ देखि ९ गतेसम्म इजिप्टको 'शार्म ए शेख'मा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभनर्सको आठौँ वार्षिक बैठकमा सहभागी हुन इजिप्ट पुगेका थिए। 

डा. महत विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मोरक्को पनि गएका थिए। डा. महत लण्डन म्यान्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन उनी बेलायतको लण्डनसमेत पुगे। 

देशमा आर्थिक संकटको मार छ। व्यापार, व्यवसाय कोरोना संक्रमणदेखि उठ्न सकेको छैन। धमाधम व्यवसाय छोडेर व्यवसायीहरू विदेश पलायन भइरहेका छन्। आर्थिक अभावका कारण जनताले चाडवाड पनि राम्रोसँग मनाउन सकेका छैनन्। आर्थिक समस्या कै कारण नागरिकहरू सार्वजनिकरूपमा आत्मदाहसमेत गर्न बाध्य भइरहेका छन्। 

सरकारका मन्त्री, सचिव र सहसचिवहरूले आर्थिक मितव्ययितालाई खिल्ली उडाउँदै विदेश भ्रमण जाने क्रमलाई तीव्रता दिएका छन् । विदेश भ्रमणमा कडाइ गर्ने नीति लिएको सरकार त्यसलाई कार्यान्वयन गर्न आफैँ असफल देखिएको छ।

यस्तो अवस्थामा पनि सरकारका मन्त्रीहरू भने राज्य कोषको दोहन गरी विदेश भ्रमणमा जान तँछाडमछाड गरिरहेका छन्। उनीहरूबीच को बढी विदेशमा जाने भन्ने होडबाजी नै चलेजस्तो देखिन्छ। सामान्य कर्मचारी गए हुने कार्यक्रममा पनि जाने र लामो समय विदेशमा नै बिताउने गरेका छन्। 

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने समयमा त्यसलाई बेवास्ता गर्दै मन्त्री सचिवहरू लगातार एकपछि अर्को गर्दै विदेश भ्रमणमा गइरहेका हुन्। कतिपय ठाउँमा मन्त्री मात्रै गए हुने भ्रमणमा सचिवहरू मन्त्रीसँगै गएको पाइएको छ।

मन्त्रीसँग मन्त्रालयका अन्य अधिकारीहरूलाई पठाए पनि हुने कार्यक्रममा सचिवहरू आफ्नो प्रतिष्ठालाई बिर्सिएर मन्त्रीको सहयोगीका रूपमा विदेश गइरहेको मन्त्रालयकै अधिकारीहरू बताउँछन्। 

देश आर्थिक अवस्था कमजोर बनिरहेका बेलामा उनीहरू राज्यको ढुकुटीबाट डलरमा दैनिक भत्ता बुझेर विदेश भ्रमण गइरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार सरकारी टोलीमा सहभागी भई विदेश भ्रमणमा जाँदा सामान्यतः एक साताको भ्रमणमा सहसचिव र सचिवको हकमा ५ हजार र मन्त्रीको हकमा १० हजार डलर खर्च हुने गरेको छ।

राज्यको ढुकुटीको पैसा डलरमा भत्ता बुझ्दै मन्त्रीहरूलाई विदेश भ्रमणमा जान भ्याइनभ्याइ छ। दिनँहु जसो कुनै न कुनै मन्त्री विदेश भ्रमणमा नै रहने गरेको ती अधिकारी बताउँछन्। 

को कुन देश गए? 

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले साउन ३१ देखि भदौ ३ गतेसम्म चीनको भ्रमण गरे। उनी सातौँ ‘चाइना–साउथ एसिया एक्स्पो’मा सहभागी हुन चीन गएका थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत, अमेरिका र चीनको भ्रमण गरेका छन्। तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतमा गरेका उनी भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क गएका थिए। असाेज ५ गते उनी न्यूयोर्कबाट सिधै चीन भ्रमणमा गए।  

प्रधानमन्त्रीको चीन भ्रमण १३ गतेसम्म चलेको थियो। अमेरिका र चीनमा गरी उनी लगातार १५ दिन देश बाहिर रहेका थिए। चीन भ्रमणमा प्रधानमन्त्रीसँगै अन्य तीन जना मन्त्री पनि थिए। 

चीन भ्रमणमा उनी दुई दिन राजनीतिक भेटघाटमा व्यस्त भए भने बाँकी दिन चीनका विभिन्न भूभाग घुमेर बिताए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि चीन भ्रमण गरेका छन्। बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सुरु गरेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी चीन गएका थिए। 

परराष्ट्रमन्त्री एनपी साउद साउनदेखि हालसम्म चारपटक विदेश भ्रमणमा निस्केका छन्। उनी दुईपटक अमेरिका, चीन र एक–एक पटक थाइल्यान्ड पुग्न भ्याए। साउद साउनको पहिलो साता बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन थाइल्याण्ड पुगेका थिए। 

भदौ २६ गतेदेखि असाेज ५ गतेसम्म अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघको ७८औँ महासभामा पुगेका उनी प्रधानमन्त्रीसँगै न्यूयोर्कबाट चीन पुगे। साउद कात्तिक १२ गते पुनः अमेरिका भ्रमणमा गए। उनी कात्तिक १९ गते अमेरिकाबाट फर्किएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत कात्तिकको पहिलो साता थाइल्याण्ड पुगेर फर्किएका छन्। बैंककमा कात्तिक २ देखि ३ गतेसम्म आयोजना भएको तेस्रो एसियन प्यासिफिक इनर्जी फोरमको बैठकमा सहभागी हुन उनी थाइल्याण्ड पुगेका थिए। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भारत र चीनको भ्रमण गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ३ महिनामा ३ देशको भ्रमण गरेका छन्। यो अवधिमा उनी दुई पटक भारत र एक पटक इजिप्ट पुगे।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु असोजको पहिलो साता चीनको होङझाओ सहरमा आयोजना भएको १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन सहारोहमा सहभागी हुन चीन गएका थिए। 

सहरी विकासमन्त्री सीता गुरुङले मलेसिया र नेदरल्यान्ड्सको भ्रमण गरिन्। उनी नेदरल्यान्ड्समा आयोजित पूर्वाधार लगानीसम्बन्धी कार्यक्रम र मलेसियाको क्वालालम्पुरमा कात्तिक ७ देखि ९ गतेसम्म आयोजना भएको कार्यक्रममा सहभागी भइन्। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सोही अवधिमा थाइल्यान्डको भ्रमण गरेका थिए। बैंककमा भदौ ५ र ६ गते आयोजित एक कार्यक्रममा उनी सहभागी भएका थिए। 

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी लैङ्गिक समानतासम्बन्धी एक कार्यक्रममा सहभागी हुन श्रीलंकाको कोलम्बो गएकी थिइन्। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले पनि चीन भ्रमण गर्न भ्याइन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाइली ठकुरीले दक्षिण कोरियाको भ्रमण गरेकी छन्। 

भ्रमणको तयारीमा छन् यी मन्त्री

राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन फ्रान्स जाने कार्यक्रम मन्त्रिपरिषद्ले स्विकृत गरेको थियो तर भूकम्पनले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो विदेश भ्रमण स्थगित गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड आगामी मंसिर महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने तयारीमा रहेको चर्चा छ।  

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई मंसिर १९ र २० गते घानाको आक्रामा संयुक्त राष्ट्रसंघले आयोजना गर्ने ‘यूएन पिसकिपिङ मिनिस्टिरियल’मा सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ।  

कात्तिक २९ देखि मंसिर १ सम्म थाइल्यान्डको बैंककमा हुने एक सम्मेलनमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत त्यसतर्फ जाँदै छन्। ​कात्तिक २१ गतेदेखि मंसिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने युनेस्कोको ४२औँ महासभामा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई पनि त्यसतर्फ जाँदै छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.