पुराना राजनीतिक दलहरुका लागि दुर्गा प्रसाईं बने टाउको दुखाई

|

काठमाडौं : पछिल्लो समय मेडिकल व्यवसायी तथा नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य दुर्गा प्रसाईं एमालेको लागि मात्रै होइन पुराना भनिएका सबै दलहरुको लागि टाउको दुखाई बनेका छन्। 

राजतन्त्र फालेर गणतन्त्र ल्याउन संघर्ष गरेका पुराना दलहरुका लागि प्रसाईं टाउको दुखाई बनेका हुन्। 

पटक पटक देशको नेतृत्व गरेका पुराना दलहरुले सुशासन, महँगी नियन्त्रण र सामाजिक अराजकता जस्ता जनताका सामान्य अपेक्षा पनि सम्बोधन गर्न नसक्दा जनतामा निराशा बढिरहेको छ। जनतामा निराशा र पुराना दलप्रति आक्रोश बढिरहेको फाइदा उठाउँदै प्रसाईं वर्तमान गणतान्त्रिक व्यवस्थामाथि नै धावा बोलिरहेका छन्। 

उनले वर्तमान गणतान्त्रिक व्यवस्था फालेर राजतन्त्र ल्याउनुपर्ने भन्दै सडक संघर्ष नै गर्न लागेपछि पुराना दलहरुको टाउको दुख्न थालेको छ। उत्तेजक अभिव्यक्ति र व्यवहारका कारण विवाद र चर्चामा आइरहेका प्रसाईंले जनताको पहलमा बनेको २०७२ को संविधान र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध आफ्ना गतिविधि अघि बढाउन थालेका छन्। 

प्रसाईंको आह्वानमा आगामी मंसिर ७ गते काठमाडौंमा देशभरबाट राजसंस्था र हिन्दु धर्मका पक्षधर तथा संघीयता विरोधीहरु भेला हुँदै छन्। प्रसाईंको नेतृत्वमा ‘नेपालीहरुको मुक्तिको दिन, भ्रष्टहरुको हाहाकार‚ मंसिर ७ बिहीबार’ लेखिएको राष्ट्र, राष्ट्रियता‚ धर्म‚ संस्कृति र नागरिक बचाऊ महाअभियानको पोष्टरले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। 

एकै ठाउँमा उभिएलान् पुराना दल? 

प्रसाईंका गतिविधिविरुद्ध नेकपा एमालेको युवा संघ प्रतिकारमै उत्रिसकेको छ। युवा संघले सोही दिन माइतीघर मण्डलामा महंगीविरुद्ध भनेर गर्न लागेको आन्दोलनका कारण मंसिर ७ लाई अझ विशेष रुपमा हेरिन थालिएको छ। 

युवा संघ र दुर्गा प्रसाईं पक्षधरबीच भइरहेको वाकयुद्ध आपसी झडपमा परिणत हुने हो कि भन्ने आशंकाले सरकार र सुरक्षा निकाय सजग भएका छन्। ​प्रसाईंको पछिल्लो अभिव्यक्ति र उनले गर्न लागेको वर्तमान व्यवस्थाविरुद्वको सडक संघर्षबाट सरकार र पुराना दलहरु आत्तिएको देखिन्छ।

प्रसाईंको अभिव्यक्ति र गतिविधि देखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग नै गरेका थिए। एमालेले यसै विषयमा छलफल गर्न शनिबार विशेष बैठकसमेत बोलाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर रुपमा व्यवस्थामाथि खतरा आएको अभिव्यक्ति दिइरहेका छन्। उनले वर्तमान व्यवस्था खतरामा परेको भन्दै पुराना सबै दललाई एकै ठाउँमा उभिन आह्वान गरिरहेका छन्।  

शुक्रबार मात्रै पनि प्रधानमन्त्री प्रचण्डले अधिकार खोस्ने षडयन्त्र भइरहेको बताए। तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले वर्तमान व्यवस्था खतरामा परेको भन्दै गत कात्तिक २२ गते १२ बुँदे सहमतिका पक्षधरहरुलाई सर्वदलीय बैठकमा बोलाएका थिए। बैठकमा वर्तमान व्यवस्था ल्याउन संघर्ष गरेका दलका शीर्ष नेताहरुबीच गणतन्त्रको रक्षका लागि एकै ठाउँमा उभिने सहमतिसमेत भएको थियो। 

यही बहानामा अन्य विविध राजनीतिक मुद्दामा फरक विचारका लडाइँ लडिरहेका पुराना गणतन्त्रवादी दलहरुलाई व्यवस्थाविरोधी गतिविधि रोक्न एकै ठाउँ उभिने अवसर पनि मिलेको छ। 

पछिल्ला दिनमा प्रतिगामी शक्तिहरुले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमको प्रयोग गर्दै व्यवस्थामाथि नै प्रश्न उठाउने र जनतालाई भ्रमित पार्ने काम गर्न थालेपछि प्रमुख राजनीतिक दलहरुको सहमतिमा सरकारले जनताको सबैभन्दा बढी पहुँच भएको टिकटकमाथि प्रतिबन्धसमेत लगाएको छ।  

तर सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ भने उक्त कुरा अस्विकार गर्छन्। प्रसाईंको गतिविधिबाट सरकार र पुराना दल नआत्तिएको उनले बताए। 

नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको भन्दै गुरुङले सोही अधिकारबमोजिम प्रसाईंले शान्तिपूर्ण रुपमा चित्त नबुझेको विषयमा आन्दोलन गर्न सक्ने भए पनि अहिलेको व्यवस्था उल्टाउन नसक्ने बताए।

गुरुङले पुराना दलहरुको जतिसुकै कमजोरी भए पनि वर्तमान व्यवस्थाको विकल्प नरहेको जिकिर गरे। उनले नेपाल फेरि राजतन्त्रमा फर्किन असम्भव रहेको भन्दै देशमा अस्थिरता र अराजकता बढाए ध्रुवीकरणमा परेर युद्ध भइरहेको देशको चक्रमा नेपाल पर्नसक्ने चेतावनी दिए। 

‘जति नै कमजोरी भए पनि अहिलेको व्यवस्थाको विकल्प छैन। व्यवस्था परिवर्तनको नाममा द्वन्द्व बढ्न दिए युद्ध भइरहेको बाह्य देशले नेपाललाई सैन्य द्वन्द्वस्थल बनाउन सक्छ। नेपालमा राजतन्त्र फर्काउने नाममा असभ्य गतिविधि गर्न हुँदैन। राष्ट्रियता जोगाउन सबै दल एकै ठाउँमा उभिनै पर्छ’, उनले भने। 

सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालमा संवैधानिक राजाको प्राक्टिससमेत भइसकेको भन्दै फेरि राजा फर्काउन सम्भव नरहेको बताए। 

उनले प्रसाईं राजनीतिक व्यक्ति नभएको भन्दै व्यवसायबाट विक्षिप्त भएर गरेको सडक संघर्षको कुनै औचित्य नरहेको बताए।

‘दुर्गा प्रसाईं राजनीतिक व्यक्ति होइन। उनको कुनै योगदान छैन। जनता त्यसै उनको पछि किन लाग्छन्? व्यवसायबाट विक्षिप्त भएर ऋण तिर्न नसकेर छटपटिएका मात्रै हुन्। कसैले चाहेर व्यवस्था परिवर्तन हुदैन।’,पाण्डेले भने। 

उनले प्रसाईलाई अस्पताल बनाउन लगानी गर्न दिए पनि सञ्चालन गर्न स्वीकृति नदिएर सरकारले गल्ती गरेको बताए। पाण्डेले अहिलेको अवस्थामा १२ बुँदे सहमति पक्षधर एकै ठाउँमा उभिनुपर्ने बताए। 

उनले प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको आडमा राजतन्त्रको वकालत गरेको भए आगामी निर्वाचनमा भिड्न आउन पूर्वराजालाई चुनौती दिए। 

मुठभेडको संकेत

प्रसाईंले मंसिर ७ मा गणतन्त्रविरोधी कार्यक्रम राखेपछि एमालेनिकट युवा संघले पनि सोही दिन काठमाडौँमा कार्यक्रम राखेको छ। 

युवा संघले महँगी र भ्रष्टाचारविरुद्धको आन्दोलन भने पनि प्रसाईंविरुद्ध शक्ति प्रदर्शन गर्न लागेको राजनीतिक चर्चा छ। सो दिनको कार्यक्रमलाई व्यवसायी प्रसाईं र राष्ट्रिय युवा संघका इन्चार्जसमेत रहेका एमाले नेता महेश बस्नेतको शक्ति प्रदर्शनको रुपमा समेत हेरिएको छ। 

दुवै जना अराजक गतिविधि गर्ने चरित्रका भएकाले झडप हुने खतरासमेत बढेको छ। प्रसाईंले झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताका सवारीसाधनमा आक्रमण र तोडफोड गर्नेजस्ता अराजक गतिविधि यसअघि नै गरिसकेका छन्।  

‘हामीलाई थाहा छैन अब यो देशको राजा, प्रधानमन्त्री र मन्त्री को हुन्छ भनेर तर हामीलाई थाहा छ कि मंसिर ७ मा १६ जना तस्कर मारवाडीहरु, १० जना लुटेरा व्यापारीहरु र ३० जना भ्रष्ट नेताहरु कि भाग्छन्, कि सकिन्छन्, कि जेल जान्छन्’, प्रसाईंले समस्याको समाधान मंसिर ७ मा हुने दाबी गर्दै आफ्नो सामाजिक सञ्जालमा प्रचार गरेका छन्। उनको यो भनाइबाट पनि उक्त दिन मुठभेड हुनसक्ने जोखिम रहेको प्रष्ट देखिन्छ। 

उता बस्नेतले उक्त दिन २० हजार कार्यकर्ता सडकमा उतार्ने बताएका छन्। 

उक्त कार्यक्रमबारे आफू निकटका कार्यकर्तालाई निर्देशन दिएको एक भिडियो सामग्री सामाजिक सञ्जालमा राख्दै बस्नेतले मंसिर ७ को कार्यक्रम सहज र शान्तिपूर्ण ढङ्गले हुने भन्दै कुनै अराजकतावादी आएमा ‘अचार’ हुने चेतावनी पनि दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.