नगएको ठाँऊ, नखाएको खाना, नदेखेको मानिस, नलगाएको लुगा, नलिएको स्वाद, नगरिएको प्रेम जहिले पनि अपूर्ण जस्तो हुन्छ; कसैले यसलाई तृष्णा पनि भन्छन्। नयाँ ठाँऊ देख्ने तृष्णा वा रहर संसारको सबैभन्दा रमाइलो र निस्वार्थ तृष्णा हो। यसमा कुनै स्वार्थ, ईर्ष्या, तेरो मेरो, प्रतिस्पर्धा र कुभाव हुँदैन केबल उत्साह, नयाँपन र रोमाञ्चकता मात्र।
यसैक्रममा २०८० साल कार्तिक २७ गते गाई तिहारको दिन यो लेखक र डा.गोपाल पन्थी एक स्कुटरमा चढेर काठमाडौं उपत्यकाको उत्तरतिर लागियो।
बसुन्धाराबाट लगभग ५ किलो मिटरमा नेपालको अग्लो ग्राण्डी अस्पताल, त्यहाँबाट केहीमाथि ऐतिहासिक शहर टोखा पुगिन्छ। टोखाको गेटभित्र नेवारी पाराको साँघुरो सडक र पसलमा बेच्न राखिएका तिहार म्हपूजा लक्षित मिठाई हेर्दै माथिको मन्दिर र पोखरी पार गरेपछि हामीहरू झोर जाने लगभग ४ लेन राजमार्ग जस्तो बाटोमा प्रवेश गर्छौं।
त्यसपछि यस्तै पराकिलो बाटो हुँदै झोर झरना पुगिन्छ। यो वर्षायाममा बढी प्रचलित झरनामा हिउँदको प्रारंभमै पानी कम हुन्छ। त्यो दिन त्यस्तो भिड थिएन। १०० किलोमिटरको पहाडी यात्रामा हिँडेका पर्यटकहरू त्यहाँ अल्मिलिने कुरा पनि भएन। अगाडि बढियो।
शिवपुरी राष्ट्रिय निकुञ्ज छिचोलेर बनाइएको टोखा छहरे सडक पार गर्न लगभग १० किलोमिटर बाटो जंगल छिचोल्दै हामी गुर्जेभञ्ज्याङ पुगियो। यहाँ बाटो राम्रोसँग ढलान गरिएको छ तर उकालो छ।
गुर्जे भञ्ज्याङमा नेपाली सेनाको पोष्ट छ। त्यहाँ ठूला गाडीलाई रोकेर सोधपुछ हुन्छ तर हामीलाई कसैले रोकेन। अगाडि बढियो अब छहरेसम्म पुग्नका लागि यहाँबाट १८ किमि ओरालो झर्नुपर्ने रहेछ। त्यहाँबाट नुवाकोट जिल्लाका अद्धितीय राम्रा भिराला फाँटहरू, पहाडको माथिसम्म फैलिएका कान्ले खेतहरू पहेँलपुर धानका बालाहरू कतै काटिएका कतै एक दुई काट्न पर्खिएका गराहरू हेर्दै मानेभञ्ज्याङ पुगियो। गाडी रोक्ने चिया नास्ता खाने हिल स्टेशनबाट पनि तल झरियो।
चापाबोट कटेपछिको एउटा घुम्तीमा स्कुटरको ब्रेकले काम नगरेर बिसाउन पर्ने भयो बसेर हेरियो लिखुनदीको नागबेली बहाव र त्यहाँका फाँटहरू त्यहाँ धानकाटेर आलु लगाइएको थियो तर अलिकति माथिका गह्राहरूमा धान पाकिसकेको थिएन तर पहेँलपुर थियो जताततै।
केही छिनमा ब्रेकले काम गर्यो अनि लागियो छहरे थानसिंह र ढिकुरेतिर बाटोमा एउटा काठे पिङ र लिङ्गे पिङमा युवक युवतीहरू मज्जाले खेलीरहेका थिए। हामी पिङमा अल्मलिएनौँ; बिहान खानको ताल नमिलेकोले एउटा सानो होटलमा चिया र खाजा खाइयो। नुवाकोटको उर्वर भूमि लिखुको किनारमा रहेको विशाल फाँटमा ३ बाली स्याहर्न पाइने रहेछ, वर्षामा वर्षे धान जुन काटेर आलु लगाइयो र कतै तोरी अन्यत्र चैत्रमा फेरी ताइचुन धान। लिखुको फाँट १० रोपनी खेतहुने त मनग्गे धनी हुने रहेछ, धान धनसारको।
त्यहाँबाट तेर्सोबाटो पार गर्दै गंगटे पुगियो, अलि पर विदुर जुन नुवाकोटको सदरमुकाम हो यहाँ गल्छी रसुवागढी पुग्ने फराकिलो पासाङ ल्यामु सडक रहेको छ। विदुरबाट एउटा बाटो नुवाकोट दरबारसम्म पुग्छ जहाँ पृथ्वी नारायण शाहाका कान्छा छोरा बहादुर शाहलाई कालकोठरीमा राख्ने गरी विशेष तरिकाले बनाइएको थियो।
अहिले यो २०७२ को भूकम्पले छिया छिया भएर पुनर्निर्माणका लागि सयौँ फलामका डण्डीको टेकोमा अडिएको छ। आज हामी जानु अन्तै थियो लागियो ढुंगेबाट बेत्रावतीतिर जहाँ सन् १७९२ मा वेत्रावती सन्धि भएको थियो।
त्रिशूलीको किनारमा नेपाल तिब्बत अर्थात् चीनको बीचमा सुगौली सन्धिभन्दा पीडादायी सन्धि भएको ठाँउँलाई वेत्रावती भनिन्छ। यो सन्धिमा नेपालले धेरै कुरा गुमाएको थियो मुख्यगरी तिब्बत नेपाल सन् १७८९ मा पाएको मुद्रासम्बन्धी अधिकार गुमाएको थियो।
यद्यपि पछि विस. १९१२ को थापाथली सन्धिले वेत्रावतीमा गुमेका धेरै कुराहरू फिर्ता भएका छन्। यो इतिहासको विषय हो यसबारे योगी नरहरिनाथको किताबमा पढ्न पाइन्छ।
अब हामी बेत्रावती तरेर रसुवा जिल्लाको उत्तरगंगा गाऊँपालिकामा प्रवेश गर्यौँ। एकातिरबाट त्रिशूली र अर्कोतिरबाट बेत्रावतीको संगमस्थलबाट उकालो लाग्दा त्यो देख्न पाइन्छ जुन हामीले हाम्रो गाउँ देखेका हुन्छौँ। जस्तै खैन्यु, गिडिला र कुट्मिराका डाले घाँसहरू, उही साना गह्रामा धान, पानी नपुग्ने बारीमा कोदो, हिउँदे सिबिका झालहरू, ग्रामीण परिवेश, भर्खरै नौनी घ्यू दहीसँग जर्नेली चामलको भात खाएर घाममा सुस्ताएका युवतीहरू, तिहार बेलामा तास वा खोड खोडे खेल्न १०० देखि ४०० सम्म मागिरहेका युवकहरू यस्तै देखिन्छन् बाटोबाट।
जमिन भिरालो छ तर डरलाग्दो होइन जिल्ला छोएपछि समथर जमिन देखिएन नितान्त पहाड लहरेपौवा धारापानी हुँदै हाम्रो सवारी कालिकास्थान गाउँपालिकामा प्रवेश गर्यो। तिहारको बेला भएर पनि घमाइलो र रमाइलो दुवै छ।
प्रत्येक नयाँ चक्रले नयाँ ठाँऊ देखाएको छ। प्रत्येक घर, मानिस, धारा पानी र मानिसको आनी बानी आफ्नै जस्तो पार गर्दै हामी घुम्ती बजार पुग्यौ यहाँ बच्छलादेवी आधारभूत स्कुलका शिक्षक, शिक्षिका, विद्यार्थिको देउसी भैलो कार्यक्रम रहेछ। लगभग आधासडकमा उहाँहरू नाच्नु भएको थियो। हामी पनि रोकेर बाटोको छेऊमा साङ्लाले बाँधेर राखेका खाली ग्याँसका सिलिण्डरमा बसेस नाच हेरियो। घुम्ती सम्भवतः पहाडको ठूलै बजारमध्ये एक रहेछ।
त्यहाँबाट हामी रसुवाको सदरमुकाम जाने मूल राजमार्गमा लाग्यौँ। ३ वटा ठूलै बाटाहरू थिए एउटा जिबेबी भन्ने ठाउँमा जाने रहेछ। यो पनि एक हिलस्टेशन हो। अर्को पनि कतै जानेबाटो घुम्तीबाट छुट्दो रहेछ। यता कटुञ्जे र स्याऊबारी आइसकियो। कतै स्याउ खानपाइने हो कि भनेर मुखमा र्याल आइसकेको थियो तर एउटा रूख पनि त्यहाँ देख्न पाइएन।
अब एक नितान्त नयाँ भूगोलमा हामी प्रवेश गर्यौँ शाब्दिक नाम त राम्चे र ग्राङ बजार हो। यहाँको विशेषता के भने पहाडको बीचमा हामी छौँ तर चढाई छैन तेर्सो बाटो। राम्चे र ग्राङ बजार दुवै एकै प्रकृतिका छन्। बौद्ध धर्म मान्ने तामाङहरू बस्ती रहेका यो सडको छेउबाट तल हेर्दा नितान्त भिरालोमा ठूलो मानव बस्ती छ। सडक छेऊबाट टाउको झुकाएर नहेर्ने हो भने तलका टिनले छाएका सयौँ घर त देख्न नै सकिँदैन।
लगभग सिधा भिरालो यहाँ बस्ती रहेको छ। यसको तल खोलामा मैलुङ जलविद्युत आयोजना देख्न सकिन्छ।
यस्तो सिधा भिरालोमा बस्ती नेपालका निकै कम ठाउँमा मात्र देखिएको छ। खाली भीरहरू त जहाँ पनि छन् तर यहाँ जस्तो बस्ती बसेको हुँदैन।
ग्राङ बजार सिद्धिएपछि मूलखर्क, ठाडे र लगभग बोकाझुण्डे पुलसम्म बाटोको कालो पत्र उप्किएकोले स्कुटर यात्रीलाई ज्यादै कठिन छ। अब अगाडि बढ्न सकिदैन कि जस्तो नै गराउँछ। चिसो, चिप्ला ढुंगा र तलको भीर त्यसमा पनि बाटोछेउ भरमा मानिस गाडिएका गुम्वाको आकृति। हरेक चिजले तर्साउँछ यहाँ साथै लामटाङ राष्ट्रिय निकुञ्जबाट अविरल बग्ने झरनाको आवाज। गाडीमा जानेलाई यो समस्या नहोला तर २ पांग्रेमा निरीह छ मानिस।
यसरी अनेक आरोह अवरोह पार गर्दै हामी विष्णुगण दलको चेक पोष्टमा पुग्यौँ, लाङटाङ राष्ट्रिय निकुञ्ज र चीन नेपाल सीमा नजिक भएकोले पनि यहाँ बसलगायत २ पाङ्ग्रे, ४ पाङ्ग्रे, सबैको कडा जाँचपास हुने रहेछ। सवारी साधनको नम्बर, चालकको लाइसेन्स नम्बर आदि सबै लेखेर हामी अगाडि बढेको २ मिनटमै रसुवाको सदरमुकाम धुञ्चे बजारले हामीलाई स्वागत गर्न गेट नै बनाएको रहेछ।
प्रवेश गर्नासाथ बाटो तलमाथि पसलहरू, कपडा झुण्डाएको, भाँडाहरू बेच्न राखिएको थियो। २ मिनट जति गुड्दा बजार त बजार सकियो केही परबाट एउटा बाटो स्याँफ्रुबेँसी जाने रहेछ पारि डाँडामा ५- ६ वटा बस गइरहेका थिए आएको देखिएन। केही माथि जिल्ला प्रशासन कार्यालय, हामीले एउटा जिल्लाको सदरमुकाम पूरै सिध्याएका थियौँ।
अहिलेसम्म देखेका सदरमुकामहरू कि त समथर ठाउँमा थिए कि माथि डाँडामा त्यहाँ पनि समथर नै हुन्छ। जस्तै तमघास, तानसेन आदि। यो धुञ्चे चाहिँ पहाडको बीचोबीचमा रहेछ जहाँ समथर कतै पनि छैन भिरालो मात्र।
यहाँबाट एउटा पैदल बाटो गोसाईकुण्ड पुग्छ जहाँ पुग्न सामान्यत २ दिन लाग्ने रहेछ। अर्को बाटो रसुवा गढी चीनको नाकामा जहाँबाट सामानका कन्टेनरहरू आउँछन्।
हामी एउटा होटलमा बसेर खाजा खाइयो त्यसमा केही पनि जिल्लाको उत्पादन थिएन सबै आयातित तर बोरामा केही बन्दागोभी थिए। त्यो जिल्लामै उत्पादन हुने रहेछ मात्र २० रुपैयाँ किलो। नेपाललाई नै झलमल्ल पार्ने चिलिमे, मैलुङ जलविद्युत् आयोजना भएको, गणेश हिमाल र लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको यो जिल्ला घुम्नै पर्ने यो ठाउँ। गणेश हिमालको चिसोले सिञ्चित झरनाहरू हेर्नकै लागि यो जस्तो ठाउँ अन्यत्र कतै पाइँदैन।
भिरालोमा पनि कसरी बाँच्न सकिन्छ भनेर हेर्नु छ भने रसुवा जानुपर्छ जहाँ समथर कतै पनि देखिँदैन तर जीवन आनन्दले चलिरहेको छ। किनभने समस्या नभएको त कुनै भूमि नै छैन। आ आफ्ना समस्या आफ्ना खुसीमा बाँच्ने हो। रसुवाको भू बनावट देशको स्थायी सम्पत्ति हो जसलाई कसैले हर्न सक्ने छैन र यसको ब्रेनड्रेन हुने छैन।
हामीपछिको कुनै पुस्ताले यहाँको जडीबुटी चिन्नेछ र विश्वलाई चाहिने औषधि बनाउनेछ। ती झरनाका कञ्चन पानी बेचेरै करोडौँ कमाउनेछ। हुनसक्छ बोकाझुण्डे पुलमाथिको पहरामा हाम्रो जीवन परिवर्तन गर्ने खनिज पदार्थ भेटियोस्। यो आशाको आवाज होइन सम्भावनाको खानी हो।
रसुवा केवल विकट होइन नेपाललाई सम्पन्न बनाउने सम्भावना निकटको सम्पदा हो। हाम्रो धर्ती हाम्रा वंशजका लागि सुरक्षित मात्र गरिदिऊँ। हुनसक्छ आगामी पुस्ताले विश्व बदल्ने स्रोत यहीँबाट पत्ता लगाउन सकून्।
प्राकृतिक स्रोतबिना दुनियाँमा केही पनि बन्दैन हजारौँ बिघा खेतले दिने कमाइ खोलाको विद्युतले दिन्छ भने त्यस्तै आम्दानीको स्रोत रसुवाका भीरहरूमा देखेको छु र पक्कै देखेको छु।
यस्तै कल्पनाका साथ हामी फर्कयौँ। बाटोमा एक युवती स्कुटरमा यस्तो आत्मविश्वासका साथ बिना हेलमेट हुइँकेकी थिइन्। उनको हेराइ र कुदाइ देख्दा लाग्छ सम्भावना जहाँ पनि जति पनि हुन सक्छ।
त्यसैले रसुवाका उवडखावड बाटोमा हिँडेर आफ्नो देश दर्शन गर्नबाट नचुकौँ। अरू सबै फेरि देख्न सकिएला तर उनको आत्मविश्वास फेरि देखिने छैन किनकि हेराई एकपटक मात्र घट्ने घटना हो प्रकृति अनन्त चल्ने यथार्थ हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।