|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताललाई बदनाम गर्ने काम अस्पताल भित्रकै केही बिचौलियाले गरिरहेको बताएका छन्।

शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालकै तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र त्यतिले नपुगे मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पताल भित्रैकै बिचौलिया भएको दाबी गरे।

मन्त्री बस्नेतले भने ‘केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन् । उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजक रहनु पर्छ।’ 

देशको जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरी कै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दावी गर्दै वीर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा  मन्त्री बस्नेतले जोड दिए। 

वीर अस्पतालमा मेहनतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरि तलब खाने बिचौलिया बिचको विभेद छुट्याएर नेतृत्वले काम अनुसार अवसर प्रदान गर्नु पर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताए।

केही समयदेखि वीर अस्पतालमा सुधार देखिएको बताउँदै मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड नि:शुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआईपी, भिभिआईपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेको जस्ता सुधारका काम गरेको दावी गर्दै केही बिचौलियालाई राम्रो काम गरेको देखि सहन नसकेर वीरको बदनाम गर्दै हिँड्ने गरेको बताए ।

वीर अस्पताल सधैं सफा सुग्घर हुनु पर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सरसफाईका क्षेत्रमा पनि वीरले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले तिहारको बेला अरू ठाउँहरू सफा सुग्घर र झिलिमिली बनाएजस्तै वीर अस्पतालमा पनि सफा सुग्घर र झिलिमिली पार्न सरसफाइ अभियानको सुरु गरिएको र यो कार्य निरन्तर जारी रहने बताए।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आठ समूह बनाएर वीर अस्तताल सरसफाइ अभियान सुरु गरेको बताए। 

सफाइ अभियानमा न्याम्समा पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, कर्मचारी सरसफाइ अभियानमा सहभागी भएका थिए । मन्त्री बस्नेतले सरसफाइमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई कुचो, मास्क, पन्जा सहितका सामग्री हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.