|

विराटनगर : विराटनगर बजारमा छठ पर्वको रौनक छाएको छ। छठको दिन चाहिने पूजा सामग्री किनमेल गर्ने श्रद्धालुको भीड बजारमा बढ्न थालेको छ।

नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने पर्वका लागि बजारमा सामान खरिद गर्नेहरूको अहिले घुइँचो लाग्न थालेको हो।

भक्तजनहरू विराटनगरको पुरानो गुन्द्री बजार र नयाँ गुन्द्री बजारमा छठ पूजाको सामान किनमेल गर्न आउने गरेका छन्। छठ पूजाका लागि आवश्यक सामान चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन्।

यो पर्वमा फलफूल, केरा, हल्दीको बोट, अदुवाको बोट, उखु, सुठुनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, ढाकी, नाङलो, दियो र कराही चढाइन्छ।

यसैगरी लौका, फर्सी, भान्टा, मूला, कोबी, लगायत हरियो तरकारी पनि चढाउने चलन छ। यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्त्व राख्छ।

यस्तै बाँस वा पित्तलको कोनियाँ, ढाकी, नाङ्लो किन्न बजारमा भीडभाड देखिन्छ। व्यवस्थित रूपमा छठ पूजा गर्नका लागि स्थानीय युवाले छुट्टाछुट्टै समिति बनाई व्यवस्थापन समेत गर्दै आएका छन्। पोखरी, नदी, नाला, नहर तथा जलाशयमा मनाइने यो पर्वका लागि ती ठाउँमा सरसफाइ गरी सिंगार्न थालेका छन्।

यो वर्ष छठ पर्व मंसिर ३ गते आइतवार परेको छ। सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ। परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास छ।

सूर्य उपासनाको पर्व छठ पहिले पहिले मधेशमा मात्र मनाइने गरिन्थ्यो भने हिजोआज देशभर मनाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.