|

काठमाडौं : हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि सुरू भएको छ। २५ गते कागतिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाईतिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ।

उज्यालो पर्वको नामा चिनिने तिहारमा घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइन्छ। यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन्। कालजयी ती गीतहरु अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन्।

नेपाली चलचित्रमा तिहारको प्रसङ्ग राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन्। चलचित्र ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीत सुनेपछि तिहार आएको आभास हुन्छ। यो गीत वर्षेनी तिहार नजिकिँदै गर्दा शहरदेखि गाउँसम्म नै गुञ्जयमान बन्छ।

२५ वर्षदेखि यो गीत आम सर्वसाधारणहरुको रोजाइमा परिरहेको छ। अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ल प्रस्तुत भएको गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्।

यादव खरेलले रचना गरेको गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन्। यस्तैगरी ‘दियो बाली साँझको’ गीत पनि तिहारको समयमा उत्तिकै लोकप्रिय हुँदै आएको छ। चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन्।

कुशुम गजमेरले शब्द रचना, रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेको गीतमा गायिका आशा भोस्लेले स्वर दिएकी हुन्। निर्देशक तुलसी घिमिरेले चलचित्रमा तिहारको गीत र प्रसङ्गलाई कथावस्तु अनुसार नै प्रस्तुत गरेका छन्।

अर्को,चलचित्र ‘विजय पराजय’मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’ गीत पनि उत्तिकै लोकप्रिय छ। विशेषगरी यो भाइटीकाका दिन गुञ्जिने गर्छ। पछिल्लो समय टाढिएका दाजुभाइको तस्वीर राखेर तिहार अगाडिदेखि नै सामाजिक सञ्जालमा राख्ने गर्छन् चेलीहरू।

त्यस्तै, चलचित्र ‘माइती’ मा समावेश ‘हाँसेर बोल बैनी’,भैलेनी आए आगन लगायतका गीतहरू तिहारमा देउसीभैलोसँगै स्रोताको रोजाइमा पर्ने गरेका छन्। मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’ मा समावेश गरिएको ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो। गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन्। अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायत कलाकार प्रस्तुत भएको गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्ने गरेको छ।

तिहारको अर्को विशेष गीत हो, ‘सिमल बारुलै’। अरुण उपत्यका समूहले तयार पारेको गीतमा नवीन खड्का, पुस्तका खड्का, बलराम समाल, अञ्जना गुरुङ लगायतको आवाज छ।

झिलिमिली रातमा, साथीभाइ साथमालोक–पप फ्युजनममा तयार भएको यो गीत पनि पछिल्लो समयमा निकै रुचाइएको गीत हो। अक्षता अधिकारी र नवाज अन्सारीको आवाजमा रहेको यो देउसीभैलो गीत तिहारको समयमा धेरै गुञ्जिन्छ। गीतमा ¥याप मिसाइएकाले यसमा नयाँ किसिमको स्वाद पाउन सकिन्छ। नयाँ पुस्ताको रोजाइमा यो गीत पनि परेको देखिन्छ।

प्रसङ्ग र श्रव्यदृश्यले अझै लोकप्रिय बने : पोखरेल

सङ्गीतकार अर्जुन पोखरेल नेपाली संस्कृतिलाई समेटेर बनाइएका यी गीतहरू अझैँसम्म लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको बताउँछन्।

उनी भन्छन्, ‘ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो, गीतिसङ्ग्रहको तुलनामा चलचित्रका गीत बढी प्रचार हुने गरेका छन्,त्यहीँ कारण तिहार मात्र नभइ दसैँ, होली लगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन्।’

तर,पछिल्लो समय चलचित्रमा यस्ता गीत र प्रसंग देख्न पाइदैन। यस विषयमा पोखरेल भन्छन्, ‘विषय र प्रसङ्ग मिलाउनुपर्ने, चाडपर्वमा मात्र गुञ्जिने, लागत खर्च बढी हुनेलगायत कारणले यस्ता गीत नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्छ।’

उनका अनुसार पछिल्लो समय पनि चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन्। तर, सङ्ख्या भने निकै न्यून छ। पछिल्लो समय बनेका गीतसङ्गीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेका छैनन्।

अर्का, गायक तथा सङ्गीतकार कर्णराज गिरीले पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको बताए। उनले भने, ‘नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन्छ, मेरो रोजाइमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन्, नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.